इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति

इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति

एजेन्सी : इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएका छन्।

चार दिने युद्धविराम सोमबार सकिएलगत्तै दुई दिन थप गर्ने सहमति भएको दुई समूहबीच मध्यस्तता गर्दै आएको कतारले जनाएको छ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्समार्फत यसको जानकारी गराएका हुन्।

युद्धविरामको एक पक्ष हमासले पनि थप केही सर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको बीबीसीले जनाएको छ।

चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।

इजरायलको जेलबाट रिहा हुनेहरूमा ३० बालबालिका र तीन जना महिला रहेका छन्।

सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो।

सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ।

बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि युद्ध चर्किएको हो। बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ।

मंसिर १२, २०८० मंगलबार ०७:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।