महोत्तरीमा रास्वपाको बैठक, यौन दुर्व्यवहारको आरोप लागेका नेताबारे कसैले बोल्ला ?

महोत्तरीमा रास्वपाको बैठक, यौन दुर्व्यवहारको आरोप लागेका नेताबारे कसैले बोल्ला ?

महोत्तरी : राष्ट्रिय स्वतन्त्र पार्टीले महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखेको छ। सोमबारबाट बैठक सुरु भएको हो।

यो बैठकलाई पार्टी स्थापनापछिको सबैभन्दा बृहत् बैठक भएको रास्वपाका नेताहरू बताउँछन्। सोमबारबाट सुरु भएको बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिबारे जानकारी गराएका थिए।

बैठकमा प्रदेश सभापतिहरूले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। पछिल्लो समय रास्वपाका एकपछि अर्को नेता गम्भीर घटनामा जोडिए पनि पार्टीले उनीहरूमाथि कारबाही गरेको छैन। पार्टीका केन्द्रीय सदस्यहरू नै आफ्नै पार्टीका नेतृलाई यौन दुर्व्यवहार गरेको र आफ्नै सांसदसँग पैसा मागेको आरोपमा परेका छन्। तर पार्टीले त्यस्ता नेताविरुद्ध छानबिन र कारबाहीभन्दा घटना गुपचुप राख्न केन्द्रित छ।

जानकारस्रोतका अनुसार बागमती प्रदेशमा पार्टीका केन्द्रीय सदस्य दीपक बोहराविरुद्ध यौन दुर्व्यवहार गरेको भन्दै बागमती प्रदेशकै एक नेतृले उजुरी दिए पनि कुनै कारबाही भएको छैन।

स्रोतका अनुसार प्रदेशमा परेको उजुरी प्रदेश प्रमुख अच्युतम लामिछानेले उजुरी प्रक्रियालाई अगाडि बढाएका छैनन्। यौन दुर्व्यवहारको आरोप लागेका बोहोरा पार्टीको केन्द्रीय सदस्य हुन्। उनी पार्टी खुल्नु अगाडि देखि नै पार्टी सभापति रवि लामिछाने निकट छन्।

न्युज२४ देखि ग्यालेक्सीसम्म पनि उनी रविसँगै थिए। पार्टी खोलेपछि उनी पनि राजनीतिमा आए। रवि गृहमन्त्रीहुँदा उनी मुख्य स्वकीय सचिव बनेका थिए।

उता मोहन थापाविरुद्ध मन्त्री बनाउने भन्दै आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेपछि पार्टीले छानबिन गर्ने भनिए पनि छानबिनमा के आयो सार्वजनिक भएको छैन।

सोमबारबाट सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभाग प्रमुख डा. भरतमणि देवकोटाले पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेस गर्ने, आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्ने कार्यसूची रहेको एक नेताले बताए। सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

कार्यसूचीमा मङ्गलवार बिहान केन्द्रीय समिति र संसदीय दलको अलग-अलग बैठक बस्ने र बिहान ११ बजे संयुक्त बैठक बस्ने उल्लेख छ।

पार्टी सभापति रवि लामिछानेले मङ्गलवार राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे प्रतिवेदन पेस गर्ने कार्य तालिका रहेको छ।

मंसिर ११, २०८० सोमबार १७:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।