चौराहा-गोलपार्क सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह

चौराहा-गोलपार्क सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह

बुटवल : बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाइन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ।

चौराहादेखि गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता महसुर गरी उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाइनमा हेरफेर गर्न आग्रह गरेको हो।

बुटवल उपमहानगरपालिकामा बसेको सरोकारवाला सहितको बैठकले बुटवलको व्यस्त बजार र बस्तीको क्षेत्रको सडकको सर्भिस लेनलाई हरियालीमात्र नगरी साना सवारी पार्किङ, साना व्यवसाय, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निणर्य गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निणर्य गरिएको हो।

उनले चौराहादेखि गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण शुरु हुनुअघि नै डिजाइनमा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनका लागि आग्रह गर्ने निणर्य गरेको बताए।

‘सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालय पनि राख्ने ठाउँ छैन,’ उनले भने, ‘त्यसैले यो क्षेत्रको सर्भिस लेनमा यी सबै कुराहरुलाई समेत गाभेर यहाँको आवश्यकताअनुसारको बनाउनुपर्छ भन्ने हाम्रो आग्रह हो।’

उनले सर्भिस लेनको बीचबीचमा साना साना गाडी पार्किङको क्षेत्र, साना साना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको बताए।

सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको माग अनुसार सडक विभागमा अनुरोध गर्ने बताए।

११ मंसिर, २०८०, ०९:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।