रुसी राष्ट्रपतिको प्रशंसा गर्दै हमासले छाड्यो एक रुसी नागरिकसहित १७ बन्दी

रुसी राष्ट्रपतिको प्रशंसा गर्दै हमासले छाड्यो एक रुसी नागरिकसहित १७ बन्दी

एजेन्सी : प्यालेस्टाइनी चरमपन्थी समूह हमासले आइतबार १३ इजरायलीसहित १७ बन्धकलाई रिहा गरेको छ।

उसले १३ इजरायली, तीन थाई र एक रुसी बन्धकलाई रेडक्रसलाई सुम्पिएको विज्ञप्तिमार्फत जनाएको हो। तेस्रो चरणको रिहाइमा पनि नेपालका विपिन जोशी भने परेनन्।

यद्यपि इजरायलले भने आफ्ना १४ नागरिक र तीन विदेशी नागरिकलाई हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ।

रुसी नागरिकसँग पनि इजरायलको नागरिकता भएकाले बन्धकमध्ये एकको राष्ट्रियताबारे अन्योल उत्पन्न भएको बताइएको छ।

रुसका राष्ट्रपति पुटिनले प्यालेस्टइनी नागरिक र इस्लामिक प्रतिरोधको आन्दोलनलाई साथ दिएका कारण एक रुसी बन्धकलाई रिहा गरेको हमासको  विज्ञप्तिमा उल्लेख छ।

हमासको आधिकारिक वेबसाइटमा जारी एक विज्ञप्तिमा भनिएको छ- ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रयासको प्रतिक्रिया र प्यालेस्टिनी चिन्ताको समर्थनमा रसियाको अडानको प्रशंसा गर्दै, इस्लामिक प्रतिरोध आन्दोलन हमासले एक बन्दी रूसी नागरिकलाई रिहा गरेको छ।’

यसैगरी तेस्रो चरणमा इजरायलले पनि ३९ प्यालेस्टाइनी बन्धकलाई रिहा गरेको छ। हमासले १७ बन्धक रिहा गरेसँगै इजरायलले पनि प्यालेस्टाइनका ३९ बन्धकलाई रिहा गरेको हो।

मंसिर ११, २०८० सोमबार ०७:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।