दाँतमा विश्व रेकर्ड बनाएकी कल्पना

दाँतमा विश्व रेकर्ड बनाएकी कल्पना

एजेन्सी : हामीमध्ये अधिकांशको मुखमा ३२ वटा दाँत हुन्छन्। २८ वटा दाँत वयस्क भएर आउँछन् र बाँकी चारवटा समयसँगै आउँछन् जसलाई बुद्धि बंगारा पनि भनिन्छ।

तर, कसैका दाँत ३२ भन्दा बढी छन् भन्दा विश्वास गर्नुहुन्छ? गिनिज वर्ल्ड रेकर्डका अनुसार कल्पना बालन नामकी २६ वर्षीया भारतीय महिलाको सामान्य मानिसभन्दा ६ वटा बढी अर्थात ३८ वटा दाँत छ।

कल्पनाको तल्लो बङ्गारामा चार अतिरिक्त दाँत र माथिल्लो बङ्गारामा दुई अतिरिक्त दाँत छन्, जसले गर्दा उनको दाँतको संख्या ३८ पुगेको छ।

कल्पनाले किशोरावस्थामा अतिरिक्त दाँतको बारेमा थाहा पाएकी थिइन्। समयसँगै यी क्रमशः बढ्दै गए। जसका कारण उनलाई कुनै प्रकारको पीडा भएन तर खानपानमा समस्या हुन थाल्यो।

खाना चपाउँदा प्रायः दाँतमा अड्किन्छ, जसका कारण मुखको स्वच्छताको समस्या बढ्न थाल्छ। त्यसैले परिवारका सदस्यहरू यी अतिरिक्त दाँतहरू हटाउन डाक्टरकहाँ गएका थिए।

दाँत जाँचको क्रममा, कल्पनाको दन्त चिकित्सकले दाँत सजिलैसँग हटाउन नसकिने भएकाले उनलाई दाँत ठूलो नहुँदासम्म पर्खन सुझाव दिए।

तर ठूलो भएपछि कल्पनाको मनस्थिति बदलियो। उनले यी दाँत ननिकाल्ने निर्णयमा पुगिन् र अहिले गिनिज वुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइन्।

कल्पना भन्छिन्, ‘मलाई दाँत निकाल्न डर लागेको थियो। यी दाँतका कारण खासै समस्या नभएकाले पनि म ननिकाल्ने मनस्थितिमा पुगेको हुँ। दाँतकै कारण मेरो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएको छ। यो मेरो जीवनभरको उपलब्धि हो।’

यस्तै, पुरुषमा सबैभन्दा धेरै दाँत हुने रेकर्ड क्यानडाको इभानो मालोनको नाममा छ, उनका कुल ४१ दाँत छ। अतिरिक्त दाँतको उपस्थितिको लागि मेडिकल शब्द हाइपरडोन्टिया वा पोलिडोन्टिया हो। विश्वको ३.८ प्रतिशत जनसंख्या यसरी अतिरिक्त दाँतको साथ बाँचिरहेका छन्।

मंसिर १०, २०८० आइतबार ०९:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।