तीनकुनेमा राज्य आतङ्क, पैदल यात्रुको मोबाइल जाँच्दै प्रहरी

तीनकुनेमा राज्य आतङ्क, पैदल यात्रुको मोबाइल जाँच्दै प्रहरी

काठमाडौँ : दुर्गा प्रसाईँको समर्थकको आशङ्कामा तीनकुनेमा प्रहरीले पैदल यात्रुमाथि आतङ्क मच्चाइएको छ। प्रसाईँको घोषणा अनुसार प्रदर्शनमा सहभागी हुने आशङ्कामा नियन्त्रणका लागि खटिएको सुरक्षाकर्मीले शंकाकै भरमा धरपकड गर्ने त छँदैछ उनीहरूको मोबाइल समेत जाँच गरिरहेका दृश्य देखियो।

शंकाकै आधारमा नागरिकको मोबाइल सुरक्षाकर्मीले परीक्षण गर्नु नागरिकको वैयक्तिक स्वतन्त्रतामाथिको हस्तक्षेप हो। राज्यले शुक्रवार प्रसाईँको बहानामा तीनकुनेमा हिँडिरहेका नागरिकको स्वतन्त्रता पूर्वक हिँडडुल गर्ने अधिकारसँगै वैयक्तिक अधिकारमाथि समेत हस्तक्षेप गरेर दृश्यहरू देखिए।

स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शनमा रोक लगाए पनि प्रसाईँ समूहले तीनकुनेमै प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई स्थानहद लगाउँदै भक्तपुरको घरबाट बाहिर निस्कन दिएको छैन। केही समर्थक प्रसाईँको निवास अगाडिको सडकमा प्रदर्शन गरिरहेका छन्।

तीनकुनेमा भने प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरीले प्रदर्शन गर्न आएको शंकाकै भरमा ३० भन्दा बढिलाई नियन्त्रणमा लिइसकेको छ।

८ मंसिर, २०८०, १६:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।