फ्लप फिल्मको तनाव र कानुनी झमेलापछि बल्ल अभिनयमा फर्किए अनमोल

फ्लप फिल्मको तनाव र कानुनी झमेलापछि बल्ल अभिनयमा फर्किए अनमोल

काठमाडौँ : छड्के-२ सुपर फ्लप भएपछि अभिनयमा फर्कन डराएका अभिनेता अनमोल केसीले 'फर्की फर्की' मा अभिनय गर्ने पक्का भएको छ। उनी यो फिल्ममा पहिल्यै अनुबन्ध भएका थिए। तर उनी सुटिङमा जान राजी नहुँदा फिल्म फ्लोरमा जान सकेको थिएन।

बिचमा निर्देशक सुदर्शन थापासँग कानुनी विवादमा परेका अनमोललाई त्यो विवादबाट बाहिर ल्याउन फर्की फर्कीका निर्मातामध्येका एक रोहित अधिकारीले सघाएपछि उनी गुन तिर्न फर्की फर्कीलाई फ्लोरमा लैजान राजी भएका थिए।

फिल्म मंसिर ११ बाट फ्लोरमा जाने पक्का भएको छ। अनमोलले अब मन नबदल्ने पक्का भएपछि निर्माण टिमले शुक्रवार फिल्मको शुभ साइत समेत गर्यो।

शुभ साइत समारोहमा सहभागी अभिनेता अनमोलले दर्शकले लभ स्टोरी फिल्ममा नयाँ स्वाद पाउने र यो फिल्म आफ्नो करिअरको नयाँ यात्रा हुने बताएका थिए।

फिल्ममा अनमोलसँगै नायिका जसिता गुरुङ समेत अनुबन्ध भइसकेकी छिन्। जसिता अनमोलको जोड बनेकी  छिन्। फिल्म आउँदो वर्षको जेठ ११ गते रिलिज गर्ने घोषणा भइसकेको छ। फिल्ममा रोहितसँगै ओम अग्रवालले समेत लगानी गर्दैछन्।  फिल्म सुयोग गुरुङले निर्देशन गर्दैछन्।

मनोज वली र रामु न्यौपाने सह–निर्माताको रूपमा रहेको फिल्मको कार्यकारी निर्माता अनीरुद्र गिरी हुन्।

फिल्मका अन्य कलाकारहरूमा कृष्ण मल्ल, निर्मल शर्मा, बिन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ लगायतका छन्।

कथा तथा पटकथा सुयोग गुरुङकै हो। शुक्रवार आयोजित फिल्मको शुभ साइत कार्यक्रममा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरूले पूजा गरेका थिए।

मंसिर ८, २०८० शुक्रबार १३:२४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।