दुर्गा प्रसाईँको प्रदर्शनमा पूर्व सैनिक र प्रहरी, नेतृत्वहिन प्रदर्शनकारी, मास हाइज्याकको जोखिम

दुर्गा प्रसाईँको प्रदर्शनमा पूर्व सैनिक र प्रहरी, नेतृत्वहिन प्रदर्शनकारी, मास हाइज्याकको जोखिम

काठमाडौँ : मागका आधारमा दुर्गा प्रसाईँ समूहले आयोजना गरेको प्रदर्शनमा ऋण मिनाहाको आश भएका अनि केही राजावादी जोडिने सुरक्षा संयन्त्रको आङ्कलन थियो बुधवार बेलुकासम्म। यसमा थपिने रमितेहरू।

प्रदर्शनमा नेतृत्वको अभाव हुँदा भिडलाई अन्य शक्तिले आफू अनुकूल भड्काउन सक्ने जोखिमको आङ्कलन थियो। त्यही अनुसार तयारी पनि गर्यो सुरक्षा संयन्त्रले।

बिहीबार युवा संघ नेपालले समेत विरोध प्रदर्शनको कार्यक्रम राखेको भए पनि सुरक्षाको दृष्टिले प्रसाईँ समूह बढी संवेदनशील देखिएका थिए। त्यसैले सुरक्षा संयन्त्रको ध्यान पनि प्रसाईँतिर बढी केन्द्रित थियो।

प्रदर्शनको प्रकृतिबारे उनीहरूले जे आङ्कलन गरेर तयारी गरेका थिए त्यही भयो बल्खुमा। स्थानीय प्रशासनले तोकेको स्थानमा बसेर प्रदर्शन गर्नेहरू पनि थिए। तर केही समूह भने प्रहरीको घेराबन्दी तोडेर कालीमाटी त्रिपुरेश्वरहुँदै सिंहदरबार जाने रणनीतिमा देखियो।

उनीहरूले प्रयास नगरेको पनि हैन। तर पहिल्यै सुरक्षा निकाय सजग भएर वाटर क्याननदेखि लिएर बलियो ब्यारिकेटसहित उपस्थितहुँदा उनीहरू सफल भएनन्।

प्रदर्शनस्थलको घेरा तोडेर सिंहदरबार जाने प्रयास हुनसक्ने भन्दै पहिल्यै कसैले त्यस्तो प्रयास गरेमा नियन्त्रणका लागि बलियो हस्तक्षेप गर्ने निर्देशन भएकाले प्रहरीले दनादन एक सय ५० सेल बढी अश्रुग्याँस हानेको थियो। केही समय ढुङ्गा हानाहान भयो पनि। तर प्रदर्शनकारीहरू आफैँमा विभाजित हुँदा प्रहरीको सुरक्षा घेरा तोडेर सिंहदरबारसम्म पुग्न सकेनन्।

त्यसमा प्रसाईँ अधिकांश समय गाडीभित्रै बसिरहे। केही समय गाडिबाट बाहिर निस्किएर आफ्नै शैलीमा भाषण गरे अनि हिँडिहाले। प्रसाईँ प्रदर्शन स्थलबाट हिँडे पनि केही प्रदर्शनकारी त्यही बसे। प्रहरीसँग भिड्ने प्रयास गरे। तर जति प्रयास गरे पनि सम्भव नभएपछि उनीहरू बिस्तारै तितरबितर भए।

तर प्रदर्शनस्थलका जुन खालका प्रदर्शनकारी देखिए त्यसले सुरक्षा संयन्त्र झस्किएको छ। उनीहरूले जसरी ऋण मिनाहाको आश अनि केही राजवादीसँगै केही रमिते प्रदर्शनमा सहभागी हुने अनुमान गरेका थिए त्यो भन्दा भिन्न र खतरा बढाउन सक्ने प्रदर्शनकारीहरू देखिए प्रसाईँको प्रदर्शनमा।

सुरक्षा निकायबाट अवकाश पाएकाहरूको बाक्लो उपस्थितिलाई सुरक्षा संयन्त्रले गम्भीर रूपमा लिएको देखियो।

'सुरक्षा निकायमा माथिल्लै तहसम्म काम गरेर अवकाश पाएकाहरू रमिते नभई प्रदर्शनमा सक्रिय सहभागी भएको देखियो,' एक सुरक्षा अधिकारीले भने' जुन रूपमा सेनाका अवकाशप्राप्त तीन तारे तहकाहरु पनि प्रदर्शनमा सक्रिय सहभागी भएको देखियो त्यसले प्रदर्शनलाई जसरी हेरियो त्यति मात्र हैन भन्ने देखायो।'

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र प्रसाईँको प्रदर्शनलाई लिएर एकमत नभए पनि प्रदर्शनस्थलमा नेता नै उपस्थित नहुने अनुमान पनि फेल खायो। दोस्रो तहका राप्रपाका नेताहरू बाक्लै देखिए प्रदर्शनमा। त्यो भन्दा भिन्न भयो जब राप्रपाका सांसद ज्ञानेन्द्र शाही प्रदर्शनमा सहभागी मात्रै भएनन् भाषणै गरे। प्रदर्शनमा राप्रपाका नेताहरू बाक्लै सहभागी भएको देखियो।

अश्रृग्याँस प्रहारपछिको बाहिरी सेल जम्मा पारेर लैजादै एक बालक।प्रसाईँले संवैधानिक राजतन्त्रलाई समेत अजेण्डा बनाएकाले राजतन्त्रको पक्षधरहरू सहभागी हुनसक्ने सुरक्षा संयन्त्रको अनुमान थियो। उनीहरू सहभागी भए पनि एकीकृत रूपमा प्रदर्शनमा उपस्थित हुने उनीहरूको अनुमान थियो।

तर बल्खुमा फरक दृश्य देखियो। प्रसाईँ समूह र कट्टर राजावादीका रूपमा चिनिएकाहरू एकीकृत नभई छुट्टाछुट्टै रूपमा प्रदर्शनमा उत्रिए। प्रदर्शनमा बिस्तारै उनीहरू नै हावीहुँदै आए।

युवा संघको कार्यक्रममा सहभागी हुन मोटरसाइकलमा हिँडेकाहरूमाथि आक्रमण गर्ने, प्रहरीको ब्यारिकेट भत्काएर कालीमाटी, त्रिपुरेश्वर, माइतीघरहुँदै सिंहदरबार जाने रणनीति दुर्गा प्रसाईँ समूहको थिएन दरवारियाहरुको थियो।

प्रहरीसँग भिड्ने उनीहरू नै थिए। प्रदर्शनकारीहरूलाई उग्र बनाएर रिङरोडभित्र छिराउन उनीहरूले बारम्बार प्रयास गरे।

पशुपति खड्का, विक्रम पाण्डे, सन्तोष राजावादी लगायतले प्रहरीसँग मुठभेडको वातावरण बनाउन बारम्बार प्रयास गरेका थिए। यी पछिल्लो समय राजतन्त्रको पक्षमा सक्रिय देखिएकाहरू हुन्।  

प्रदर्शनकारीहरूको सङ्ख्या पनि आङ्कलनभन्दा धेरै देखियो। काठमाडौँ बाहिरबाट आएकाहरू र केही उग्र राजावादीहरूको सक्रियताका आधारमा प्रदर्शनकारीको सङ्ख्या सातदेखि १० हजारसम्म हुनसक्ने आङ्कलन थियो।

सुरक्षा निकायले बिहीबार बेलुका आँकडा सार्वजनिक गर्दा त्यही ९ देखि १० हजारकै हाराहारीको सङ्ख्या बताउँछ प्रसाईँको प्रदर्शनमा सहभागीबारे।

'भन्न त ९ हजार हाराहारी भन्ने निर्देशन छ। तर छरिएर रहेकाहरू जोड्दा १५ हजार हाराहारीका प्रदर्शनकारी थिए' एक उच्च सुरक्षा अधिकारीले उकेरासँग भने।

प्रसाईँ समूहले प्रदर्शनलाई शुक्रवार पनि निरन्तरता दिने बताएको छ। प्रदर्शनस्थलमा केन्द्रीकृत नेतृत्व देखिएन। प्रदर्शनमा दुर्गा प्रसाईँको सम्बोधन प्रभावकारी थिएन। प्रदर्शनकारीविचै एकता देखिएन। यसले प्रदर्शन कमजोर हुनसक्ने सम्भावना एकातिर देखिएको छ भने अर्कोतर्फ प्रसाईँका आडमा जम्मा भएको प्रदर्शनकारीलाई अर्कै शक्तिले दुरुपयोग गरी अराजकता मच्चाउने जोखिम पनि उत्तिकै देखिएको छ।

राजवादीहरूको दोहोरो भूमिका

'भिडलाई निर्देशन गर्ने केन्द्रीकृत नेतृत्व देखिएन। व्यक्तिपिच्छे प्रदर्शनकारीलाई कहिले कता लैजाने त कहिले कता लैजाने प्रयास भएको देखियो' एक सुरक्षा अधिकारीले भने' यसले एक उद्देश्यले जम्मा भएको प्रदर्शनकारीलाई अर्कै शक्तिले आफ्नो स्वार्थमा दुरुपयोग गर्न सक्ने जोखिम पनि देखियो।'

प्रदर्शनकारीको दुरुपयोग गर्न सक्ने समूह कट्टर राजावादी रहेको उनीहरुको निष्कर्श छ। बिहीबारको दृश्यले पनि त्यही देखाउँछ। दिनभर बल्खुका प्रदर्शनकारी नेतृत्वहिन थिए। प्रसाईँ समूहका सदस्यहरुले प्रदर्शनकारीहरुलाई आफ्नो निर्देशन अनुसार परिचालन गर्न सकेका थिएनन्।

अनि प्रसाईँले प्रदर्शनपछि गरेको पत्रकार सम्मेलनमा उनी एकाएक ज्ञानेन्द्र शाहविरुद्ध अराजक बनेको दृश्यले पनि बिहीबार उनीहरूले गरेको व्यवहारबाट उनी खुसी नभएको देखायो।

बिहीबारको पत्रकार सम्मेलनमा उनले राजालाई के गर्ने, रानीलाई के गर्ने त्यो पछि विचार गरौँला भनेर अहिलेको मुद्दा ऋण मिनाहा मात्र भएको बताए।

प्रसाईँका अनुसार उनले ज्ञानेन्द्र शाहलाई कि आफैँ आउन, नआए चिर्कटोमा भए पनि सन्देश दिन भनेको भन्दै त्यति पनि नगरे जनताले डरपोक रहेछ भनेर बुझ्ने बताएका थिए।

प्रसाईँले शुक्रवार तीनकुनेमा भेला भएर मास जता जान्छ त्यतै जाने घोषणा गर्दै अब निषेधाज्ञा नमान्ने बताएकाले आगामी दिनको उनको प्रदर्शन थप उग्र बन्न सक्ने जोखिम देखिन्छ।

७ मंसिर, २०८०, २२:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।