कस्ता फिल्म/संवाद र दृश्य रिलिज नगर्ने भन्दै बालेनले सेन्सर बोर्डमा पठाए पत्र

कस्ता फिल्म/संवाद र दृश्य रिलिज नगर्ने भन्दै बालेनले सेन्सर बोर्डमा पठाए पत्र

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्रबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्न चार बुँदा उल्लेख गर्दै सेन्सर बोर्डमा पत्र पठाएका छन्। उनले सेन्सर बोर्डलाई कस्ता फिल्म रिलिज नगर्ने भन्दै चार बुँदे मापदण्ड समेत उल्लेख गरेका छन्।

पत्रमा उनले नेपालको मौलिकता, धर्म र संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन अनुरोध गरेका छन्।

त्यस्तै पञ्चशीलताको आधारमा सिद्धान्त/ शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन भनेका छन्।

यसैगरि कुनै धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउन र कुनै पनि जातजाति, वर्ण,समुदाय,लिङ्ग तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका  व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउन समेत उनले आग्रह गरेका छन्।

उनले चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको र चलचित्र निर्माण र प्रदर्शनमा महानगरको सकारात्मक साथ रहने भन्दै यदि माथि उल्लेख गरिएका विषय समेटिएको चलचित्र प्रदर्शनमा आएमा कानुन बमोजिम कदम चाल्ने चेतावनी समेत दिएका छन्।

यस अगाडि मेयर बालेनले नेपालविरुद्धको संवाद रहेको भन्दै भारतीय फिल्म आदीपुरुषमा हुँदै नभएको संवाद भएको भन्दै उनले महानगर क्षेत्रमा हिन्दी फिल्म लगाउन नदिने घोषणा गरेका थिए। तर उनको घोषणा कार्यान्वयनमा आएन। कुन फिल्म चल्न दिने अनि कुन फिल्म चल्न नदिने कार्यक्षेत्र स्थानीय तहमा पर्दैन। तर बालेनले फिल्म प्रदर्शनमा समेत हस्तक्षेप गर्दै आएका छन्।

६ मंसिर, २०८०, १५:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।