‘नमूना सडक’मा देखिएको विकासको नमूना : सात वर्षसम्म आठ किलोमिटर सडक अधूरै

‘नमूना सडक’मा देखिएको विकासको नमूना : सात वर्षसम्म आठ किलोमिटर सडक अधूरै

बुटवल : नेपालकै नमूना सडकका रूपमा परिकल्पना गरिएको बेलबास-बेथरी नमूना सडक निर्माण सुरू भएको सात वर्ष बितिसक्दा पनि अझै अधूरै छ।

अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको बुद्धजन्मस्थल लुम्बिनी पुग्न पूर्व-पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरिएको सडकको दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भए पनि उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन।

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २२ किलोमिटर सडक तीन प्याकेजमा गरी ०७३ सालमा कुल १ अर्ब ६७ करोडको लागतमा ठेक्का लागेको थियो।

२०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल-बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिए पनि अझैसम्म काम सम्पन्न गर्न सकेको छैन।

यो सडक खण्डको साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन। त्यसका लागि पटक-पटक पत्राचार गरिएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरी बताउँछन्।

बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुवैतिर दुई-दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यानको परिकल्पना गरेरे सडक ठेक्कामा लगाइएको थियो।

२०७३ असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसँग ठेक्का सम्झौता भएपछि सुरू भएको यो आयोजना ३ वटा प्याकेजमा ठेक्का लगाइएको थियो।

जसमध्ये रमण जेजेसिसिएल जेभीले काम सम्पन्न गरिसकेको छ। ६८ करोड ३६ लाख १२ हजार २९४ रुपैयाँमा सम्झौता उक्त कम्पनीले काम सुरू गरेको थियो।

त्यस्तै दक्षिणतर्फको एउटा साढे ८ किलोमिटर र अर्को ४ किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले ३७ करोड ८२ लाख ७० हजार ३४४ सम्झौतामा काम गरेको थियो। यो कम्पनीले अघिल्लो वर्ष नै काम सकिसकेको हो।

सुरूमै सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीले ६० करोड ८८ लाख ६१ हजार ४ सय ८४ रुपैयाँमा ठेक्का पाएको थियो। तर पाँच पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।

सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरी, निर्माण कम्पनीले कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि त कहिले आर्थिक समस्या देखाएर काम टार्दै आएको बताउँछन्।

सडक अधिकार क्षेत्रभित्र परेका निजी घर तथा जग्गा जमिनको मुआब्जा माग गर्दै काममा अवरोध गर्नाले तथा संघ सरकारबाट प्रदेश सरकारलाई ठेक्का हस्तान्तरण र साइट क्लियरेन्समा समस्या हुँदा समयमै सडक सम्पन्न हुन नसकेको गिरीको भनाइ छ।

सडक छेउ रहेका सिंचाइ कुलो विस्थापन भएपछि स्थानीयले विकल्प माग गरेपछि काममा अवरोध हुँदा निर्माणमा विलम्ब भएको गिरीको तर्क छ।

प्रदेश सरकारले अगाडि बढाएको बेथरी-गुरवनिया-तुनिहवा-मझगावा-सेमरा-खैराघाट सडक र बेलबास-बेथरी सडक आयोजना सम्पन्न भएपछि रुपन्देही जिल्लाको पिछडिएको मर्चवार क्षेत्र नजिकको हुलाकी राजमार्ग र महेन्द्र राजमार्गसँग छोटो दुरीमा जोडिनेछ।

बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा-लुम्बिनी सडकको बेथरीसम्म २२ किलोमिटर लामो यो सडकको बीचमा नहर छ।

नहरको दुवैतिर हरियाली बनाउन ग्रिनेरी बेल्ट छ। त्यसको बाहिर सात/सात मिटर फराकिला सडक, त्यसबाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फूटपाथ समेत बन्ने र नहरको दुवै साइडको भित्तामा फूल र दुवो रोपेर हरियाली बनाइने परिकल्पना थियो।

दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गीन बत्तीले यो सडकलाई आकर्षक बनाउने र नहरमा पानीको मात्रा बढाएर लामो दूरीको ¥याफ्टिङ वा बोटिङसमेत गर्न सकिने व्यवस्था मिलाइनेसमेत योजना थियो।

२ मंसिर, २०८०, ०८:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।