छठ सुरू, आज पहिलो दिन ‘नहाय खाए’

छठ सुरू, आज पहिलो दिन ‘नहाय खाए’
फाइल तस्बिर

काठमाडौं : सूर्यको उपासना गरी मनाइने छठपर्वको आजदेखि विधिवत सुरूवात भएको छ।

चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरू भएको छ। ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन्।

चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ। श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन्।

खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन्।

खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन्। त्यसलाई नै खरना भनिन्छ।

तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो। उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिन्छ। चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।

आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ।

१ मंसिर, २०८०, ०८:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।