यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ। कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ।

श्रीमद्भागवत गीतामा उल्लेख प्रसङ्ग
भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ।

भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ। आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तु गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ ।

गोवर्द्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसका साथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो। श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन्। आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो।

हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलाई जुवा भनिन्छ। आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ।

प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए। यी नै गोरुहरू अनि बहर कालागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई बताउँछन्।

गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

बली, हलि एवं गोरुपूजा
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ।

यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ।

२८ कात्तिक, २०८०, ०७:२१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।