मुगु सामूहिक हत्या : कतारमा राम्रो कम्पनीमा जागिर नलगाएको रिसमा नेपालमा परिवारकै सखाप !

मुगु सामूहिक हत्या : कतारमा राम्रो कम्पनीमा जागिर नलगाएको रिसमा नेपालमा परिवारकै सखाप !

सुर्खेत : कात्तिक ८ गते राति छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरासहित उनका ११ वर्षीय छोरा मनोज, पाँच महिनाका अर्का छोरा रहर र सात वर्षीय छोरी अप्सरा बोहराको सामूहिक हत्या भयो।

हत्या भएको १६ दिन पुगे पनि प्रहरीले कात्तिक १० गते मात्रै जानकारी पाएको थियो। १४ दिनपछि प्रहरीले शुक्रवार हत्यामा संलग्न भएका दुई जनालाई सार्वजनिक गर्यो। पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिका–७ पिना स्थायी घर भई बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय ‘काले’ भनिने गोर्खराज शाही र छायानाथ रारा नगरपालिका–६ मन्दुका ३१ वर्षीय गोपालबहादुर बोहरा थिए।

प्रहरी स्रोतका अनुसार प्रहरीले बोहरालाई कात्तिक ११ गते मुगुबाट र शाहीलाई कार्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो। तर, उनीहरू दुवै जनालाई प्रहरीले शुक्रवार मात्रै सार्वजनिक गरेको हो।

हत्या गर्ने बोहरा श्रीदेवीका मामाका छोरा हुन् भने श्रीमानको सन्तान समेत हुन्। त्यस्तै शाही मृतक श्रीदेवीकी काकीको छोरा हुन्। यता नेपालमा हत्या भयो। तर यसको तार जोडियो कतारमा।

यसरी बन्यो सामूहिक हत्याको योजना ?

दुई वर्षअघि वैदेशिक रोजगारका लागि श्रीदेवीका श्रीमान् दीपक बोहरा र गोपाल बोहराले कतार जाने निधो गरे। नेपालबाट फरक–फरक कम्पनी मार्फत गएका उनीहरू दुवैको काम गर्ने कम्पनी फरक पर्यो। दीपक पहिलेदेखि नै पुरानै कम्पनीमा जाने आउने गरेका थिए भने, गोपाल पहिलो पटक गएका थिए। त्यही भएर पनि दीपकलाई कम्पनीले एक लाख २० हजार रुपैयाँ नेपाली मासिक तलब दिन्थ्यो। गोपाललाई उनको कम्पनीले महिनामा २५ हजार रुपैयाँ मात्रै दिन्थ्यो।

दीपकको कमाई देखेर गोपाल लोभिएका थिए। त्यही कम्पनीमा आफूलाई पनि काममा लगाउन गोपालले बारम्बार दीपकसँग अनुरोध गरेका थिए।

घटनास्थल।दीपकले साहुलाई सोध्नुपर्छ भनेपछि गोपालले साहुलाई पनि सोधे। तर, साहुले दीपकले नै उनलाई ल्याउन नचाहेको, यदि दीपकले माने आफू ल्याउन तयार रहेको भनेपछि गोपाल रिसाए। आफ्नै १३ दिने जुठो लाग्नेले पनि यस्तो गरेको होला भनेर दीपकप्रति गोपालले रिसाएका थिए।

गोपालले गाउँमा रहेकी आफ्नी आमालाई कतारबाटै फोन गरेर दीपकले आफूलाई राम्रो कम्पनीमा नलगाएको गुनासो गरेका थिए। आमालाई भेडा किनिदिए गाउँ फर्किने बताएपछि उनकी आमाले पनि विभिन्न व्यक्तिहरूबाट ६० हजार रुपैयाँ ब्याजमा ऋण निकालेर १२-१३ वटा भेडा किनिदिइन्। गोपाल गाउँ फर्किएर भेडा पालनामा लागे।

तर, उनलाई दीपकको कम्पनीको कमाई मोहले छोडेन। नेपालबाट पनि उनले दीपकलाई कम्पनीमा आफूलाई काम लगाइदिन बारम्बार अनुरोध गरिरहेका थिए।

दीपकले गाउँबाटै ७-८ जना युवाहरूलाई आफू काम गर्ने कम्पनीमा काम लगाए, उनीहरूको आम्दानी राम्रै भयो। तर, गोपाललाई वास्ता गरेनन्। उनलाई दीपकप्रति वितृष्णा जाग्यो।

अनि गोपालले एक-दुई महिनामा दिने वाचासहित दीपकसँग एक लाख रुपैयाँ सापटी मागे। ऋण लिएको पाँच-छ महिनासम्म पनि गोपालले पैसा दिने सङ्केत देखाएनन्। दीपकले विदेशबाटै बारम्बार फोन गरेर पैसा फिर्ता मागिरहे।

गोपालले भएका भेडा बेचेर दीपकलाई ६० हजार रुपैयाँ तिरे अनि ४० हजार रुपैयाँ केही समयमा तिर्ने वाचा गरे। तर उता दीपकले मानेनन्।

गोपाल रिसाइरहेका थिए। उनले श्रीदेवीको काकीको छोरा पर्ने काले भनिने गोर्खराज शाहीसँग आफ्नो पीडा पोखे। घरमा रहेकी उनकी श्रीमतीलाई हत्या गर्ने र १० तोला सुन र पैसा लुट्ने आस देखाएपछि गोर्खराज पनि लालायित भए।

दीपक कतारबाट आएर केही दिन गाउँमा बसे अनि फर्किए। त्यहीबेला सुन र नगद पैसा घरमा ल्याएको गोपालले गोर्खराजलाई बताए ।

हत्या घटनाको अनुसन्धानमा परिचालित प्रहरी।त्यही गहना र पैसाले १०-१२ लाख हुने र त्यसपछि विदेशमा राम्रो तलब दिने कम्पनीमा जाने गोपालको योजना गोर्खराजले सहजै माने।

वैशाखतिर योजनामा लागेका गोपालले जेठमा श्रीदेवीको खुकुरी हानेर हत्या गर्ने सबै जिम्मा गोर्खराजलाई दिए।

त्यति बेला श्रीदेवीको पेटमा बच्चा भएकोले आफू हत्या नगर्ने भन्दै गोर्खराजले निर्णयबाट पछि हटे। पहिलो योजना सफल नभएपछि उनीहरू गाउँबाट काँडभित्ता गए। त्यहाँ गएर रक्सी खाएपछि फेरि उनीहरूले पुरानै योजनामाथि छलफल चलाए। करिब दुई महिना उतै हराएका उनीहरू खुकुरीसहित भदौमा गाउँ फर्किए।

गाउँ आएको केही दिनमा नै गोपाल र गोर्खराजबिच विवाद भयो। विवाद भएपछि भदौमा पनि उनीहरूको हत्या गर्ने योजना सफल भएन। कात्तिक पहिलो साता नै उनीहरू दुई जनाबिच मेलमिलाप भयो। त्यसपछि कात्तिक ८ गते राति उनीहरूको हत्या गर्ने योजना सफल भयो।

दिदी काम छ भनेर गोपालले नै श्रीदेवीलाई ढोका खोल्न लगाएका थिए। त्यसपछि उनको हत्या गरे। छोराछोरीले अरूलाई भन्ने शङ्काले उनीहरूको पनि हत्या गरे।

श्रीदेवीले लगाएको सुन र मोबाइल लिएर बाहिरबाट ताला लगाए। घरमा राखेको सुन प्रहरीले अनुसन्धानमा फेला पार्न सकेन। सुन लुट्न हत्या भएको शङ्का भयो।

श्रीदेवीले लगाएको सुन बेचेर गोर्खराजले एक लाख ७९ हजार रुपैयाँ जम्मा पारेका थिए त्यो पैसा प्रहरीले बरामद गरेको छ। श्रीदेवीले चलाउँदै आएको मोबाइल फोन समेत गोरखबहादुरले नै लिएका थिए। उनीहरूको हत्यापछि गोरखले कतारमा रहेका श्रीदेवीका श्रीमान् दीपकलाई शवको फोटो पठाएका थिए।

यसरी गरेको थियो प्रहरीले अनुसन्धान ?

सामूहिक हत्या भएको लामो समयसम्म प्रहरीले संलग्नलाई पत्ता लगाउन सकेन। घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो। घटना अनुसन्धानका लागि सुरुमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो।

घटनास्थलमा प्रहरी।अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए। त्यहाँ जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो।

पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो।

हत्या लगत्तै फरार भएका गोरखबहादुरले श्रीदेवीको मोबाइलमा आफ्नो सीमकार्ड प्रयोग गरेका थिए। त्यहीबाट लोकेसन’ ट्र्याप गरेर प्रहरीले गोर्खराजसम्म पुगेको थियो।

 ‘यो घटनामा विदेशदेखिको रिसइबी रहेछ। त्यही कारणले यो स्थिति सिर्जना भयो,’घटनामा खटिएका प्रहरी अनुसन्धान अधिकृतले भने, ‘तर, हत्यारा गोर्खराज भागेका कारण अलि समस्या भएको थियो। पछि कालिकोटको सीमा पुगेर मृत श्रीदेवीको मोबाइलमा अर्को नम्बर प्रयोग गरेको देखियो। अनि अनुसन्धान सहज भयो। उनीहरू पक्राउ परे।’

२४ कात्तिक, २०८०, ००:४९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।