दीपेन्द्रदेखि पारससम्मलाई पढाएका साहित्यकार रामबाबुको हिजोको कुरा : ‘यो बोकिराख्न पनि दिक्क हुने सर’ भन्दै दीपेन्द्रले टेबुलमा पेस्तोल राखे

दीपेन्द्रदेखि पारससम्मलाई पढाएका साहित्यकार रामबाबुको हिजोको कुरा : ‘यो बोकिराख्न पनि दिक्क हुने सर’ भन्दै दीपेन्द्रले टेबुलमा पेस्तोल राखे

नेपाली साहित्यमा परिचित नाम रामबावु सुवेदी (राजीव) पेशाले शिक्षक हुन्। कास्की, हंसपुरका उनले ‘कमिनी आमा’, ‘लु-सुन’, ‘भँगेरी’, ‘झस्किएको सिन्दूर’ लगायत पुस्तक लेखेका छन्। चर्चित बालगीत ‘मेरो गाउँ ज्यामिरे, जमुनेको छोरो म’ उनैले लेखेका हुन्।

सुवेदी कास्कीबाट काठमाडौं आएपछि शिक्षण पेशामा लागे। सरस्वती क्याम्पसमा आईए पढ्दै फर्पिङ बोर्डिङ स्कुलमा जागिरे भए। त्यहाँ ६ वर्ष पढाएपछि क्रान्तिकारी बनेको भन्दै निलम्बनमा परे।

बुढानीलकण्ठ बोर्डिङ स्कुलमा पढाउने अवसर पाएका उनले साहित्यमा पनि कलम चलाउन थाले। उनले बुढानीलकण्ठमा पढाउँदा तत्कालीन युवराज दीपेन्द्र, नीराजन र श्रुति उनका विद्यार्थी थिए।

स्कुलका साथ-साथै उनले दरबारमा गएर पनि उनीहरूलाई पढाए। २०४० देखि दरबार हत्याकाण्ड नभएसम्म यो क्रम जारी रहेको उनी बताउँछन्।

दीपेन्द्रलाई नेपाली विषय पढाउन उनी बेलायतको इटर्न कलेजसम्म पुगेका रहेछन्। उनले बुढानीलकण्ठ स्कुलबाट २०६५ मा अवकाश लिए। उनै रामबाबुले उकेराको नियमित स्तम्भ हिजोको कुराका लागि साटेको सम्झना :

OOO

मेरो जन्म कास्कीको हंसपुर गाउँमा भयो। हाम्रो गाउँ एकदमै शिक्षित। साधारण किसानको छोरो। ६ वर्षको हुँदा नहुँदै मेरो बुवा बित्नुभयो। म एक्लो छोरो हो। म भन्दा मुनी बैनी (पार्वती) छ।

बुवा बितेपछि आमाले नै हुर्काउनुभयो। एकल महिला भएपछि गाउँघरमा हेपाइ भयो। मेरी आमालाई साथ दिने कमै थिए। कसैको साथ नपाए पनि सन्तानलाई पढाउनुपर्छ भन्ने चेत थियो आमामा। जति कष्ट पाए पनि पढाइ छुटाइनन्।

गाउँकै प्रभात प्राइमरी स्कुलमा पढेको थिएँ। कक्षामा सधैँ फस्ट नै हुन्थेँ। एक पटक स्कुलकै फस्ट पनि भएँ। गाउँमा बस्ने रोदी र बालनका शब्दहरूलाई टिप्न थालेँ।

चुड्का,ख्याली,सोरठी,भजन लगायत सांस्कृतिक माहौल थियो गाउँमा।

गाउँमा गुरुङ, मगर समुदायको बाक्लो बस्ती छ अहिले पनि। त्यहाँ उनीहरू रोदी बस्ने भन्ने हुन्थ्यो। अनि बाहुन समुदायमा चाहिँ बालन गाउने, नाच्ने भन्ने हुन्थ्यो। त्यहाँ गएको बेलामा उनीहरूले गाएको शब्दहरू कापीमा टिप्थेँ।

त्यो समयमा देऊ बहादुर दुरा जिल्लाकै उत्कृष्ट दोहोरी गायकका रूपमा परिचित थिए। उनी भएपछि गाउँका तन्नेरीले गीत गाउँदा दिनरात बितेको पत्तै पाउँदैनथे।

गाउँको नजिकै शिवको मन्दिर छ। शिवरात्रिको बेला देऊ बहादुर दुरा आएर ठाडो भाका गाउँथे। अहिले पनि लमजुङ, तनहुँमा यो भाकामा गीत गाउने चलन छ। ठाडो भाकामा गीत गाएर रातै कटाउँथे।

भकारो सोहर्दै गुरूले पढाउँथेँ। त्यो समयमा स्कुल, कापी कलम केही थिएन। बाँसको कप्टेरो, काठको पाटीमा धुलोले कखरा लेखेर सिकाइन्थ्यो। शिक्षकको घरको पिँढी, कटेरो नै स्कुल समान।

गुरु घरको काम गर्दै पढाउँथे। भकारो सोर्दै,गाई दुहुँदै यो लेख, त्यो लेख भनेर सिकाउँथे। यसलाई पिँढी शिक्षा भनिन्थ्यो।

२०१४ सालमा प्रभात प्राइमरी स्कुल खुलेपछि आधुनिक शिक्षा सुरू भयो। पेच बहादुर गुरुङ भन्ने थिए। उनले हामीलाई १४ सालअघि चौतारो शिक्षा र कटेरो शिक्षा पढाए। चौतारो शिक्षा भनेको चौतारोमा बसेर पढाउने र कटेरो शिक्षा भनेको स्याउलाले छाएर बनाएको कटेरोमा बसेर पढाउने।

गुरुङले भारतबाट पढेर आएको हुनाले गाउँका केटाकेटीलाई उनले कटेरोमा बसाएर पढाउने गर्थे।

उनी नेपाली कांग्रेसका नामी नेता पनि भए। उनी वीपी कोइरालाका दाइने हात समान थिए। त्यो समयमा पनि छोरीहरू स्कुल पढ्न आउँथे। दुई सय स्कुलका विद्यार्थीमा ५० जना छोरीहरू थिए।

आर्थिक अवस्था कमजोरै भए पनि माध्यमिक शिक्षा पोखराको राम्रै स्कुलमा पढ्न पाएँ। पोखराको सोल्जर्स बोर्डिङ हाइस्कुलमा भर्ना भएँ।

भारतीय सेनामा कार्यरत सिपाहीको तलबबाट काटिएको पैसाबाट त्यो स्कुल बनाइएको थियो। स्कुलको महिनावारी शुल्क निकै कम थियो। ६ कक्षामा पढ्दा ८ रूपैयाँ थियो। १० मा १५ रूपैयाँ तिरेको थिएँ।

म पनि सिपाहीको सन्तान भएको भए त्यति पैसा पनि लाग्दैनथ्यो। घरबाट पढ्न आउँदा १ घण्टा समय लाग्थ्यो।

अहिले त्यो स्कुलको नाम परिवर्तन भएर अम्मरसिंह हाइस्कुल भएको छ। पहिला त्यो स्कुल भारतीयको हातमा थियो। पछि नेपाल सरकारले लिएर स्कुलको नाम बदल्यो। त्यही स्कुलबाट २०२० सालमा एसएलसी दिएर पास पनि भएँ।

एसएलसी पास भएपछि २०२१ मा आफ्नै गाउँमा स्कुल खोलेँ। नाम राखेँ रामकोट हाइस्कुल। त्यहाँको म पहिलो हेडमास्टर। पछि छोडेँ। त्यो स्कुल अहिले पनि चलिरहेको छ।

आइए पढ्न प्लेनमा काठमाडौं
पोखराबाट काठमाडौं आउजाउ प्राय प्लेनबाट नै हुन्थ्यो। पोखराबाट काठमाडौंमा प्लेनमा आउन ३५ रूपैयाँ भाडा लाग्थ्यो।

काठमाडौं आएर सरस्वती क्याम्पसमा आइए भर्ना भएँ। आइएमा पनि राम्रै नम्बर आएपछि त्रिचन्द्र क्याम्पसमा बिए (अनर्स नेपाली)मा भर्ना भएँ।

अनर्स नेपाली  नेपालमा पहिलोपल्ट लागू भएको थियो। तर  एक वर्षमा नै खारेज भयो।  त्यसपछि यो अनर्स भन्ने भएन। यसमा पढ्न ६ जना मात्र विद्यार्थी थियौँ। अनर्स पढ्नेमा खगेन्द्र सङ्ग्रौला पनि थिए।

खगेन्द्र भन्दा मेरो राम्रो नम्बर आउँथ्यो नेपालीमा। मैले संस्कृतमा नै ९५ नम्बर ल्याएको थिएँ। नेपालीमा पनि ८५ नम्बर आएको थियो। त्यहाँको छात्रवृत्ति नि मैले पाएको थिएँ। छात्रवृत्ति १२ सय रूपैयाँको थियो।

काठमाडौंमा उनको कोही आफन्त थिएनन्। गाउँका पुरुषोत्तम सुवेदी थिए। उनले बनारस गएर एमएसम्म पढेका थिए। दरबारको सचिव समेत भए। उहाँलाई देखेर नै मेरी आमाले ‘जा पुरुषोत्तम जस्तै पढ्नुपर्छ’ भनेर काठमाडौं पठाउनुभएको। तर सोच अनुसार पुरुषोत्तमबाट आड पाइएन।

पञ्चायकालमा गाउँकै कांग्रेस
२०१७ सालमा पञ्चायती व्यवस्था आउँदा गाउँ कांग्रेसमय थियो। गाउँमा अरू पार्टीका मान्छे नै थिएनन्। पछि हामी पोखरामा पढ्दै जाँदा म लगायत केही साथी मार्क्सवादी शिक्षाबाट प्रभावित भयौँ अनि कम्युनिस्टतर्फ धकेलियौँ।

यदि म पोखरामा नै बसेको भए त्यहाँको सांसद भइसकेको हुन्थेँ होला। त्यो समयमा हामीले गाउँमा कम्युनिस्टको विजारोपण गरेका थियौँ। काठमाडौं आए पनि पोखरामा रहेका साथीहरूलाई निर्देशन दिन्थेँ।

पढाइको सिलसिलामा काठमाडौं आएपछि पनि २०१८ सालदेखि २०२४ सालसम्म राजनीतिमै थिएँ। २०२४ सालमा बीए पढ्दा पढ्दै ‘इस् प्रकारका बुर्जुवा शिक्षा जितने पढ्ते हो,उतने ही मूर्ख बन्जाओगे, इसलिले बुर्जुवा शिक्षा छोड्कर क्रान्तिकी और कुद पढो’ भन्ने चारुमको भनाइलाई नारा बनाएका थियौँ।

२४ देखि २८ सालसम्म गाउँ-गाउँमा पुगेर क्रान्तिको भाषण दिएँ। क्रान्तिकारी भएको भन्दै सरकारी स्कुलको परीक्षामा फेल गराइदिएपछि निजी स्कुलमा पढाउन थालियो। पहिलो पटक लमजुङमा पढाएँ।

२२ सालदेखि नै साहित्यमा
२२ सालदेखि साहित्यमा कलम चलाउन थालिसकेको थिएँ। त्यो समयमा तीन वटा किताब भूमिगत नाममा प्रकाशन भएका थिए। एउटा थियो ‘कमिनी आमा’। यो कविता सङ्ग्रह हो। अर्को ‘लु-सुन’। यो खण्ड काव्य हो। यो २०३८ सालमा लेखेको थिएँ। यही समयमा अर्को बाल गीत ‘जमुनीको छोरो म’ पनि प्रकाशित भइसकेको थियो।’

 किताबमा सक्कली नाम नलेखेर राजीव उपनाम लेख्थेँ। क्रान्तिकारी मान्छेले उपनाम राख्ने चलन थियो। मैले पनि त्यसैको सिको गरेँ।

काठमाडौंमा पढ्दा आर्थिक समस्या टार्न शिक्षक सिद्धिचरण श्रेष्ठमार्फत फर्पिङ बोर्डिङ स्कुलमा जागिर खाएँ। सिद्धिचरण श्रेष्ठलाई मेरो आर्थिक स्थितिबारे थाहा थियो। एक दिन म उहाँको घरमा पुगेपछि ‘फर्पिङ बोर्डिङ स्कुलमा नेपाली शिक्षक चाहिएको छ जागिर खान्छौँ’ भनेर सोध्नुभयो।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी उहाँको ज्वाइँ। उनी सिद्धिचरणलाई भेट्न आएको। दुवैबीच नेवारी भाषामा कुरा भयो। मलाई त्यही दिन नै फर्पिङ बोर्डिङ स्कुलको नियुक्ति पत्र थमाउनुभयो।

फर्पिङको माध्यमिक तहको स्थायी शिक्षक। अनि दिउँसो स्कुल र बेलुका सरस्वती क्याम्पसमा पढ्न थालेँ। तर क्रान्ति छाडिनँ। २०३६ सालमा जनमत संग्रह हुँदा फर्पिङ बोर्डिङ स्कुलले बहुदलमा लाग्यो भनेर निकाल्यो। जिल्लामा ल्याएर हाजिर गराएर १ वर्ष राख्यो। मेरो काम भनेको हाजिर गर्यो, बस्यो।

फर्पिङकै अञ्चलाधीश थिए सूर्यप्रसाद श्रेष्ठ। उनी बोर्डिङ स्कुलका सञ्चालक समितिमा थिए। अध्यक्षमा आनन्दराज भण्डारी थिए। उनी यता दरबारका सचिव पनि। बहुदलमा लागेको भन्दै उनीहरूकै मिलेमतोमा मलाई निलम्बन गरेका थिए। काम विहीन बनाए पनि तलब भने रोकिएन। पहिलो तलब २ सय ५० थियो। छोड्दा ४ सय ५० भएको थियो।

लक्ष्मी श्रेष्ठ फर्पिङ बोर्डिङ र बुढानीलकण्ठ स्कुलको सुपरभाइजर। त्यतिकै हाजिर गर्दै जागिर खाइरहेको देखेपछि गुन लगाउनुभयो।

म न्युरोडको ब्रह्मटोलमा बस्थेँ। उहाँलाई मेरो डेरा थाहा थियो। एक दिन उहाँले ‘रामबाबुजी तपाईंले तुरुन्त बुढानीलकण्ठका प्रिन्सिपललाई भेट्नु’ भनेर लेखेको नोट मेरो छोरालाई छोड्नुभएको रहेछ।  

छोराले त्यो नोट दिएपछि भोलिपल्टै बुढानीलकण्ठ गएँ। मेरो अन्तर्वार्ता लिए अनि एकै पटक ९ कक्षामा पढाउन लगाए। पछि ६ कक्षामा पढाउन लगाए।

त्यो बेला प्रिन्सिपल बेलायतका केन जोन्स् थिए। अनि रत्न बहादुर तमोठ नेपाली विषयको हेड डिपार्ट। अङ्ग्रेजले नेपाली पढाएको नबुझे पनि विद्यार्थीको भाव बुझ्थ्यो। मैले पढाइसकेपछि प्रिन्सिपलको अफिसमा लगेर फर्पिङ बोर्डिङबाट किन निकाल्यो र किन सस्पेन्स गरेको भनेर सोधे। मैले राजनीतिक कारणले हो भने।

उसले मलाई राजनीति हाम्रो विषय होइन, हाम्रो विषय शिक्षा हो भन्यो। अनि नियुक्ति पत्र लिएर जान सक्छौँ भनेपछि फर्पिङमा भन्दा डबल तलबसहित जागिर भयो। पहिलोपल्ट मासिक ९ सय रूपैयाँको नियुक्ति पत्र पाएँ। यो २०३७ सालको कुरा हो।

१५ महिनामा तलब थपियो। स्कुलमा ५० जना शिक्षक थिए। एक पटक १८ जना शिक्षकलाई प्रिन्सिपलले निकाले। त्यहाँ पढाउन गएको १५ महिना मात्रै भएको थियो। मलाई पनि निकाल्यो कि भन्ने डर लाग्यो।

सुवेदीजी यो चिठी क्वाटरमा पुगेर मात्रै खोल्न पाउँछौँ भनेर प्रमुखले हातमा थमाइदिए। ढुकढुकी बढ्यो। हतार-हतार क्वाटर गएर चिठी खोलेर हेर्दा छक्क परेँ। किनभने मलाई १५ सय ५० को नियुक्ति पत्र दिइएको रहेछ।

दीपेन्द्र पढाइमा अब्बल, श्रुति ठिकठिकै
दरबारका युवराज दीपेन्द्र, नीराजन बुढानीलकण्ठकै आवासीयमा बसेर पढ्थेँ। दीपेन्द्रले अरू विद्यार्थी सरह त्यहीँको खाना खान्थे। दशैं, तिहार लगायत लामो बिदामा उनीहरूलाई दरबारले त्यतिकै बरालिन दिँदैनथ्यो। दरबारमा नै शिक्षक बोलाएर पढाउन लगाउँथेँ।

२०४० सालमा दरबार गएर पढाउन शिक्षक खोजियो। त्यसका लागि म सहित ७ जनालाई बोलाइएको रहेछ। त्यसमा स्वर्णीम वाग्लेका बुवा जीवन वाग्ले पनि थिए। त्यसमा म छानिएँ।

दरबारले दीपेन्द्र, नीराजन र श्रुतिको शिक्षकका रूपमा जिम्मेवारी दियो। तर, बुढानिलकण्ठको जागिर भने छोड्नु परेन। उनीहरूलाई खाली समयमा बरालिन नदिन दरबारले किताबै पिच्छेका शिक्षक राखेकै थियो। मेरो जिम्मा नेपाली पढाउने थियो।

बुढानीलकण्ठमा पनि पढाउँदै दरबारमा पनि पढाउन थालेँ। शनिबार र आइतबार स्कुल बिदा हुन्थ्यो। ती दुई दिन दरबारमा पुगेर पढाउनुपर्थ्यो। २०५८ सालसम्मै उनीहरूलाई पढाएँ।

दरबार जाँदा अङ्ग्रेजी, विज्ञान, गणित लगायत सबै विषयका शिक्षक हुन्थेँ। सबैले ४५ मिनेट जति पढाउनुपर्थ्यो। पहिला दीपेन्द्रलाई पढाएको थिएँ। श्रुति पछि थपिइन्।

राजकुमार, राजकुमारीले बुढानीलकण्ठमा पढ्दै गर्दा देशमा द्वन्द्व सुरू भयो। अनि ८ कक्षाबाट श्रुतीलाई सेन्ट मेरिजमा सारियो। दीपेन्द्र भने बुढानीलकण्ठमै बसेर पढे।

दीपेन्द्र पढाइमा निकै तगडा। अरूभन्दा उनी एक कदम अगाडि। श्रुति भने सोझी। जे भने पनि ह्वस भन्थिन्। नीराजनको पढाइ ठिकठिकै।

राजासँगै हिँड्नुपर्थ्यो
स्कुल बिदाको समयमा राजा वीरेन्द्रले कहिलेकाहीँ दीपेन्द्र, नीराजन, श्रुतिलाई पनि आफैँसँग लिएर जाने। उनीहरू जता गए पनि पढाउन जानुपर्ने। त्यतिबेला मलाई पनि लगिन्थ्यो। त्यहाँ लैजाँदा घुम्न होइन, उनीहरूलाई पढाउनका लागि लैजाने हो।

एक पटक पोखरा दरबारमा लगिएको थियो। दरबारमा राजारानी बस्नुभयो भने दीपेन्द्र, नीराजन, श्रुति र मलाई बाहिर होटेलमा राखियो।

दीपेन्द्रको उमेर ११ तर  बुद्धि १८ वर्षको जस्तो थियो त्यही बेलामा। सिर्जनात्मक क्षमता भएको व्यक्ति। असाध्यै राम्रो कविता लेख्ने। कहिलेकाहीँ पढ्न अल्छी लाग्यो भने ‘सर एउटा कविता लेखौँ’ भन्ने। उनले लेखेका कविता अहिले पनि मसँग छ।

मैले बोलाउँदा दीपेन्द्र नै भन्थेँ। उनीहरू मलाई सर नै भन्थेँ। हामीले हजुर बक्सियोस्, खाइसियोस् जस्ता भाषा प्रयोग गर्नुपर्दैन थियो। राजा वीरेन्द्रलाई चाहिँ सरकार नै भनेर बोलाउँथे।

श्रुति असाध्यै मेहनती र आज्ञाकारी थिइन्। उनलाई एक पटक भनेपछि हुन्थ्यो। दीपेन्द्र पृथ्वीनारायण शाहको पाठ पढाइरहेको बेलामा त्यो भन्दा अघिल्लो पाठमा पुगिहाल्ने स्वभावका थिए। समाल्नै गाह्रो।

नीराजनमा भने दीपेन्द्रको भन्दा फरक क्षमता थियो। पाठ पढाउँदा अडिएर सुस्त पढ्नुपर्ने। गाइजस्तै सोझो। एकदम नम्र स्वभावका।

मलाई अहिले पनि उनीहरूले एसएलसीमा के कति अङ्क ल्याएका थिए भन्ने कुरा थाहा छ।  एसएलसीमा श्रुतिको ७५ प्रतिशत, दीपेन्द्रको ६८ अनि नीराजनको ६१ प्रतिशत आएको थियो।

दरबारमा जे हो त्यो भन्नु पर्थ्यो, नत्र कारबाही
प्रत्येक तीन महिना कसले कति राम्रो पढ्यो,उसको स्वभाव कस्तो छ सबैको रिपोर्ट लेख्नुपर्थ्यो। दरबारका लागि सरकारकै अधीनमा शिक्षा भएता पनि क्षमता भन्दा बढी नम्बर दिन पाइँदैनथ्यो। राजकुमार भनेर बढी नम्बर दियो भने कारबाही हुन्थ्यो।

दीपेन्द्र १० कक्षामा पुग्दा पढाउने जिम्मा मेरो थियो। बुढानीलकण्ठमा मोलाइजा गर्न पाइँदैन थियो। मोलाइजा गर्ने शिक्षकहरू पनि त्यहाँ थिए। एक जना खेलकुदको शिक्षक हुनुहुन्थ्यो। उहाँले दीपेन्द्र, नीराजनलाई मोलाइजा गर्ने, क्षमता भन्दा राम्रो नम्बर दिएको खुलेपछि स्कुलबाटै निकालिएको थियो। राजाले हैन त्यहाँको प्रिन्सिपलले निकालेको थिए।

हामीलाई जस्ताको त्यस्तै हुनुपर्छ, बढाइचढाइ हुन्न भन्ने निर्देशनै थियो।

श्रुतिले एसएलसी दिएर आएकी थिइन्। उनलाई पढाउने म्याथको टिचर हुनुहुन्थ्यो सत्यनारायण राज भण्डारी। उहाँ पनि म्याथ पढाउन दरबार जानुहुन्थ्यो। म्याथमा अलिक कमजोर थिइन् उनी। एसएलसी दिएर श्रुति दरबार आएपछि राजारानीलाई पास हुन्छिन् भन्ने भएनछ। राजा वीरेन्द्र त फेल हुन्छिन् भन्नेमा हुनुहुन्थ्यो।

राजारानीले म्याथका शिक्षकलाई बोलाएर प्रश्न पत्रमा आएको प्रश्नहरू सोध्न लगाएछन्। यसको के लेख्यौँ, यसको के लेख्यौँ भनेर श्रुतिलाई सोधेपछि सत्यनारायणले पास हुन्छिन् भनेका रहेछन्।

यदि पासै गराउन लागि चाहेको भए ८०-९० नम्बरै पनि राख्न सकिन्थ्यो। तर, दरबारमा त्यस्तो थिएन। जे हो त्यो भन्नुपर्ने हुन्थ्यो। नत्र जागिरबाट निकालिन्थ्यो।

दीपेन्द्रलाई पढाउन बेलायत नै पुगेँ
दीपेन्द्र क्याम्पस पढ्न बेलायतको इटर्न कलेजमा भर्ना भए। त्यहाँ ए लेबलमा एक विषय नेपाली पनि थियो। ए लेबल भनेको इन्टरनेश्नल विषय। यो बेलायतको शिक्षाको ढाँचामा थियो।

एक ए लेबलको विषय बनाउँदा खेरि हामीले नेपाल (बुढानीलकण्ठ) स्कुलबाट नै बनाएर पठाएका थियौँ। क्याम्ब्रिज विश्व विद्यालयको कोर्स हो यो। त्यहाँ ए लेबलको शिक्षामा जुन देशको विद्यार्थी भयो त्यही देशको एउटा विषय लिएर पढ्न पाइन्थ्यो।

दीपेन्द्र भोलिका राजा भएकाले नेपाली विषयमा अलिक पोख्त बनाउन खोजिएको थियो।

नेपाली विषय त नियमित पढाउनुपर्यो भनेर ए लेबलको पाठ्यक्रममा नेपाली विषय छानियो। त्यहाँ अङ्ग्रेजहरूले नेपाली पढाउने कुरै भएन। एउटा नेपाली परेपछि मलाई पनि दीपेन्द्रसँगै बेलायतको इर्टन कलेजमा पढाउन पढाइयो।

त्यहाँ म नेपाली दूतावासको भवनमा बसेर इटर्न कलेजमा नेपाली पढाउन जान्थेँ। हप्तामा मेरो चार पिरियड पर्थ्यो। मलाई राजा वीरेन्द्रले नै चेक काटेर दिन्थेँ। वीरेन्द्रको खाताबाट चेक साटेर पैसा लिएको अहिले पनि सम्झना आउँछ।

बेलायतमा ६ महिना जति बसेर पढाएँ। कोर्स सकिएपछि नेपाल फर्किएँ। त्यसपछि त्यहाँ कसैले नेपाली पढाएको थाहा छैन। म नै पहिलो र अन्तिम नेपाली शिक्षक हुनसक्छु।

दीपेन्द्र मोटरसाइकलमा घर आउँथे
पछि पनि युवराज दीपेन्द्र बेला-बेलामा मलाई भेट्न मेरो घरमा आइरहन्थे। कहिले मोटरसाइकलमा त कहिले गाडीमा।

मोटरसाइकलमा राजु नामको सहयोगी लिएर आउँथे। दुई-तीन घण्टा बसेर घरमा जे छ त्यही खाएर जान्थेँ। बारीमा काँक्रो छ भने काँक्रो टिपेर ल्याएर खोर्सानी पिसेर खान्थे।

उनी आउँदा कहिलेकाहीँ आफ्नो सुरक्षाको लागि एउटा पेस्तोल पनि बोकेको हुन्थ्यो। ‘यो बोकिराख्न पनि दिक्क हुने सर’ भनेर टेबुलमा राखेर बस्थ्ये।

घरमा आउँदा रित्तो नआउने। कहिले मःम कहिले के-के लिएर आउने। एउटै परिवार जस्तो थियौँ। मेरो घरमा आउँदा थाहा दिएर कहिल्यै नआउने, अकस्मात् आउने।

कहिलेकाहीँ म हुँदिन थिए। एक दिन म कक्षामा पढाइरहेको थिएँ। सायद बिहान ९ बजेको समय थियो होला। घरमा पुगेर ‘खोइ सर’ भनेर मेरो श्रीमतीलाई सोधेछन्। ‘सर त क्लासमा हुनुहुन्छ’ भनिछन्।

सिमसिम पानी पर्न थालेको थियो। श्रीमतीले बाहिर ५ बोरा जति धान सुकाएकी रहिछिन्। पानी छिट्याउन थालेपछि आफैँले धान उठाएर बोरामा हालेर म्यामले सक्नुहुन्न म छँदैछु नि भन्दै दीपेन्द्र र उनको सहयोगी राजुले भित्र राखेछन्।

दीपेन्द्रमा ‘राजाको छोरो पो हुँ’ भन्ने कुनै घमन्ड थिएन।

गिरिजाप्रसादलाई हप्काएँ भनेर सुनाए  
यो २०५५ तिरको कुरा है। एक दिन ९ बजे राति मोटर आयो। मोटर आएपछि म बाहिर आएँ। आउँदा दीपेन्द्र रैछन्।

​​​​​​​‘सर म बस्न आएको होइन, तपाईंलाई लिन आएको जाम’ भने।

कहाँ जाने हो भनेर सोधेँ। जाम, जहाँ भए पनि भने। भित्र गएर लुगा लगाए र उनीहरूको गाडीमा चढेँ। हिँडेपछि शिवपुरीको डाँडामा लगे। त्यहाँ निकै सुन्दर ठाउँ रहेछ। आफैँले खानेकुराहरू बोकेर आएका रैछन्।

म:म लगायतका खाना रहेछ। खाँदै कुरा गर्दै-गर्दा दीपेन्द्रले ‘मैले हिजोको भेटमा गिरिजालाई नमज्जाले हप्काइदिएँ सर’ भने।

‘खाली भाषण मात्रै गर्ने, काम नगर्ने भनेर हप्काएँ’ भने।

त्यो बेला गिरिजाप्रसाद प्रधानमन्त्री थिए। त्यो बेला वीरेन्द्र विदेश भ्रमणमा गएकाले दीपेन्द्रलाई यताको जिम्मा दिइएको रहेछ। त्यो बेलासम्म म राजनीतिबाट धेरै टाढा पुगिसकेको थिएँ। मैले सामान्य प्रतिक्रिया मात्र दिएँ।

१-२ घण्टा शिवपुरीमा बसेर फर्कियौँ। मलाई घरमा छोडेर उनीहरू दरबारतिर गए।

त्यो समयमा राजा र प्रधानमन्त्रीबीचको भेटमा राजाले प्रधानमन्त्री लगायतलाई तिमी शब्द प्रयोग गर्थे। तर, शिक्षकहरूलाई तपाईं, हजुर भन्ने।

पारस शाह पाहा पल्टाए जस्तो
पारस शाहलाई समेत मैले पढाएँ। तर दरबारमा पढाएको होइन। उसलाई बुढानीलकण्ठ स्कुलमा पढाएको हो। त्यहाँ एक वर्ष मात्रै पढाएँ। ठूलो दरबारमा भएको मान्छेलाई सानो दरबारतिर ढिम्किन दिँदैन थिए।

पारस सानो दरबारको भएकोले युवराज दीपेन्द्र, नीराजन, श्रुतिसँग त्यति भेटघाट गराउने गरेको देखिएन। ठूलो दरबारभन्दा बाहिरै पारसलाई राखिन्थ्यो। एक पटक पारसलाई पढाउन शिक्षक खोजिदिनु पर्यो भने। केही शिक्षकको नाम दिएँ। तर, कसले पढाउन गयो गएनन् थाहा भएन।

सात कक्षाबाट पढेका पारसलाई ९ कक्षामा पुगेपछि निकालियो। किन निकालियो थाहा भएन। राजाले मेरो भाइको छोरालाई त्यहीँ राख भन्न सक्थेँ। ज्ञानेन्द्र शाह आफैँले पनि मेरो छोरालाई स्कुलबाट निकाल्न पाउँदैन भन्न सक्थेँ। तर भनेनन्। उनीहरूले कहिल्यै फोर्स गरेको थाहा पाइनँ मैले।

पारस पनि सामान्य नै थिए। अरू विद्यार्थी सरह नै जे पाकेको छ त्यही खान्थेँ। पारसको स्वभाव पाहा जस्तो थियो, जता पल्टायो उतै पल्टिने खाल्को। ज्यान चाहिँ मोटो नै थियो। ऊनी कुनै कुरामा पनि एक्टिभ देखिएनन्।

दार्जिलिङमा सातसम्म पढेपछि बूढानीलकण्ठमा भर्ना भएका हुन् उनी। पढाइ अनि खेलकुदमा पनि एक्टिभ देखिएन। अलिक सुस्त-सुस्त नै हो। अहिलेको जस्तो टाठो बाठो देखिनँ मैले। स्कुलबाट निकालेपछि ऊ कसरी टाठो भयो थाहै भएन।

पारसले अहिले पनि मलाई राम्ररी चिन्छन्। बाटोमा कतै हिँडिरहेको छन् र मलाई देख्यो भने मोटर फर्काएर मलाई आएर ढोग्छन्। दुईचार पटक भेटेको पनि छु। शिक्षकप्रति एकदमै लोयल हुन्छन्।

२४ कात्तिक, २०८०, १४:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।