बिहारका मुख्यमन्त्रीले संसदमा दिएको विवादास्पद बयानको अमेरिकी गायिकाले गरिन् निन्दा (भिडियो)

बिहारका मुख्यमन्त्रीले संसदमा दिएको विवादास्पद बयानको अमेरिकी गायिकाले गरिन् निन्दा (भिडियो)

एजेन्सी : अमेरिकी गायिका मेरी मिलबेनले बिहारका मुख्यमन्त्री नितिश कुमारले विधानसभामा दिएको विवादास्पद भनाइको निन्दा गरेकी छन्।

मंगलबार बिहारका मुख्यमन्त्री नितिश कुमारले जनसङ्ख्या नियन्त्रणमा शिक्षा र महिलाको भूमिकाबारे व्याख्या गर्न विधानसभामा आपत्तिजनक बयान दिएका थिए।

अमेरिकी गायिका मिलबेनले भारतका सहासी महिलालाई अगाडि आएर मुख्यमन्त्रीको उम्मदेवारी घोषणा गर्नसमेत आग्रह गरेकी छन्।

विगतमा धेरै पटक प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिसकेका मिलबेनले बुधबार सामाजिक सञ्जाल एक्समा नितिश कुमारको भनाइप्रति प्रतिक्रिया जनाएकी हुन्।

‘महिलाको मूल्यमान्यतालाई चुनौती दिने बिहारमा आज निर्णायक समय हो,’ उनले भनिन्,  ‘यो चुनौतीको जवाफ भनेको साहसी महिलाहरू अगाडि आएर बिहारको मुख्यमन्त्री पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु हो।’

‘यदि म भारतीय भएको भए बिहार गएर चुनाव लड्थेँ,’ उनले अगाडि भनिन्, ‘बिहारका जनतामा परिवर्तन र साहसको लागि महिलालाई भोट दिनुस्।’

यसका साथै उनले बिहारमा महिलालाई सशक्तिकरण गर्न भाजपालाई अपीलसमेत गरेकी छन्। यही नै महिलाको वास्तविक विकास हुने उनको भनाइ छ।

मुख्यमन्त्रीको भनाइलाई लिएर बिहारको विपक्षी दल भारतीय जनता पार्टीले उनको राजीनामा मागेको छ भने राष्ट्रिय महिला आयोगले पनि मुख्यमन्त्रीसँग स्पष्टिकरण सोधेको छ।

आयोगले जनसंख्या नियन्त्रण र महिलाको अध्ययनको विषयमा फरक तरिकाले पनि अभिव्यक्ति दिन सकिने भए पनि मुख्यमन्त्री नितिश कुमारले त्यसलाई मजाकको रूपमा र अश्लिल हाउभाउका साथ व्यक्त गरेको बताइन्।

बुधबार बिहार विधान सभामा महिला सांसदहरूले उनको विरोधमा नारा लगाएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई महिलाको सम्मानसँग जोडेका छन्। लाज लाग्नुपर्नेमा नलागेको आफूलाई अचम्म लागेको बताए।

आलोचना भएपछि मुख्यमन्त्री नितिश कुमारले बुधबार आफ्नो भनाइप्रति माफी मागे। उनले आफ्नै भनाइप्रति निन्दा र दुःख व्यक्त गरे। यद्यपि यो विवाद अझै रोकिएको छैन।

यस्तो थियो नितिश कुमारको भनाइ:-

कात्तिक २३, २०८० बिहीबार १२:११:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।