राहत वितरणमा भद्रगोल एकद्वार प्रणाली : दिने र लिने दुवैलाई सास्ती

राहत वितरणमा भद्रगोल एकद्वार प्रणाली : दिने र लिने दुवैलाई सास्ती

जाजरकोट : जाजरकोटमा भूकम्प गएको बुधबार पाँच दिन भयो। भूकम्प पीडितहरुको राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणाली मार्फत राहत वितरण गरिरहेको छ।

एकद्वार प्रणाली सकारात्मक भए पनि व्यवस्थित गर्न नसक्दा भद्रगोल देखियो। सरकारी तथा गैरसरकारी निकायबाट आएका राहत पीडितसम्म समयमा पुगेको देखिएन। 

देश तथा विदेशबाट राहत आए पनि अधिकांश भूकम्प पीडितले राहत नपाएको गुनासो गरिरहेका छन्। त्यति मात्रै होइन, राहत सहयोग गर्नेहरूले समेत सहज रुपमा हस्तान्तरण गर्न नपाएको गुनासो गरेका छन्।

काठमाडौंबाट विभिन्न व्यक्ति र संस्थाहरुले पठाएको राहत ल्याएर जाजरकोट आएका चालक विमल तामाङले राहत हस्तान्तरण गर्न समस्या भएको बताए।

‘काठमाडौंबाट पठाएको राहत लिएर आएको, दुई दिनसम्म पनि राहत बुझाउन सकेको छैन’, चालक तामाङले भने, ‘कसैले कता लैजाउ भन्छन्। कसैले यहीँ रोक भन्छन्। कहाँ बुझाउने हो थाहा छैन। धेरै समस्या भएको छ।’

तामाङ मात्र होइन, राहत वितरण गर्न आएका अधिकांश व्यक्तिहरुले आफुहरुलाई सास्ती भएको गुनासो गरेका छन्।पाएकाे राहतले आफूलाई अपुग भएको भेरी नगरपालिका-१ रावत गाउँका गौतम विकले गुनासो गरे।

‘तीन दिन अगाडी दिएको एक कट्ठा चामल सकिन लाग्यो। आठ जनाको परिवारलाई साँझ बिहान खाँदा सकियो,’ उनले भने, ‘बिहादेखि लाइनमा बसेर बल्लतल्ल ल्याइयो। अब चामल कहिले आउने हो? थाहा छैन। पालको बसाई कष्टकर भएको छ।’

स्थानीय प्रशासनले मापदण्ड बनाएर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने सर्वदलीय सहमति गर्यो। आ-आफ्नो क्षेत्रमा राहत लिन विभिन्न पार्टीका नेता र जनप्रतिनिधिविच खिचातानी देखियो।

गोदाममा राहतको चाङ छ। राहतका लागि विभिन्न निकायबाट सहयोग पनि जुटिरहेको छ। तर, सदरमुकाम खलंगाबाट नजिकै रहेका रावतगाउँ, कोलचौर र नलगाड नगरपालिकाकै अधिकांश वडामा पर्याप्त राहत पुगेको देखिएन। बारेकोट र कुशे गाउँपालिकामा पनि पर्याप्त राहत नपाएको पीडितहरूले गुनासो गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहका केन्द्रसम्म सबै खालका राहत सामग्री पठाइसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

‘सोमबारदेखि विभिन्न ठाउँहरुमा राहत पठाएका छौं । जिल्लाबाट पालिका हुँदै वडामा जाँदा केही ढिलाई भएको हुनसक्छ,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने, ‘पहिलो चरणमा हरेक परिवारलाई आवश्यक राहत उपलब्ध गराएका छौं।दोस्रो चरण्का लागि पनि हामीले तयारी थालेका छौं।’

एकद्वार प्रणालीमा राहत वितरण गर्दा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी सुनारले दावी गरे।

भूकम्प पीडितहरु खुला आकाशमूनिको सडक र चौरमा त्रिपाल टाँगेर चिसोमा कष्टकर दिनहरु बिताइरहेको छन्। सोमबार दिउँसो जाजरकोटमै केन्द्रविन्दु बनाएर  फेरि भूकम्प गएपछि पीडितहरु त्रासमा बसिरहेका छन्।

खुला आकाशमूनि त्रिपाल टाँगेर चिसो भुइँमा बसिरहेका भूकम्प पीडितहरु खाने, र बस्ने व्यवस्थापन राम्रो नहुँदा बिरामी पर्न थालेका छन्।

यस्तो छ मङ्गलबारसम्म वितरण गरिएको राहतको विवरण :

२२ कात्तिक, २०८०, १६:११:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।