काठमाडौं महानगरले भोलिदेखि सडकमा भेटिने गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने

काठमाडौं महानगरले भोलिदेखि सडकमा भेटिने गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबारदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ।

बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जाल मार्फत बिहीबारदेखि महानगरपालिकाले सडकमा भेटिएका गाइबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका–७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका–७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएका छौँ।’

उनले सडकमा छाडिएका चौपाया सवारी दुर्घटनाको जोखिम भएको कारण जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेको भन्दै लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका जानकारी दिए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ। हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ। दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ’, उनले थप लेखेका छन्।

२२ कात्तिक, २०८०, १२:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।