जाजरकोट भूकम्प : घरबेटीबाट सडकपेटीमा झरेका भूमिलाल

जाजरकोट भूकम्प : घरबेटीबाट सडकपेटीमा झरेका भूमिलाल

जाजरकोट : भेरी नगरपालिका-४ खलंगाका ५० वर्षीय भूमिलाल शाहीको घर बजारमै थियो।

१६ वर्षदेखि घर भाडामा दिँदै आएका थिए उनले। ६ कोठे घरको एक कोठामा आफू बसेर पाँच कोठा महिनाको १५ सयका दरले भाडामा दिएका थिए।

तर, गत शुक्रबार आएको भूकम्पले उनको ६ कोठे घर तहसनहस भयो। उनै भूमिलाल अहिले सडकपेटीमा त्रिपालमा टाँगेर कष्टकर दिन बिताइरहेका छन्।

राहतको चामल र त्रिपालमा उनले चार रात बिताइसके। साँझ बिहान सामुहिक मेसमा खाना खाइरहेका छन्। घर कसरी ठड्याउने भन्ने चिन्तामा छन् उनी।

‘पाँच कोठा घरभाडा दिएर राम्रै आम्दानी थियो। परिवारको खर्च र छोराछोरी पठाएकै थिएँ,’ उनले भने, ‘भूकम्पले घर भत्काएपछि सडकपेटीमा बास भयो।’

भूमिलालका छोराछोरी सुर्खेत बसेर पढ्छन्। घरभाडाबाट उठेको सात हजार पाँच सय रूपैयाँले उनले घरपरिवार चलाइरहेका थिए।

सरकारले राहत र पुनःनिर्माणमा चासो दिएर काम गर्न उनको जोड छ।

‘अहिले राहत केही मात्रामा त आएको छ। तर, त्यो नै प्रयाप्त छैन,’ भूमिलालले भने, ‘राहत र पुनःनिर्माणमा राजनीति नहोस्। पीडितलाई उचित व्यवस्थापन होस्।’

प्रहरीका अनुसार भूकम्पमा परी जारकोटमा मात्र  मृत्यु हुनेको संख्या १०५ पुगेको छ।

घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना जिल्ला अस्पताल, सुर्खेत, नेपालगन्ज र काठमाडौंमा उपचाररत छन्।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छ भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ।

अधिकांश घर भत्किएका छन्। ठडिएका केहीमा पनि बस्न लायक छैनन्। सोमबार फेरि आएको भूकम्पले जाजरकोटवासीलाई झनै त्रास छाएको छ।

गत शुक्रबार राति ११ः४७ मा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

२१ कात्तिक, २०८०, ११:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।