जाजरकाेट भूकम्प : सँगै सुतेका तीन नातिनतिना र बुहारी गुमाएकी सरस्वती

जाजरकाेट भूकम्प : सँगै सुतेका तीन नातिनतिना र बुहारी गुमाएकी सरस्वती

रुकुम पश्चिम : रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका-१४ छेपारे टाेलकी ६० वर्षीया सरस्वती जैशीले शुक्रबार गएकाे भूकम्पमा दुई नातिनी, एक नाती र बुहारीसहित चार जना गुमाइन्।

राति एउटै काेठामा सँगै सुतेका उनीहरूलाई घरकाे छानाेले च्याप्याे। जसबाट उनकी २८ वर्षीषा बुहारी अमृता जैशी, दुई र आठ वर्षीया नातिनी र ६ वर्षीय नातीको ज्यान गयो।

उनको अहिले त्रिपालकाे बसाइ छ। रोजगारीका लागि भारत गएका दुई छोरा आउँदै गरेको उनले बताइन्।

‘दुई छाेरा भारतबाट आउँदैछन्। किरिया बस्ने मान्छे पनि काेही नभएपछि देवर बसेका छन्,’ सरस्वतीले भनिन्, ‘किरिया यहि स्कुलमा बस्छन्। म त त्यहि त्रिपालमा बस्छु।’

नातिनतिना र बुहारीकाे मृत्युको पीडाले सरस्वती अहिले पीडामा छिन्। आफू अहिले होसमा नभएको उनी आफैँ स्वीकार्छिन्।

‘भर्खरै फक्रँदै गरेका नातिनतिना र मेराे सहारा बुहारीकाे तस्बिर आँखामा घुमिरहन्छन्,’ भक्कानिँदै उनले भनिन्, ‘नातिनतिना र बुहारीलाई भूकम्पले लियाे। पाेहाेर श्रीमान् बिते। तीन साल पहिले जेठाे छाेरा पनि बित्याे।’

केही खाद्यान्न र त्रिपाल प्रशासनले दिए पनि बसाइ कष्टकर भएकाे भन्दै छिटाे व्यवस्थापन गरिदिन उनले सरकारलाई अनुराेध गरिन्।

भूकम्पले रुकुम पश्चिममा मात्र दुई हजार १३६ घर पूर्ण, दुई हजार ६४२ आंशिक र चार हजार ६७० सामान्य क्षति भएकाे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार प्रारम्भिक रूपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ।

क्षतिको विवरण संकलन भएकाले अझै बढ्न सक्ने उनको भनाइ छ। भूकम्पको कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।

घाइतेमध्ये २७ सुर्खेतमा, नेपालगञ्ज र काठमाडौं उपचार गरिरहेका छन् भने, १७४ जना डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भइरहेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षति भएको छ।

२० कात्तिक, २०८०, १७:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।