जाजरकोट लाइभ : चौरमा अलपत्र भूकम्प पीडितको पीडा' राती सितले कठ्याउँछ, निन्द्रा परे भूकम्पले तर्साउँछ

जाजरकोट लाइभ :  चौरमा अलपत्र भूकम्प पीडितको पीडा' राती सितले कठ्याउँछ, निन्द्रा परे भूकम्पले तर्साउँछ

जाजरकोट : प्रधानमन्त्री नै आएर भूकम्पले बनाएको बिजोग हेरेपछि कमसेकम रातमा ओत लाग्ने त्रिपालसम्म त समयमा आउला भन्ने आशमा थिए जाजरकोटका भूकम्प पीडित। तर आइतबार बेलुकासम्म ओत लाग्ने केही आएन। अधिकांश भूकम्प पीडितको शनिबारको रात चौरमै बित्यो। आइतबार पनि उस्तै।

काठमाडौँ फर्किएर मन्त्रिपरिषदको बैठक बस्यो। पीडितहरुलाई राहत दिने अनि नि : शुल्क उपचार गर्ने निर्णय भएको पनि सुने। निर्णयको खबर त आयो र अस्थायी छानो आएन।

भूकम्पबाट ७० वर्षकी हजुरआमा र तीन वर्षको छोरा गुमाएका भेरी नगरपालिका– १ रावत गाउँका मानबहादुर विक शोकसँगै चौरको चिसोमा रात बिताउनुपरेकोमा दुखी थिए।

‘भएको खाने अन्न, लुगा कपडा, भाँडाकुँडा सबै पुरिए। चौरको  बास भएको छ,' उकेराकर्मीसँग उनले भने' केही सङ्घ संस्था र व्यक्तिले दिएको खानेकुराले भोक मेटिएको छ। कमसेकम चिसो छल्न पाए हुन्थ्यो अब।'

भूकम्प आउँदा उनी घरमा थिएनन्। उनी नेपाली सेनामा कार्यरत रहेकाले बाहिरै थिए।

 ‘हजुरआमा र छोरालाई सदाका लागि गुमाएँ। आमा र बुवा घाइते भएर सुर्खेतमा उपचार भइरहेको छ। यता चिसोको बास भएको छ,' उनले भने।

घरभित्र मनले चाहेअनुसार बनाइ खाएका आफूहरूलाई भूकम्पले चौरमा ल्याएकोमा खिन्न देखिइन् रीता रावत।

‘चार जनाको जहान थियो। खान लाउन पुगेकै थियो। भूकम्पले त चौरमा ल्याइदियो' उनले भनिन्' राहतको भरमा भोक मेटाउनुपर्ने बनायो। राति सितले कठ्याउँछ, दिनमा घामले पोल्छ। ओत लाग्ने घर सामान पनि भएन।'

OOO

शुक्रवार राती ११ : ४७ मा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि विपद् आइलाग्यो जाजरकोटवासीलाई। अधिकांश घर भग्नावशेष भएका छन्। ठडिएका केही पनि बस्न लायक छैनन्।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्याङ्कअनुसार भूकम्पबाट जाजरकोटमा मात्रै तीन हजार ६५० घरमा क्षति पुगेको छ। ९ सय ५ घर पूर्ण रुपले क्षति भएका छन्।

भुकम्पका कारण घाइते बनेकाहरूको शनिवार बिहानैदेखि एम्बुलेन्स र नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको थियो।

गम्भीर घाइतेलाई सुर्खेत, नेपालगन्ज र काठमाडौँ लगियो। सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भएर घर फर्किए।

भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ। तीमध्ये जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको ज्यान गयो। भूकम्पबाट २ सय ४६ जना घाइते भए।

आइतबार भूकम्प प्रभावित क्षेत्र पुग्दा बिचल्ली परेका अधिकांश पीडित मानबहादुर र रीताजस्तै के गर्ने के नगर्ने बिलखबन्दमा देखिए।

गच्छे अनुसारको अन्न अनि भएका ओढ्ने-ओच्छ्याउने घरको भग्नावशेषमा पुरिएका छन्। उनीहरू चौरमा लुगलुग कामेर भोकै बसेका छन्।

OOO

शिवा वादी घरको भग्नावशेषमा रहेको अन्न सम्झन्छिन् अनि भोकै रहेका छोराछोरीलाई हेरेर ट्वाल्ल पर्छिन्।

‘बच्चाबच्ची पनि सानै छन्। १८-१९ वर्षको ठूलो छोरो काम खोज्न काठमाडौँ गएको उतै छ। भएका बाख्राका पाठा र  चल्ला भूकम्पले पुरिदियो,’शिवाले भनिन्, ‘अलि–अलि राहत आएको थियो, सकिहाल्यो। सन्तान भोकै परे।'

भत्किएको घर, पुरिएको अन्नपात अनि भूकम्पले मारेका गोरु सम्झेर दुखी छन् सहवीर विक। त्यसमा चिसोको बास। यताउता गरेर टाउको छोप्नेसम्मको व्यवस्था गरेका उनी राहतकै भरमा छन्। राती सुत्दा भुकम्पको त्रासले अनिदो रहेछन्।

‘घर, अन्नपात सबै माटोमा पुरियो। गोठका हल गोरु भूकम्पले खायो,’सहवीरले भने, ‘चौरको बसाई छ। पेटभरि खाना नि छैन। वरिपरिबाट रातमा सितले चिस्याउँछ। सपनामा भूकम्पले तर्साउँछ।’

भूकम्पले त्रिपालमा बस्ने थालेदेखि पढाई समेत बिग्रिएको कक्षा ११ मा अध्ययनरत अस्मिता रावतले बताइन्।

भूकम्प आउँदा उनी पढेर बसिरहेकी रहिछिन्। बेलैमा घर बाहिर निस्कन पाइन्। उनी निस्किएपछि घर ढल्यो।

'किताब हेर्यो कि त्यही भूकम्पले तर्साउँछ। अनि किताब हेर्न मन लाग्दैन’ उनले भनिन्।

१९ कात्तिक, २०८०, ००:३६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।