अस्पतालमा घाइते आमाको बिलौना ‘म मरे पनि छोरीलाई बचाइदेऊ डाक्टरसाप!’

अस्पतालमा घाइते आमाको बिलौना ‘म मरे पनि छोरीलाई बचाइदेऊ डाक्टरसाप!’

सुर्खेत : जाजरकोट बारेकोट–१ कि ४२ वर्षीय दुर्गा थापा शुक्रवार मध्यरात आएको भूकम्पबाट घर भत्किँदा घाइते भइन्। उनीसँगै घरमा बसेका चार सन्तानमध्ये चार वर्षकी कान्छी छोरीलाई चोट लाग्यो। दुर्गा र उनकी ४ वर्षीय छोरी सेवीका थापा अहिले प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचाररत छिन्।

एक छोरा र चार छोरीकी आमा दुर्गाले आफूलाई लागेको चोटभन्दा बढी सैयामा छट्पटाइरहेकी चार वर्षीय छोरीको चिन्ता बढी छ। उनका श्रीमान् भारतको हिमाञ्चल प्रदेशमा गएका छन् कामका लागि। उनी तिहारमा आउने तयारीमा थिए। रोजगारीका लागि साउनमा लद्दाख पसेका उनका श्रीमान् घर नआइपुग्दै बस्ने बास भूकम्पले लगिसक्यो।

दुर्गाको ढाड र टाउकोमा चोट लागेको छ भने उनकी चार वर्षीय छोरी सेवीकाको खुट्टा र छातीमा चोट लागेको छ। प्रदेश अस्पतालको आकस्मिक कक्षको एक बेडमा दुर्गा छिन्, अर्को बेडमा छोरी सेवीका।

उकेराकर्मी पुग्दा दुर्गा आफ्नो छोरीलाई बचाइदिन चिकित्सकलाई हात जोड्दै अनुरोध गर्दै थिइन् ‘ठूला भएकाले त गरेर खाइहाल्छन्। यो स्यानीलाई उपचार गरेर सन्चो बनाइदिनुस्।'

OOO

शुक्रवार राती ११ : ४७ मा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो भौतिक र मानवीय क्षति भयो।

उनीहरूलाई उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौँमा लगिएको छ। सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको छ। जाजरकोटमा १ सय पाँच जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। एक सय ७० जना घाइतेको भएका छन्। गम्भीर घाइते २५ जनालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

OOO

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ८ की दुर्गा घर्तीकी १७ वर्षीय छोरी मनीषा घर्ती शुक्रवार राति गाउँ नजिकै मेला हेर्न गएकी थिइन्। गाउँका दाइसँग मोटरसाइकलमा फर्कँदै गर्दा उनको टाउकोमा ढुङ्गा लागेर सशक्त घाइते भइन्।

उनले यो वर्ष मात्रै एसइई पास गरेकी थिइन्। वैशाखमा मात्रै मनीषाले सल्यानका एक जना केटासँग भागेर विवाह गरेकी थिइन्।

घरकाले नपढाउने भनेपछि माइत बसेर पढ्ने योजनासहित तिहारमा आएकी मनीषा शुक्रवारको भूकम्पमा घाइते भएपछि उपचारका लागि उनलाई प्रदेश अस्पताल ल्याइयो।

‘हामी त घरमा थियौँ। भूकम्प आएपछि बाहिर निस्किएर बाँच्न सफल भयौँ। तर, छोरी रमिता हेरेर बाइकमा फर्किँदै गर्दा ढुङ्गा लागेर घाइते भइन्,’दुर्गाले भनिन्, ‘मेरो मुटुको टुक्रालाई बचाइदेऊ डाक्टर ।’

OOO

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ की ४० वर्षीय कमला परियारका छोराले नेपालगन्जबाट विवाह गरेर बुहारीलाई गाउँ ल्याउँदै थिए।

राति १० बजेसम्म पनि नआएपछि जतिबेला आइपुग्छन्, त्यतिबेला नै बुहारीलाई भित्र्याउने योजना बनाएर सुतेकी कमलालाई राति ११: ४७ मा आएको भूकम्पले घाइते बनायो।

तीन छोराछोरीसँगै घरमा सुतेकी उनी मस्त निन्द्रामा थिइन् । एक्कासि घर भत्कियो। उनका श्रीमान् र दुई छोरालाई सामान्य चोट लाग्यो। उनी बेहोस भइन्। उनको छातीमा चोट लागेको छ।

‘श्रीमान् अपाङ्ग छन्। एक छोरा र बुहारी भारतमा छन्। साइँलो छोराले नेपालगन्जबाट भगाएर केटी ल्याउँदै थियो। तर, घर पुगेको थिएन,’ कमलाले भनिन्, ‘पुगेपछि घर भित्र्याउँला भनेर दुई बुढाबुढी भान्सा कोठामा सुतेका थियौँ। भूकम्पले मलाई घाइते बनाएछ। यहाँ आएपछि मात्रै मेरो होस् खुल्यो।’

OOO

चौरजहारी नगरपालिका–१ का २३ वर्षीय नीरज विष्ट नगरपालिका अन्तर्गतको नगर प्रहरीका सिपाही हुन्। घरको आर्थिक अवस्था कमजोर भएकाले कालापहाड जाने उनी दुई वर्षदेखि नगर प्रहरीमा कार्यरत थिए।

शुक्रवार राति ड्युटी गरिरहेको बेला घर भत्किएपछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भए। उनको पनि प्रदेश अस्पतालको आइसीयु कक्षमा उपचार भइरहेको छ। नीरजको घरमा सात महिनाकी गर्भवती श्रीमती र तीन वर्षीय छोरी छिन्।

‘पहिला उहाँ कालापहाड जानुहुन्थ्यो। दुई वर्ष जति भयो नगर प्रहरीमा काम गर्न थालेको' नीरजका ससुरा देवबहादुर वलीले भने'त्यही पनि यो विपत्तिले यस्तो अवस्थामा ल्याइदियो। केही सुधार भएको छैन। बाहिर लानसक्ने आफ्नो स्थिति छैन।’

१८ कात्तिक, २०८०, १८:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।