किर्ते गरेर विद्यार्थी भर्ना गर्ने बुढानीलकण्ठ विद्यालयका प्रधानाध्यापकले राजीनामा दिए

किर्ते गरेर विद्यार्थी भर्ना गर्ने बुढानीलकण्ठ विद्यालयका प्रधानाध्यापकले राजीनामा दिए

काठमाडौँ : विद्यार्थी भर्नामा किर्ते गरेको प्रमाणित भएपछि बुढानीलकण्ठ विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्यले राजीनामा दिएका छन्। परीक्षामा सहभागी नै नभएको दुई विद्यार्थीलाई अर्काको नाममा भर्ना गरेको समाचार केही साता अगाडि उकेराले प्रकाशित गरेको थियो।

आचार्यले भर्ना परीक्षामा नाम निस्किएका दुई जना विद्यार्थीको सट्टा अर्कै विद्यार्थीलाई भर्ना गरेको आन्तरिक अनुसन्धानमा पुष्टि भए पनि पेलेरै विद्यालयमा बसेका थिए। विद्यार्थीको परिचय नै बदलेर किर्ते गरिएको घटनामा प्रधानाध्यापककै संलग्नताको पुष्टि हुँदा पनि शिक्षा मन्त्रालय मौन बसेको थियो।

उनको बदमासी सार्वजनिक भएपछि कार्तिक ४ गते देखि लागु हुने गरी उनले राजीनामा दिए। उनको राजीनामा स्वीकृत गरेर नयाँ प्रधानाध्यापकका लागि विज्ञापन समेत प्रकाशित भइसक्यो।

उनले बालबालिकाको कानुनी पहिचानै बदलेर भर्ना गरेको पुष्टि भइसकेको छ। यो सिधै सरकारी दस्तखत छाप किर्तेको आरोप आकर्षित हुने कसुर हो। तर उनीमाथि किर्तेमा अनुसन्धान हुन्छ या हुन्न? विद्यालय व्यवस्थापन समिति कारबाहीको प्रक्रियामा जाने/नजाने प्रस्ट भएको छैन। यसबारे समेत शिक्षा मन्त्रालयका अधिकारी मौन नै छन्।

कार्यवाहक प्रधानाध्यापक अत्तिराम केसीले आचार्यले प्रधानाध्यापकबाट राजीनामा दिएको र स्वीकृत समेत भइसकेको जानकारी दिँदै उनी विद्यालयको शिक्षक पदमा भने कायमै रहेको उकेरालाई जानकारी दिए।

'उहाँले दसैँ अगाडि नै कार्तिक चार गते देखि लागु हुने गरेर प्रधानाध्यापकबाट राजीनामा दिनु भएको हो। मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। तर, शिक्षक चैं अझै हुनुहुन्छ। सायद शिक्षकबाट पनि उहाँले राजीनामा दिनु हुन्छ होला,' कार्यवाहक प्रधानाध्यापक केसीले भने।

उनको राजीनामा स्वीकृत भएपछि बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ।

उपसमितिले प्रधानाध्यापकको लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको २१ दिनभित्र (२३ कात्तिकभित्र) दरखास्त दिन सक्ने जनाएको छ। स्कुलको विधान अनुसार सञ्चालक समितिको अध्यक्षमा शिक्षा मन्त्रालयको सचिव हुने नियम छ।

विद्यालयका प्रधानाध्यापक नै गम्भीर घटनामा संलग्न देखिएपछि त्यसबारे निर्णय गर्न पटक पटक व्यवस्थापन समितिको बैठक बसेको थियो। तर, बैठकले केही निर्णय गर्न सकेको थिएन।

१२ कात्तिक, २०८०, १८:४३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।