राष्ट्रसंघको महासभामा ‘मानवीय सहायतका लागि गाजामा युद्धविराम’ प्रस्तावको पक्षमा नेपालको मतदान

राष्ट्रसंघको महासभामा ‘मानवीय सहायतका लागि गाजामा युद्धविराम’ प्रस्तावको पक्षमा नेपालको मतदान

एजेन्सी : राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष सत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको ‘मानवीय सहायताका लागि गाजामा युद्धविराम’को प्रस्तावलाई बहुमतले पारित गरेको छ।

एक सय २० देशहरू उक्त प्रस्तावको पक्षमा उभिए पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिए।

इजरायलको बलियो साझेदार अमेरिकाले उक्त प्रस्तावको विपक्षमा मतदान गर्यो भने मुख्य युरोपेली देशहरू कोही मतदान प्रक्रियामा सहभागी भएनन् वा पक्षमा मतदान गरे।

नेपालले प्रस्तावको पक्षमा मतदान गरेको छ। भारत मतदान प्रक्रियामा सहभागी भएन भने चीनले प्रस्तावको पक्षमा मतदान गरेको छ। यूके मतदान प्रक्रियामा सहभागी भएन।

उक्त प्रस्तावको विपक्षमा १४ देश देखिए भने मतदान प्रक्रियामा ४५ देशहरू सहभागी भएनन्। महासभाको प्रस्ताव कानूनी रूपमा बाध्यकारी कदम नभए पनि नैतिक हिसाबले साङ्केतिक रूपमा त्यसलाई अर्थपूर्ण मानिन्छ।

राष्ट्रसङ्घका लागि इजरायलका प्रतिनिधिले उक्त प्रस्तावका शब्दहरूलाई ‘एक कलङ्क’ बताउँदै राष्ट्रसङ्घसामू ‘वैधता र सान्दर्भिकताको एक अंश समेत बाँकी नरहेको’ टिप्पणी गरेका थिए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजामा युद्धविरामको आह्वान दोहोर्याउँदै जारी घटनाक्रमलाई निर्णायक क्षण बताएका छन्।

सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै उनले ‘इतिहासले हामी सबैको हेक्का राख्नेछ’ भनेका छन्।

अक्टोबर ७ मा हमासले गरेको हमलामा १,४०० मानिसहरू मारिएका थिए। उनीहरूले २२९ जनालाई अपहरण गरेर बन्धक बनाएका छन्।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले त्यहाँ पछिल्लो जवाफी हमला सुरु गरेयता सात हजार मानिसहरू मारिएका छन्।

कात्तिक ११, २०८० शनिबार १४:०१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।