एनआरएनए विवाद : आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

एनआरएनए विवाद : आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

काठमाडौं : आरके शर्माले नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ।

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो।

सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरू आधिकारिक रहेको दावी गरेको हो। निवेदन परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ।

आधिकारिकताको दावी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ।

निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरू दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए।

सुरूमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले सपथ लिएको भन्दै ललितपुरको एक होटलमा बन्द सत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो।

आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ।

परराष्ट्रमा निवदेन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबारमात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए।

११ कात्तिक, २०८०, १०:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।