खाँडादेवी गाउँपालिकामा सुत्केरी भेट्न पोसिलो खानेकुरा बोकेर घरमै पुग्छिन् उपाध्यक्ष, स्वास्थ्य परिक्षण नि:शुल्क

खाँडादेवी गाउँपालिकामा सुत्केरी भेट्न पोसिलो खानेकुरा बोकेर घरमै पुग्छिन् उपाध्यक्ष, स्वास्थ्य परिक्षण नि:शुल्क

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरेदेखि सुत्केरी र बच्चाको घरमा नै स्वास्थ्य परीक्षण गराउने सुविधा दिएको छ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार गाउँपालिका भित्रका गर्भवती महिलालाई विभिन्न स्वास्थ्य सेवा प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको हो।

गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउन स्थानीय सरकारले प्रोत्साहित गर्न सुत्केरीपछि आमा र बच्चाको दुई पटकसम्म स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरेको श्रेष्ठले बताए।

‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने मात्र होइन, सुत्केरी भएर घर फर्किएपछि पनि तीन दिन र सात दिनकी सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी सुत्केरीको घरमै पुग्छन्। त्यो पनि निःशुल्क। आवश्यक परे औषधी समेत दिन्छन्' उनले भने।

सुरक्षित रूपमा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवादेखि घरमै सुरक्षित सुत्केरी भएको अवस्थामा समेत गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरमै पठाएर आवश्यक स्वास्थ्य परीक्षण गर्ने गरेको श्रेष्ठले जानकारी दिए।

उनले कुनै महिला स्वास्थ्य संस्थामा नआई घरमा नै सुत्केरी भएको जानकारी आएमा स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, तीन दिनदेखि सात दिनको बिचमा र सात दिनदेखि १४ दिनको बिचमा घरमा नै पुगेर बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था हेरेर परामर्श दिने गरेका छन्।

गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरित गर्न सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम समेत सञ्चालन गरेको छ।

कार्यक्रम अन्तर्गत सुत्केरी भेट गर्न गाउँपालिका उपाध्यक्ष कोसेली सहित सुत्केरी महिलालाई भेट्न जाने गरेकी छिन्। बच्चाले लगाउने लुगा तथा आमाको लागि घ्यु, अण्डा लगायत पोसिलो खानेकुरा लिएर उपाध्यक्ष सुत्केरी  भेट्न जाने गरेको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन्।

‘यसरी भेट्न जाँदा सुत्केरी महिलाले छुट्टै अनुभूति गर्छन्, आफूलाई पनि आनन्द आउँछ’, उनले भनिन्।

गाउँपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स–रे सेवा समेत सञ्चालन गरेको छ।

९ कात्तिक, २०८०, १९:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।