प्रकाशकीय : अनियमितता र विसंगतिमाथि प्रहार सधैँ प्राथमिकतामा

प्रकाशकीय : अनियमितता र विसंगतिमाथि प्रहार सधैँ प्राथमिकतामा

सत्यको बाटो कठिन हुन्छ। त्यही कठिन यात्रा हिँड्दै आजबाट हामी तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेका छौँ। तेस्रो वर्षको यात्रा हाम्रा लागि मात्रै होइन, नेपाली पत्रकारिताकै लागि उल्लेखनीय र गर्व गर्न लायक उपलब्धिका साथ बित्यो।

उकेराले उठाएका महत्वपूर्ण विषयहरू अदालतबाट प्रमाणित भए, कुनै कारबाहीको प्रक्रियामा पुग्यो। यो हाम्रा लागि खुशीको विषय हुने नै भयो।

राज्यको कमजोरीमा खेल्न माहिर व्यक्तिले कतिसम्म गर्नसक्छन् भन्ने उदाहरण बन्यो राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घटना।

प्रमाणसहित सत्यको पक्षमा निरन्तर कलम चलाउँदाका चुनौती कतिसम्म बढिसकेको छ भन्ने अर्को उदाहरण पनि यही घटना भयो नै। सँगै ‘सत्यको सधैँ जित हुन्छ’ भन्ने स्थापित गर्ने घटना पनि यही भयो।

जसको नागरिकता अनि राहदानीबारे उकेराले निरन्तर कलम चलायो त्यही प्रमाणित गर्यो सर्वोच्च अदालतले। यति मात्रै होइन, जो गृहमन्त्री भइसकेर पनि गैर नागरिक भए उनै रविले उकेराको प्रशंसा गर्दै भने, ‘लेख्ने भए उकेरा जसरी प्रमाणसहित लेख्नु नि!’

पक्कै निष्क्रिय नागरिकता प्रकरणले हामीलाई थप सचेत र जिम्मेवार बनाएको छ।

तेस्रो वर्षकै दौरानमा अदालतबाट कैद सजाय तोकिएर फरारै रहेका व्यक्ति सांसद बन्दै प्रतिनिधि सभामा रहेको विषय उकेराले नै पहिलो पटक सार्वजनिक गर्यो।

सांसद अरुण कुमार चौधरी अदालतबाट कैद तोकिएका तर पक्राउ नपरेका दोषी रहेको समाचार उकेराले प्रमाणसहित प्रकाशित गरेपछि उनी पक्राउ परेर जेल चलान भए।

रेकर्ड होल्डर आरोही निर्मल पुर्जाको बदमासीबारे उत्खनन शुरू गर्दा अदालतसम्म मुद्दा पुग्यो।

सहकारीमा रहेको साना बचतकर्ताहरूको रकम अपचलन गरे पनि सञ्चारमाध्यमको आडमा जोगिएर बसेका जीवी राई समूहको पोल उकेराले खोलेको थियो।

अहिले राईसहित १७ जना अदालतबाट फरार घोषित भएका छन्, एकजना कारागार पुगेका छन्।

चौथो वर्षको यात्रामा हामी रोजेको हैन, खोजेको यस्तै सामग्रीहरू प्रकाशित गर्न थप सक्रिय हुनेछौँ।

स्वास्थ्य क्षेत्रका अनियमितताको उजागर सधैँ उकेराको प्राथमिकतामा रह्यो र रहनेछ। कला क्षेत्रका विसगङ्तिलाई उजागर गर्नु हाम्रो लक्ष्य हो। त्यसमा हाम्रो निरन्तर नजर रहने छ नै।

छोटो समयमा पाठकहरूको मनमा उकेराले बास पाउनुको कारण हामीले रोजेको हैन, पाठकले खोजेको सामग्री प्रकाशित गर्नसक्नु नै हो। चौथो वर्षको यात्रामा यसलाई थप परिस्कृत बनाउने नै छौँ।

प्रारम्भदेखि नै हामी समाचारको संख्यामा केन्द्रित भएनौँ। हाम्रो प्राथमिकता घटना प्रधान सामग्री पनि रहेन। अपडेट समाचार उकेराको प्राथमिकताको पक्ष हैन। अनुसन्धानमुलक, तथ्यपरक र गहिरो अनुसन्धान गरिएका विषयहरू नै हाम्रा प्राथमिकताका पक्ष हुन्।

स्थापनाकालबाटै शुरू भएको ‘सात दिन, सात कोलम’लाई तेस्रो वर्षसम्म पनि हामीले निरन्तरता दिन सफल भयौँ। प्रसव पीडा र खुसी, भुईँ मान्छे, चौथो अंग, ब्याच नम्बर ६९, हिजोको कुरा अनि डाक्टरको सुख-दु:ख, यी सबै कोलमले सय अंक पार गरिसकेका छन्। आवश्यकता अनुसार परिमार्जनसहित यसलाई आगामी यात्रामा पनि निरन्तरता दिने नै छौँ।

तेस्रो वर्षको यात्रामा यौनिक अल्पसंख्यक समुदाय केन्द्रित सामग्री नियमित प्रकाशन र प्रशारण गर्न ‘मध्यमधार’ कोलम शुरू गर्यौँ।

महिला, दलित, जनजाति अनि अल्पसंख्यक समुदायबारे कुनै सामग्री प्रकाशित भयो कि ‘डलरे सामग्री’ को नजरले हेर्ने गलत प्रवृत्ति हराइसकेको छैन। ‘मध्यमबार’बारे पनि यस्तै जिज्ञासा आइरहेकै छन्। हाम्रा लागि ‘डलर’ हैन, विषय प्रधान हो। 

सञ्चारमाध्यम सञ्चालनमा पाठकहरूको नैतिक साथ आवश्यक पर्छ नै। सँगै सञ्चालन खर्चका लागि कर्पोरेट क्षेत्रमा मात्र निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्न आर्थिक साथ पनि आवश्यक हुन्छ नै।

प्रिन्ट मिडियाको ग्राहक बनेर हिजोका दिनमा पाठकहरूले मिडिया सञ्चालनमा आर्थिक रूपमा समेत सहभागी भएका थिए नै। डिजिटल मिडियाको हकमा समेत यसको अभ्यास गरेमा पाठकहरूबाट साथ पाइने विश्वासका साथ उकेराले चौथो वर्षको यात्रामा प्रिमियम मोडललाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

चौथो वर्ष प्रवेशको संघारमा प्रकाशित उकेेरा म्यागजिनललाई आगामि यात्रामा निरन्तरता दिने छौँ।

मिडियाको सम्पत्ति नै तथ्य परक सामग्री, पाठकको विश्वास, शुभेच्छा र रचनात्मक सुझाव नै हो। यो मानेमा उकेरा परिवार भाग्यशाली नै छ।

चुुनौतीपूर्ण अर्थतन्त्रमा पनि साथ दिने विज्ञापनदाताप्रति हामी आभारी छौँ। आगामी यात्रामा पनि 'ठोक्ने कि बोक्ने' विकृति चिर्न उत्साहजनक सहकार्य हुनेमा विश्वस्त छौँ।

तेस्रो वर्षको यात्रामा देखिएका कमजोरी सुधार गर्दै चौथो वर्षको यात्रामा थप परिस्कृत सामग्री प्रकाशन/प्रशारण गर्ने वाचा गर्दछौँ।

अन्तमा, उकेराका पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैलाई दशैंको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

शुभ होस्, मंगल होस्।

अध्यक्ष
सुरेश ढकाल
पाथसिड नेपाल प्रालि

४ कात्तिक, २०८०, ११:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।