कर्णालीका मुख्यमन्त्रीलाई बालबालिकाको चिठी, भौतिक संरचनादेखि शिक्षक अपुगसम्मका गुनासा

कर्णालीका मुख्यमन्त्रीलाई बालबालिकाको चिठी, भौतिक संरचनादेखि शिक्षक अपुगसम्मका गुनासा

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लाका बालबालिकाले मुख्यमन्त्री राजकुमार शर्मालाई चिठी दिएका छन्।

सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूहले १० जिल्लाका ५८ स्थानीय तहबाट ३१२ वटा चिठी मुख्यमन्त्रीलाई आएका थिए। चिठी संकलनका लागि शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समन्वय समितिले १० जिल्लामा १० जना शिक्षा पत्रकार समुहमा आवद्ध पत्रकारलाई छनोट गरेको थियो।

सुर्खेतबाट ३८, दैलेखबाट ३५, जाजरकोटबाट ३२, सल्यानबाट २८, रुकुमपश्चिमबाट ३५, हुम्लाबाट २६, जुम्लाबाट २८, मुगुबाट ३२, डोल्पाबाट २४ र कालिकोटबाट ३४ जना बालबालिकाले मुख्यमन्त्री राजकुमार शर्मालाई सम्बोधन गरेर आफ्नो विद्यालयका समस्या र आफूले भोगेका कष्टहरू समेटेर चिठी पठाएका थिए।

ती सबै चिठीहरूलाई विश्लेषण गरेर ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठी’ नामक पुस्तक प्रकाशित गरिएको शिक्षा पत्रकार समूह समन्वय समिति कर्णाली प्रदेशका संयोजक कलेन्द्र सेजुवालले बताए।

मुख्यमन्त्रीलाई चिठी लेख्नेमध्ये अधिकांश बालबालिकाले आफू अध्ययनरत विद्यालयको भौतिक संरचना उपयुक्त नभएको गुनासो गरेका छन्। भवन जीर्ण भएको, चौरमा बसेर पढ्नुपर्ने बाध्यता रहेको, खेल मैदान नभएको, खानेपानी र शौचालयको प्रबन्ध नभएको लगायत समस्याहरू उनीहरूले चिठीमा समेटेका छन्। कुल ३१२ मध्ये २७४ चिठीमा यो समस्या छुटेको छैन।

केही बालबालिकाले विद्यालय संरचना निर्माणको क्रममा मिलेमतोमा उपभोक्ता समिति गठन गरी गुणस्तरहीन काम गरिएको पनि चिठीमा उल्लेख गरेका छन्।

‘बालबालिकाले उजागर गरेका समस्याहरुले कर्णालीको शिक्षाको स्तर कमजोर हुनुको कारण किटान गरेका छन्,’ संयोजक सेजुवालले भने, ‘सरकारले १० वटै जिल्लाहरुका बालबालिकाहरूले पठाएका प्रतिनिधिमूलक चिठीलाई अध्ययन गरी उनीहरूका समस्या र समस्याको समाधानको लागि आवश्यक नीति तथा योजना बनाई कम्तीमा पनि शिक्षामा २० प्रतिशत बजेट विनियोजन गरी कार्यान्वयन गर्नेछ भन्ने हाम्रो विश्वास छ।’

छात्राहरूले विद्यालयमा छात्रामैत्री शौचालय नभएको, सेनिटरी प्याडको व्यवस्था नभएको, छाउपडी प्रथाको कारण बालिका र महिलाले भोग्नु परेका समस्या, हिमाली तथा पहाडी जिल्लामा शिक्षक अभाव र समयमै पाठ्यपुस्तक नपुग्ने समस्या, दरबन्दीअनुसार शिक्षक नभएको, विषयगत र तालिमप्राप्त शिक्षक नरहेको जस्ता समस्या मुख्यमन्त्रीलाई चिठीमार्फत जानकारी गराएका छन्।

बालबालिकाले विषेषगरी ७ किसिमका समस्या मुख्यमन्त्रीलाई चिठीमार्फत जानकारी गराएका छन्। विद्यालय भवन, कक्षाकोठा, खेल मैदान, शौचालय राम्रो नभएको, बाल तथा अपाङ्गतामैत्री वातावरण नभएको उल्लेख गरेका छन्।

विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेको, पढाइको, कोर्ष पूरा हुन नसकेको, विषयगत शिक्षकहरू नभएकाजस्ता समस्या पनि चिठीमा उल्लेख छन्। विशेषगरी साविक कर्णाली अञ्चलका जिल्लामा पाठ्यपुस्तक नपुगेको, कोर्ष पूरा नभएरै परीक्षा दिनुपरेको जस्ता समस्या देखिएका छन्। उक्त क्षेत्रका कतिपय बालबालिकाले विद्यालयको दुरी टाढा रहेको पनि बताएका छन्।

यसका साथै बालबालिकाले मुख्यमन्त्रीलाई प्रदेशको समृद्धि र विकासका लागि शिक्षामा प्राथमिकता दिन आग्रह गरेका छन्। उनीहरूले कर्णालीको समृद्धिको संभावनाको क्षेत्र औंल्याउँदै मुख्यमन्त्रीलाई सुझाव दिएका छन्।

८८ वटा चिठीमा दरबन्दीअनुसार शिक्षक नभएको, विषयगत र तालिमप्राप्त शिक्षक नरहेकोजस्ता समस्या लेखिएका छन्। हुम्लाको मानसरोवर नमूना माविमा कक्षा ९ मा अध्ययनरत एक बालकले भनेको बेला पाठ्यपुस्तक नपाउँदा अध्ययनमा समस्या भएको बताएका छन्।

हाल कर्णालीमा २ हजार ९३१ विद्यालय रहेका छन्, जहाँ १७ हजार ३८४ शिक्षकको दरबन्दी आवश्यक पर्दछ। तर हाल ५ हजार ५४९ शिक्षक दरबन्दी अपुग छन्। जसको प्रभाव बालबालिकाको पत्र पनि हो जहाँ २८.२ प्रतिशत विद्यार्थीले शिक्षक अभावको समस्या देखाएका छन्।

मुख्यमन्त्रीलाई चिठी पठाउनेमध्ये १३४ जना छात्रा र १८ जना अपाङ्गता भएका बालबालिका रहेका छन्। उनीहरूमध्ये प्रायः सबैले आफूले भोग्दै आएको समस्या मुख्यमन्त्रीलाई सुनाएका छन्। चिठी पठाउने १८ जना बालबालिकाका साथै अन्य २० जना बालबालिकाले अपाङ्गमैत्री भौतिक संरचना नभएको गुनासो गरेका छन्।

बालबालिकाले दिवाखाजा नपाएको मात्र होइन, न्यून मात्रामा दिइने खाजा गुणस्तरहीन भएकोसमेत चिठीमा उल्लेख गरेका छन्। मुख्यमन्त्रीलाई चिठी पठाउनेमध्ये २८ जना बालबालिकाले दिवाखाजाको रकम हिनामिना गरिएको उल्लेख गरेका छन्।

त्यसैगरी छात्रवृत्ति रकम नपाएको गुनासो पनि बालबालिकाले गरेका छन्। थुप्रै अभाव र कठिनाइका बीच बालवालिकाले सूचना प्रविधिमैत्री शिक्षामा उल्लेखनीय रूपमा चासो दिएका छन्। समयमै पाठ्यपुस्तक नपुगिरहेको बेला पनि बालबालिकाले सूचना प्रविधियुक्त शिक्षामा जोड दिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन्।

चिठी पठाउनेमध्ये २८ जनाले मुख्यमन्त्रीलाई विद्यालयमा दूतगतिको इन्टरनेट विस्तार गर्न माग गरेका छन्। त्यसैगरी कम्प्युटर ल्याब बनाउन समेत माग गरेका छन्।

बालबालिकाले यी बाहेक बालअधिकार र शिक्षाको अधिकारसँग सम्बन्धित अन्य सरोकार पनि चिठीमात्र मुख्यमन्त्रीलाई सुनाएका छन्।

बालविवाह, छाउपडी प्रथा, महिलामाथि हुने हिंसाजस्ता सामाजिक विसंगतिको विषयमा बालबालिकाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्। यी सरोकारमा विशेषतः बालिकाहरूको बढी चासो देखिएको छ । उनीहरूले कर्णालीको समृद्धिको लागि संभावना औंल्याउँदै सुझाव पनि दिएका छन्।

न्यून बजेटका कारण शिक्षामा प्रगति भएन : मुख्यमन्त्री
मुख्यमन्त्री राजकुमार शर्माले ठूलो भूगोल, भौगोलिक विकटता र न्यून बजेटका कारण कर्णालीको शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन नसकेको बताए।

आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरूलाई परिवर्तन गर्नेगरी शिक्षा सुधारमा प्रदेश सरकार अग्रसर भइरहेको जनाए।

‘शिक्षा सुधार गर्न बाल शिक्षालाई सुधार गर्नुपर्ने देखिन्छ। शिक्षाको आधार बालशिक्षा हो। जग बलियो भएमात्र घर बलियो हुन्छ,’ बालबालिकाको चिठी बुझ्दै उनले भने, ‘बालबालिकाले यस चिठीमा उल्लेख गरेका मुद्दा जायज छन्। त्यसको समाधान गर्नेतर्फ सरकारको ध्यानाकर्षण भएको छ।’

उनले स्थानीय तहलाई शिक्षाको जिम्मेवारी रहेको भएपनि तीनै तहका सरकारले आधारभूत र बाल शिक्षा सुधार गर्न आपसी सहकार्य गरेर मात्र शैक्षिक नतिजा सुधार गर्न सकिने बताए।

३ कात्तिक, २०८०, ११:४२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।