अब ‘घरकी मालिक्नी’को मौखिक आश्वासन हैन, लिखित दस्तावेज चाहिन्छ

अब ‘घरकी मालिक्नी’को मौखिक आश्वासन हैन, लिखित दस्तावेज चाहिन्छ

चुलाचौकोको दैनिकी, मेलापात अनि श्रीमान्को सेवा। त्यसमा थप ,बालबच्चाको पालनपोषणको जिम्मेवारी।

मेरी हजुरआमाको दैनिकी यही थियो। त्यो भन्दा बाहिर पनि संसार हुन्छ भन्ने उनलाई थाहै भएन। उज्यालो-अँध्यारो, साँघुरो-फराकिलो रङ्गिन या सादा, उनका लागि यहि एउटा घर र घर भित्रको परिवार। उनका लागि त्यही संसार।

हजुराआमा एकातर्फ घरकी ‘सम्राज्ञी’ थिइन् भने अर्कोतर्फ ‘लोग्नेको दासी’। विश्वप्रसिद्ध लेखक बलज्याकले भनेजस्तै तत्कालीन पितृसत्ताले महिलाको अवस्था त्यसरी निर्धारण गरेको थियो कि ऊ सधै पराधीन बनिरहोस्। चुलोचौकोकी सम्राज्ञी त बनोस् तर लोग्नेको दासी भएर।

उनका शब्दमा ‘विवाहिता महिला त्यस्तो ‘दास’ हो जसलाई सिंहासनमा राख्न सकियोस् किनकी ऊ गृहस्वामिनी हो।’ हो, मेरी हजुरआमा पनि चुलोचौकोकी सम्राज्ञी थिइन्, घर अनि भातभान्साकी एकलौटी मालिक।

आजको मेरो पुस्ता आमा-हजुरआमा जस्तै घरको पर्खालभित्र थुनिएर बन्दी जीवनमा रमाउन बाध्य छैन। लैङ्गिक स्वतन्त्रतामा यो ठूलै परिवर्तन हो।

तर, त्यस्ती मालिक जसले घर चलाउने अन्नपानीको निम्ति सधै लोग्नेको आसमा रहनुपर्थ्यो। ठ्याक्कै यही परिवेश मेरी हजुरआमा पुस्ता बाँचिरहेको परिवेश हो। आजको समाजमा पनि यदाकदा यसका बाछिटाहरू हराइसकेका छैनन्।

तत्कालीन समयमा निदाउनुअघि लोग्नेको खुट्टामा तेल मोल्नु र उठेपछि पूजा गरेर खुट्टाको जलपान गर्नुलाई संस्कार अर्थात् पत्नीको अनिवार्य धर्म र गुण मानियो।

किनकी पितृसत्तात्मक परम्पराले ‘पति नै परमेश्वर हो’ भन्ने मान्यता यसरी स्थापित गरेको थियो कि यसो गर्दा महिलाहरू स्वयंलाई एकप्रकारको सुखानुभुति हुने र आफूलाई अत्यन्तै सौभाग्यशाली महसुस गर्थे।

उनीहरू कामना गर्थे कि ‘आजीवन सुहागन रहेर श्रीमान्को यसरी नै सेवा गर्न पाऊँ’। भौतिक रूपमा सती प्रथाको अन्त्य भै सकेको भए पनि पतिको मृत्युसँगै पत्नीका सारा रङ्ग अनि इच्छा आकांक्षा भने अहिले पनि अपवादबाहेक पतिको मृत शरीरसँगै सती जान्छन्। महिला भौतिक रूपमा बाचेकी त हुन्थिन्, तर इच्छा र रहरहरू सती पठाएर।

हिँड्न सुरू गरेपछि मात्रै थाहा हुन्छ ‘हाम्रा खुट्टाहरू बाँधिएका छन्।’ दासत्वको बोध हुन दासत्वलाई पहिचान गर्ने चेतना हुनुपर्छ, नभए दासतामा पनि भक्ति र प्रेम भाव झल्कन्छ, मेरो हजुरआमाको कालमा झैँ।

मेरी आमाको अवस्था तुलनात्मक रूपमा ठ्याक्कै त्यस्तै थिएन। छोरालाई सम्पत्ति बेचेरै पनि पढाउने तर छोरीलाई स्कुलबाट टाढा राखेर घरको काममा लगाउने सामाजिक अवस्था रहँदा-रहँदै पनि अपवादको रूपमा उच्च शिक्षा हासिल गर्न पाएकी मेरी आमा पेशाले शिक्षिका थिइन्।

हजुरआमा घरको चारघेरा भित्र लोग्ने र सन्तानकी सेवक भएर आजीवन कैद थिइन्। बुहारीलाई भने घर बाहिर श्रम गर्न पाउने अवसर प्राप्त भयो।

विना पारिश्रमिक घरधन्दाको कष्टकर काममा खटिएर जिन्दगी गुजारिरहेको सामाजिक परिवेशमा एक विवाहिता महिला निर्धक्क घरबाट निस्किएर जागिरे जिन्दगीमा प्रवेश गर्नु, अर्थोपार्जनमा जोडिने अवसर पाउनु र समाजमा त्यो अवस्था मान्य हुनु परिवर्तनकारी पुस्तान्तरणको लय थियो।

त्यो परिवर्तनको सुरूवात थियो। शिक्षामा महिलाहरूको पहुँचसँगै अर्थमा महिलाको सङ्लग्नता दर्शनु थियो। केही परम्परागत मान्यताहरू भत्किने कम्पन थियो त्यो।

यद्यपि बाहिरी कामकाजी महिलाहरूको पनि आफ्नै संघर्ष, बाधा अनि अवरोधहरू त पक्कै थिए।

तर, आज समाज त्यहाँ छैन। मेरी हजुरआमा र आमा पुस्ताको तुलनामा आजको मेरो पुस्ता परिवर्तनको ठूलो खुट्किलो चढिसकेको छ।

शिक्षा, स्वास्थ्य, संस्कृति, राजनीति र अर्थ व्यवस्था सबैतिर आजका महिलाहरूको धेरैथोरै पहुँच बढ्दै गएको छ। सामन्ती समाजको अवशेषको रूपमा मेरा हिडाइ, बोलाइ र शैलीहरूमा सामाजिक र पारिवारिक नियन्त्रणका अंश देखिन्छन्। तर, ती नियम मान्न म बाध्य छैन।

आजको मेरो पुस्ता आमा-हजुरआमा जस्तै घरको पर्खालभित्र थुनिएर बन्दी जीवनमा रमाउन बाध्य छैन। लैङ्गिक स्वतन्त्रतामा यो ठूलै परिवर्तन हो।

हिजोको समय दासत्व, शोषण र दमनको समय थियो। आज दासता, शोषण र दमन विरुद्ध प्रतिरोधको समय हो। आजको दशक महिलाहरूले आफ्नो स्वायत्तता, आत्मनिर्भरता र आफ्नो अधिकारको लडाइँ आफैँ लड्न प्रयत्न गरिरहेको संघर्षशील समय हो।

महिलालाई दोश्रो दर्जामा सीमित गर्ने खोज्ने सामाजिक व्यवस्था विरुद्ध राज्यका निकायहरूमा हस्तक्षेपकारी भूमिकामा महिलाहरू उभिइरहेको समय हो। 

एक समाजवादी महिला नेतृ रोजा लग्जेम्बर्गले भनेकी छन्, ‘जबसम्म हामीले हिड्ने प्रयत्न गर्दैनौँ, तबसम्म हाम्रा खुट्टाहरूमा जकडिएका जन्जिरहरू महसुस गर्दैनौँ।’

हिँड्न सुरू गरेपछि मात्रै थाहा हुन्छ ‘हाम्रा खुट्टाहरू बाँधिएका छन्।’ दासत्वको बोध हुन दासत्वलाई पहिचान गर्ने चेतना हुनुपर्छ, नभए दासतामा पनि भक्ति र प्रेम भाव झल्कन्छ, मेरो हजुरआमाको कालमा झैँ।

हिजो हिड्नै परेको थिएन। त्यसैले खुट्टा बाँधिएको अनुभव पनि भएन। दासत्वको चेतना थिएन। दास हौँ भन्ने हिनताबोध पनि थिएन। तर, आज हिँड्नु पनि छ। दासत्वबोध पनि छ र सँगै साँङ्लो चुडालेर हिँड्ने र दासत्वबाट मुक्ति खोज्ने चुनौती पनि छ।

हजुरआमा र आमाको समयसँग आजको समयको तुलना गर्दा हामी अधिकार सम्पन्न झैँ देखिन सक्छौँ। केही हदसम्म हो पनि। तर यो दृश्य पूर्ण हैन। हिजो सहजै देखिने अनि अनुभव गर्न सकिने साङ्लाहरू थिए। दासत्वको स्वरूप आकारसहितको थियो। आज अदृश्य साङ्लाहरू छन्।

हिंसा र दासत्वको आयामहरू बदलिएका छन्। उत्पीडन, विभेद चर्को छ। बदलिएको आकार मात्रै हो। अवस्था हैन।

समाजको बललिँदो प्रकृति र शोषणको प्रकार
सामन्तवाद महिला स्वायत्तता र स्वतन्त्रतालाई संकुचित गर्ने एक पुरातन व्यवस्था थियो। जसले महिलाको पोसाक, चालढालदेखि लिएर उसको निजत्वलाई समेत आफ्नो कब्जामा पारेको थियो।

धर्म, संस्कार र संस्कृतिको माध्यमबाट स्त्रीद्वेषी मूल्य मान्यता निर्माण गरेर शोषणलाई सर्वमान्य र स्वीकार्य बनाइएको थियो।

आजको नेपाली समाज सामन्तवादबाट पुँजीवादतर्फ संक्रमित भइराखेको समाज हो। सामान्तवादको तुलनामा पुँजीवाद केही प्रगतिशील र उदार व्यवस्था अवश्य हो। यहि पुँजीवादी व्यवस्थाले नै अन्तर्राष्ट्रिय स्तरमा महिलालाई विनाश्रमको घरेलु कामबाट निकालेर बाहिरी कारखानाको श्रमिक बनायो।

हिजो हजुरबा निर्णायक, हजुरबा नभएको अवस्थामा हजुरआमा सहायक। अधिकांश मेयर पुरुष हुनु अनि अधिकांश उपमेयर महिला हुनु उही हजुरबा र हजुरआमाको पालाकै निरन्तरता हैन?

श्रमिक त बनायो तर एकै श्रम गर्दा पनि लिङ्गको आधारमा विभेद गर्यो। एकै श्रम गर्दा पुरुष भएकै आधारमा बढी पारिश्रमिक अनि महिला भएकै आधारमा कम पारिश्रमिक दिने नयाँ विभेदको जन्म भयो। श्रमको मूल्यमा लैंगिकता जोडियो।

हिजोको सामन्ती समाजले महिलालाई घरभित्र थुनेर बन्दी जीवन बाच्न बाध्य बनाएको थियो। आजको पुँजीवादले स्वतन्त्रताको अति उदार नमुना देखाएर बजारमा वस्तुकरण गर्यो। हिजो महिलाको सोच्न सक्ने चेतनालाई महिला धर्म, महिला संस्कार भनेर निष्क्रिय पारियो। आजको पुँजीवादले सास फेर्न केही खुल्ला ठाउँ त दिएको छ तर तोकेर।

महिलाको बजारीकरण बढ्दो छ। महिला सक्षम हैन कामुक वस्तुको रूपमा प्रस्तुत गर्ने होडबाजी चलेको छ। दासताको स्वरूप बदलिएको छ। हिजो आँगनमा हुने यौन दुर्व्यवहारको शैली अहिले कार्यकक्षमा पुगेको छ। हिजो यौन शोषण र दुव्र्यवहार अलि साँघुरो घेरामा थियो, अहिले यसको आकार फैलिएको छ।

जब्बर पितृसत्ता, कठिन संघर्षको बाटो
दासता उन्मुलको बाटो आर्थिक हो या चेतना? पक्कै चेतना। ममाथि भएको व्यवहार दुर्व्यवहार हो भन्ने पहिचान आर्थिक सबलताले मात्र सिकाउँदैन। त्यसका लागि चेतना नै आवश्यक पर्छ।

समाजमा ठूला भौतिक परिवर्तन भए। केही सांस्कृतिक र राजनीतिक परिवर्तनहरू पनि भए। शिक्षा र स्वास्थदेखि राजनिती हुँदै सत्तामा समेत महिलाको उपस्थिति बढ्यो।

तर, सबैतिर जब्बर बनेर बसेको पितृसत्तात्मक मनोवृत्तिले अझै अवरोध गरिरहेकै छ। आफू पुरुष भएकै आधारमा योग्य भएको अहम् शिक्षितदेखि बौद्धिकसम्मै जब्बर देखिन्छ अझै।

त्यसैको परिणाम हो सत्तामा महिला स्वीकार गर्ने तर शक्ति हस्तान्तरण नगर्ने। सभामुख पुरुषै हुनुपर्ने। उप-सभामुख महिलाको आरक्षण कोटा जस्तै। अर्थात् महिला सत्ताको भागेदारीमा निर्णायक शक्तिको रूपमा अझै स्वीकार गरिएन। महिलालाई पुरुषको सहायकमै थन्काउने प्रयास गरियो।

हिजो हजुरबा निर्णायक, हजुरबा नभएको अवस्थामा हजुरआमा सहायक। अधिकांश मेयर पुरुष हुनु अनि अधिकांश उपमेयर महिला हुनु उही हजुरबा र हजुरआमाको पालाकै निरन्तरता हैन? त्यो बेला हजुरबाको अनुपस्थितिमा घरको निर्णय हजुरआमाले गर्थिन्। अहिले मेयरको उपस्थितिमा उपमेयरले गर्छन्। पदको नाम बदलियो तर भूमिका त बदलिएन। त्यो बेला पनि दोस्रो दर्जा अनि अहिले पनि।

अहिलेको पुस्ताले खोजेको समानता मौखिक हैन नीतिगत हो। अबको पुस्ताले खोजेको समानता संख्यात्मक उपस्थिति हैन, निर्णायक अधिकारसहितको उपस्थिति हो।

हिजो पनि महिलाको निर्णय गर्ने क्षमतामा शंका गरेर सहयोगी बनाइयो। अहिले पनि त्यही बनाइँदैछ। निर्णायक तहमा महिला किन पुगेनन् भन्ने प्रश्नको उत्तरको खोजीमा।

राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिला भए। तर, त्यसले महिलालाई समाजमा दोस्रो दर्जाबाट पहिलो दर्जामा ल्याउन के भयो? पितृसत्ताका हिमायतीहरूले केवल प्रश्नको जवाफ मात्रै पाए, ‘राष्ट्रपति अनि प्रधानन्यायाधीश महिला भएको हैन र ?’ भन्न।

प्रतिनिधि सभामा महिला सांसदहरूको उपस्थिति बलियो हुनसक्छ यदि एकीकृत हुनसक्ने हो भने। तर, त्यही सदनमा आमाको नाममा सन्तानलाई नागरिकता दिन नसक्ने कानून पास हुँदा त्यहीँ रहेका महिला साक्षी बसिदिन्छन्। महिलाको आकार लिएर बसेका छन् तर पितृसत्तालाई मलजल गरिरहेका छन्।

आन्दोलनबाट बेखबर महिला
लैङ्गिक समता र सशक्तिकरण जस्ता आन्दोलन र अभियानहरू महिलाको निम्ति तब मात्र सार्थक हुन्छ, जब समाजको चरित्र र महिलाको अवस्थाबारे अध्यन हुनसक्छ।

हिजो हजुरबुवा पुस्ताले हजुरआमाहरूलाई ‘यो घरको मालिक त तिमी नै हौ नि!’ भनेर मक्ख पारिरहे तर जमिनको अधिकार दिएनन्। आजका पितृसत्ताका प्रतिनिधिहरू पनि उस्तै शैलीमा महिला-पुरुष बराबर हो भनिरहेका छन् तर आफूसँगै मञ्चमा स्थान दिन पनि हिच्किचाइरहेका छन्।

तर, समानता त्यो बेलामा मात्र सम्भव हुन्छ जब महिलाले स्वरूप बदलिएको दासत्वको प्रतिरोध गर्न सक्छन्। अहिलेको पुस्ताले खोजेको समानता मौखिक हैन नीतिगत हो। अबको पुस्ताले खोजेको समानता संख्यात्मक उपस्थिति हैन, निर्णायक अधिकारसहितको उपस्थिति हो।

अब ‘घरकी मालिक्नी’को मौखिक आश्वासन हैन, लिखित दस्तावेजै चाहिन्छ।

४ कात्तिक, २०८०, ०९:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।