डा. शरदको उपचार अनुभव : आमाको गर्भमै रहेको बच्चाको पेटभित्र मृत बच्चा, जन्मिएको २४ वर्षपछि दुर्लभ शल्यक्रिया

डा. शरदको उपचार अनुभव : आमाको गर्भमै रहेको बच्चाको पेटभित्र मृत बच्चा, जन्मिएको २४ वर्षपछि दुर्लभ शल्यक्रिया

वीर अस्पतालमा कार्यरत डा. शरद पोख्रेल प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट हुन्। उनीसँग लामो समय काठमाडौं बाहिर बसेर बिरामीको औषधि उपचारमा खटिएको अनुभव छ। डा. शरदले चिकिसकीय पेशाको सिलसिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।

ooo

केही वर्षअघि करिब २४ वर्षकी युवतीको शल्यक्रिया गरेको प्रसङ्ग डा. शरद कहिल्यै भुल्दैनन्। ती युवतीको सानैदेखि पेट दुखिरहन्थ्यो। स्वास्थ्य परीक्षणको क्रममा पेटमा ट्युमरजस्तो डल्लो देखिएको थियो। त्यो डल्लो क्यान्सर हो की भन्ने समेत शंका थियो। पेटमा भएको त्यो डल्लोले आन्द्रा तथा पेटको ठूला नसा पनि छोएको थियो।

पेटका विभिन्न भागमा त्यो डल्लो देखिने ट्युमर फैलिएको थियो। त्यसैले कतिपय चिकित्सकहरूले समेत ती युवतीको शल्यक्रिया गरेर पनि ट्युमर निकाल्न कठिन हुने निष्कर्षमा पुगेका थिए। शल्यक्रिया नै गर्न कठिन हुने भएपछि युवतीलाई केही अस्पतालबाट समेत फिर्ता गरिएको थियो।

अन्यत्र शल्यक्रिया नभएपछि ती युवती रिफर भएर वीर अस्पताल आइपुगिन्। डा. शरदको टिमले स्वास्थ्य परीक्षणपछि उनको पेटमा भएको त्यो डल्लो जोखिम लिएरै भए पनि शल्यक्रिया गरी निकाल्ने योजना बनायो र शल्यक्रिया थाल्यो।

युवतीको पेटको त्यो डल्लो निकाल्न चिकित्सकको टिमले करिब १२ घण्टा मेहनत गर्यो। शल्यक्रिया थालेको १२ घण्टापछि पेटमा भएको डल्लो निकाल्न चिकित्सकको टिम सफल भयो।

शल्यक्रियापछि त्यो डल्लो के हो त? भनेर चिकित्सकको टिमले बायोप्सी परीक्षण ग¥यो। परीक्षणमा चिकित्सकले शंका गरेजस्तो क्यान्सर रहेनछ। त्यसको वास्तविकता थाहा पाउँदा चिकित्सकको टिम नै झस्कियो।

खासमा ती युवतीको आमाको गर्भमा दुई वटा भ्रूण (बच्चा) बनेका रहेछन्। गर्भमा रहेका दुई भ्रूणमध्ये एक भ्रूण युवती थिइन्। तर, उनीसँगै आमाको गर्भमा रहेको अर्को भ्रूणको भने मृत्यु भएछ। मृत्यु भएको भ्रूण विकसित हुँदै गरेको भ्रूण(युवती)को पेटमा गएर बसेछ।

आमाको गर्भमा रहेको शिशु (युवती) जन्मिइन्। जन्मिएपछि बच्चा हुर्कँदै जाँदा समेत आमाको गर्भमा मृत्यु भएर युवतीको पेटमा बसेको त्यो मृत भ्रूण ट्युमरको डल्लोका रूपमा विकसित हुँदै गएछ।

यसरी आमाको गर्भमा भएका जुम्ल्याहा भ्रूणमध्ये एउटाको मृत्यु भएर त्यो मृत्यु भएको भ्रण अर्को भ्रूणको पेटमा गएर बस्नुलाई चिकित्सकीय भाषामा ‘फिटर्स इन फिटो’ भनिन्छ। जुन मृत्यु भएको भ्रूण पेटमा भएकै कारण बच्चैदेखि ती युवतीलाई पेट दुख्ने समस्या भइरहेको थियो।

यदि त्यो भ्रूण पनि बाँचेको हुन्थ्यो भने उनकी आमाको गर्भबाट ती युवती र अर्का शिशु गरेर जुम्ल्याहा बच्चा जन्मन्थे।

आफ्नो टिमले ती युवतीको पेटमा भएको यस्तो अनौठो डल्लो निकालिएको थाहा पाएपछि डा. शरदको टिम पनि छक्क प¥यो। डा. शरदले चिकित्सकीय पेशाको सिलसिलामा त्यस्तो प्रकृतिको शल्यक्रिया गरेको त्यो पहिलो घटना थियो।

लिङ्ग काटेर आत्महत्याको प्रयास गरेका ती युवा
त्यसैगरी प्यूठान जिल्ला अस्पतालमा काम गर्दाको अर्को एउटा घटना पनि डा. शरद कहिल्यै भुल्दैनन्। करिब २८ वर्षका युवालाई प्यूठान अस्पताल ल्याइएको थियो। ती युवाले आत्महत्याको लागि लिङ्ग नै काटेछन्। यद्यपि छुट्टिएको भने थिएन। मेडिकल अधिकृत भएको अवस्थामा समेत उनले ती युवाको लिङ्गकोे शल्यक्रिया गरी उपचार गरेर ठिक गरेको उनले सुनाए। करिब १२ दिन अस्पताल राखेपछि ति युवालाई डिस्चार्ज भएका थिए।

विना अनुमति फोक्सो फुटेका युवकको शल्यक्रिया गर्दा...
डा. शरद बुटवलको तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा काम गर्दाको एउटा घटना पनि कहिल्यै भुल्दैनन्। उनी ड्युटीमा नै थिए। मोटरसाइकल दुर्घटनामा परेका दुई जना युवा अस्पताल पुगे।

सँगै मोटरसाइकलमा हिँडेकामध्ये मोटरसाइकल चलाउने करिब ३० वर्षका युवा गम्भीर घाइते भएछन् भने मोटरसाइकल पछाडि बस्ने युवा सामान्य घाइते थिए। त्यसैले मोटरसाइकलको पछाडि बस्ने युवाले घाइते साथीलाई अस्पताल पु¥याएछन्।

स्वास्थ्य परीक्षण पछि ती गम्भीर घाइते युवाको फोक्सो फुटेको थाहा भयो। फोक्सो फुटेर उनको छातीमा हावा भरिएको थियो। जसकारण श्वासप्रश्वासमा समेत समस्या भइरहेको थियो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘टेन्शन निमोथोराक्स’ भनिन्छ।

ती युवाको तुरुन्तै शल्यक्रिया गरेर छातीमा भरिएको हावा फाल्नुपर्ने थियो। तर, शल्यक्रियाका लागि आफन्तको अनुमति चाहिन्थ्यो। चिकित्सकको टिमले अनुमति पत्रमा ती अस्पताल लिएर पुग्ने युवालाई हस्ताक्षर गर्न आग्रह गरे। तर, ती युवाले मानेनन्।

घाइतेको श्रीमती आएपछि मात्र शल्यक्रियाका लागि अनुमतिपत्रमा हस्ताक्षर गर्नुहुन्छ भन्दै थिए अस्पताल ल्याउने युवा। तर कुर्ने समय थिएन। छिटो शल्यक्रिया गर्नुपर्ने थियो। घाइते युवाको अवस्था भने झन् जटिल बन्दै गइसकेको थियो।

त्यसपछि डा. शरदले अनुमति नै नलिई शल्यक्रिया गर्न थाले। पाइप राखेर ती युवाको छातीमा भएको हावा निकाल्दै आवश्यक उपचार गरे। त्यसपछि घाइते युवालाई श्वास फेर्न सहज हुना थाल्यो र ज्यान बाँच्यो।

शल्यक्रिया सफल भएपछि डा. शरदले शल्यक्रियाका लागि अनुमति पत्रमा हस्ताक्षर गर्न नमान्ने ती युवालाई गाली पनि गरेछन्। पछि ती घाइते युवाका परिवारका सदस्य आएर डा. शरदलाई धन्यवाद दिए।

अझै ती घाइते युवा बेला-बेलामा काठमाडौं आउँदा गाउँको कोशेली बोकेर भेट्न आउने गरेको उनले सुनाए।

प्यूठानको भिडन्तमा रातभरी खाटमुनि बसेको त्यो घटना
बेलुकी करिब सात बजेको थियो। द्वन्द्वकालमा २०६१ तिर प्यूठान जिल्ला अस्पतालमा माओवादी र सेनाबीच भिडन्त भयो। अस्पतालको छानामाथि गोली चल्न थाले। त्यसपछि डा. शरदको सातो उड्यो।

ज्यान बचाउन उनी, उनकी श्रीमती र सानो छोरा आतिँदै खाटमुनि छिरे। उनीहरूले सायद अब जीवन यति नै रहेछ भन्ने सोचे। होस हवास नै उड्यो।

रातभरी भिडन्त भयो। गोलीका छर्रा, आगोको मुस्लो झ्वार्र झ्वार्र अस्पतालको छानामाथिबाट गएको र खसेको देखिन्थ्यो। रातभरी डाङडाङ र डुङडुङ भिडन्तको आवाज आएको थियो। उनीहरू रातभरी अस्पतालको क्वाटरको खाटमुनि थरथर काम्दै आत्तिएर बसे।

बिहान सात बजेसम्म भिडन्त चल्यो। त्यसपछि रोकियो। भिडन्त रोकिएपछि अब चाहिँ बाँचियो भनेर डा. शरदको परिवारले लामो श्वास फेर्यो। त्यो घटना सम्झँदा अझै उनको आङ जिरिङ्ग हुन्छ।

माओवादीलाई जाँच्दा कर्णेलको त्यो फोन
२०६१ सालतिर प्यूठान जिल्ला अस्पतालमा काम गर्दाका क्षणहरू उनका लागि अविस्मरणीय छन्। त्यो बेला तत्कालीन माओवादी र सरकारबीच सशस्त्र द्वन्द्वको समय थियो।

डा. शरद लोकसेवामार्फत मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिरे भएर त्यहाँ पुगेका थिए। अस्पतालमा उनी सेना र प्रहरी मात्रै हैन माओवादीको पनि उपचार गर्थे। किनकी बिरामी भएका जो कोहीको उपचार गर्नु उनको चिकित्सकीय धर्म हो।

एक पटक त जिल्ला अस्पतालभन्दा माथि खलङ्गामा सेनाको ब्यारेकमा सेनाहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरेर फर्किएपछि माओवादीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुपरेछ।

सेनाको उपचार गरेर अस्पताल आइपुग्दा त माओवादी लडाकु स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालमा आइपुगेका रहेछन्। उनले माओवादीहरूलाई उपचार गरेर पठाए। माओवादीको स्वास्थ्य परीक्षण गरिरहेको समयमा उनलाई सेनाका कर्णेलले फोन गरेर हाँस्दै, ‘डाक्टरसाप अस्पताल पुग्नुभयो?’ भनेर सोधेछन्।

सायद ती कर्णेलले माओवादीहरू अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि आएका छन् भन्ने थाहा पाइसकेका थिए। फोन गर्दा त एकैछिन उनी झस्किए पनि।

तर, सेनालाई पनि यो डाक्टरले माओवादीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्छ भन्ने थाहा थियो भने माओवादीलाई पनि सेनाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्छ भन्ने थाहा थियो। दुवै पक्षबीच यो विषय ‘ओपन सेक्रेट’ जस्तै थियो।

कटिङ गरेर मृतक बच्चा निकालेपछि...
डा. शरद जिल्लामा मेडिकल अधिकृत भए पनि प्यूठानमा बस्दा ‘फोरसेप डेलिभरी’ समेत गराउँथे। गर्भमा अड्किएको बच्चालाई औजारले च्यापेर बाहिर निकाल्नुलाई चिकित्सकीय भाषामा ‘फोरसेप डेलिभरी’ भनिन्छ।

कुनै बच्चाको गर्भमा नै मृत्यु भइसकेको हुन्थ्यो। कुनै बच्चा भने अड्किएर बसेका हुन्थे। त्यसरी बच्चाकै मृत्यु भइसकेको अवस्थामा मृत्यु भएको बच्चालाई काटेर निकाली धेरै जना आमाको ज्यान बचाएको उनी सम्झन्छन्।

जिल्लामा डा. शरदप्रति बिरामी तथा बिरामपक्षले यति धेरै विस्वास गर्थे की डा. शरदले बिरामी नहेरी अन्यत्र रिफर गरेर लान पनि चाहँदैनथे। प्यूठानमा २४सै घण्टाजसो बिरामीको औषधि उपचारको काममा खटिएको उनी सम्झन्छन्।

धन्न ती गर्भवतीको ज्यान बाँच्यो
एक जना गर्भवती महिलाको करिब तीन महिनामा भ्रूण बसेको नली फुटेर पेटभरी रगत भएछ। यसरी गर्भमा निषेचन भएको अण्डा पाठेघर बाहिरको नलीमा बस्नुलाई चिकित्सकीय भाषामा ‘इक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ।

यो समस्याका कारण ती महिलाको रगतमा हेमोग्लोविनको मात्रा ह्वात्तै घटेको थियो। रगतमा दश ग्राम डेसिलिटर भन्दा बढी हुनुपर्ने हेमोग्लोविन दुईमा झरेको थियो।

तुरुन्तै ती महिलाको शल्यक्रिया गरी फुटेको नली टाल्ने, रक्तस्राव रोक्ने र नलीमा बसेको भ्रूण निकाल्नुपर्ने थियो। रगतको मात्रा कम हुँदा-हुँदै पनि जोखिम नै मोलेर भए पनि शल्यक्रिया गरेर डा. शरदको टिमले ती महिलालाई बचायो।

यस्तो समस्यामा परेका धेरै जना महिलाको ज्यान बचाएको उनी सम्झन्छन्।

छात्रवृत्तिमा अध्ययन, जिल्लामा कहलिएको नाम
२०३६ मा प्यूठानको साबिक खैरा गाविसमा जन्मिएका शरदले त्यहिँको भुवनेश्वरी माविबाट २०५१ मा एसएलसी गरे। जिल्लाकै टप गरेपछि उनी थप अध्ययनका लागि काठमाडौं आए र अमृत साइन्स कलेजबाट आइएस्सी गरे।

अध्ययनमा अब्बल उनलाई डाक्टर बन्ने इच्छा थियो। त्यसैले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् १९९८ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। सन् २००३ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। उनले सरकारी छात्रवृतिमा नै एमबीबीएस अध्ययन गरेका हुन्।

एमबीबीएस अध्ययनपछि डा. शरदले नेपालगञ्ज मेडिकल कलेजमा मेडिकल अधिकृतका रूपमा करिब नौ महिना काम गरे। २०६१ मा लोकसेवामार्फत मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिरे भएका उनको पोष्टिङ त्यसपछि गृहजिल्ला प्यूठानकै जिल्ला अस्पतालमा भयो।

तत्कालीन माओवादी र सरकार पक्षबीचको द्वन्द्वकालमा उनले त्यहाँ दुई वर्ष बिताए। त्यो समयमा उनको नाम खुब कहलिएको थियो रे जिल्लामा। त्यसपछि डा. शरद थप अध्ययनका लागि काठमाडौं आए।

त्रिभूवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २००७ मा स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा एमएस अध्ययन गर्न थाले। सन् २०१० मा उनको एमएस अध्ययन पूरा भयो। एमएस पनि छात्रवृत्तिमा नै अध्ययन गरेको उनले सुनाए।

त्यसपछि भने डा. शरद सन् २०१० मा पोष्टिङ भएर धनगढीस्थित तत्कालिन सेती अञ्चल अस्पतालमा काम गर्न पुगे। त्यसबेला सुदूरपश्चिमका नौ जिल्लामा उनी र अर्का एक जना चिकित्सक गरी दुई जना मात्रै सर्जन थिए। त्यहाँ उनले २०१३ सम्म काम गरे। त्यहाँ उनकै कार्यकालमा इन्डोसकोपी सेवा सुरू भयो।

एमसीएच अध्ययन र अनुभव बटुल्दै वीरमा
डा. शरदलाई थप अध्ययन गर्नु थियो। त्यसैले उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी विषयमा एमसीएच अध्ययनका लागि सन् २०१३ मा भर्ना भए। यो विशिष्ठिकृत अध्ययन हो।

यो विषय अध्ययनकै क्रममा उनले भारतको अलइन्डिया मेडिकल इन्टिच्युट (एम्स)मा पनि एक वर्ष अध्ययन गरे। सन् २०१६ मा उनको तीन वर्षे एमसीएच अध्ययन पूरा भयो। एमसीएस पनि छात्रवृत्ति कोटामा नै अध्ययन गरेको सुनाए।

एमसीएच अध्ययनपछि डा. शरदले २०७३ देखि २०७६ सम्म बुटवलको तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा करिब तीन वर्ष काम गरे। त्यहाँ उनलले कोलोनोस्कोपि, ल्याप्रोस्कोपि जस्ता उपचार सुविधा सुरु गरे।

दुर्गम र काठमाडौं उपत्यका बाहिरका गाउँ-गाउँमा पुगेर लामो समय काम गरिसकेपछि २०७६ मा समायोजन भएर डा. शरद वीर अस्पताल आइपुगे। हाल उनी प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्टको रूपमा कार्यरत छन्। उनी अस्पतालको सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी विभागका प्रमुख र सह-प्राध्यापक समेत हुन्।

२७ असोज, २०८०, १८:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।