५६ दिन घाटमा पुग्दा त अघोरी जस्तो भइसकेको थिएँ : विपिन कार्की

५६ दिन घाटमा पुग्दा त अघोरी जस्तो भइसकेको थिएँ : विपिन कार्की

कठमाडौं : अभिनेता विपिन कार्की आफूले निभाउने भूमिकाका लागि लामो समय अध्ययन गर्न रुचाउँछन्। त्यसका लागि उनी फिल्मको क्यारेक्टरमा भिज्न त्यस्तृ वातावरणमा घुलमिल हुने गर्छन्।

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को सुटिङअघि पनि विपिन नियमित पशुपतिनाथ मन्दिर र त्यस आसपास ५६ दिन बिताए। त्यस अवधिमा त्यहाँको अवस्था र परिस्थिति बुझे।

सोमबार ललितपुरको लबिम मलमा फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले सुटिङ अगाडि अनि सुटिङको बेलाको अनुभव साटे।

ट्रेलर सार्वजनिक कार्यक्रममा विपिनले छायांकन गर्दाका अनुभवहरू सुनाउँदै लामो समय पशुपती क्षेत्रमा बिताउँदा त्यहाँको डनजस्तो महसुुस गर्न थालिसकेको भन्दै ठट्टा गरे।

कार्यक्रममा सञ्चारकर्मीले चिता पोलेको सपना कत्तिको देख्नुभयो भन्ने प्रश्न सोधे। विपिनले भने,‘राति ११ बजे सुटिङबाट छाडिदिने अनि बिहान ५ बजे नै बोलाइदिने भएपछि कहाँ सपना आउँछ?

उनले पशुपतिको घाटमा पुग्दा अधिकांशले चिन्न थालेको र सबैसँग बोलचाल हुन थालेको बताए। उनले थपे,‘५६ दिन घाटमा पुग्दा त अघोरी जस्तो भइसकेको थिएँ। घाटमै बस्ने, एक दिन घाटमा पुगेन भने आज कहाँ नपुगेको जस्तो हुने भइसकेको थियो।’

फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा कार्की लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म दशैँमा रिलिज हुँदैछ।

असोज २२, २०८० सोमबार २०:५७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।