नेपालगञ्जमा आज पनि कर्फ्यू जारी, स्थिति सामान्य बन्दै

नेपालगञ्जमा आज पनि कर्फ्यू जारी, स्थिति सामान्य बन्दै

बाँके : बाँकेको नेपालगञ्ज उप-महानगरपालिकामा आज (बुधबार) पनि कर्फ्यू जारी छ। मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ। 

आज बिहानदेखि नेपालगञ्जको स्थिति शान्त र सामान्य बन्दै गएको बाँके प्रहरीले जानकारी दिएको छ। 

स्थिति सामान्य बनाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए। 

स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।  

बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उनले बताए।

बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यू लगाउनु परेको थियो।

१७ असोज, २०८०, १०:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।