अनमोल प्रहरी हिरासतमा बस्नै नमानेपछि चिरायु अस्पतालमा राखियो

अनमोल प्रहरी हिरासतमा बस्नै नमानेपछि चिरायु अस्पतालमा राखियो

काठमाडौँ : आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले चिरायु अस्पताल महाराजगन्जमा लगेर राखेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो। मिनभवनमा रहेको कार्यालयमा ल्याइएका उनलाई हिरासतमा राख्न कार्यालयले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो।

काठमाडौँका अन्य प्रहरी कार्यालयभन्दा सिंहदरबार वृत्त अलि सुविधायुक्त मानिन्छ। पक्राउ पर्ने प्रभावशालीहरूलाई त्यही वृत्तमा राख्ने गरिन्छ।

तर अनमोल प्रहरी हिरासतमा बस्नै मानेनन्। जति प्रयास गरे पनि हिरासतमा बस्न नमानेपछि प्रहरीले नै खोजेर बेलुका साढे ११ बजेतिर महाराजगन्जको चिरायु अस्पतालमा लगेर भर्ना गरेको छ।

अस्पतालस्रोतका अनुसार अनमोलको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन। प्रहरीले अस्पतालमा भर्ना गरिदिन आग्रह गरेपछि राखिएको र अनमोलसँगै प्रहरी सुरक्षाकर्मी समेत रहेको अस्पतालका एक अधिकारीले उकेरालाई जानकारी दिए।

प्रहरीले पक्राउ गरेका कसैको स्वास्थ्य अवस्थामा समस्या देखिए पहिला सरकारी अस्पताल लैजाने, स्वास्थ्यमा समस्या देखिए सरकारी अस्पतालमा भर्ना गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

सरकारी अस्पतालमा भर्ना गर्न नसक्ने भएमा अस्पतालको सिफारिसमा मात्र निजी अस्पतालमा भर्ना गर्नुपर्ने प्रावधान रहे पनि प्रहरीले अनमोललाई कुनै प्रक्रिया पुरा नगरी निजी अस्पताल लगेर राखेको हो।

असोज १३, २०८० शनिबार ०८:५०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।