ई समूह सडक व्यापार गर्ने ठाउँ तोक्ने प्रस्तावबाट पछि हटेपछि सहमति, जफत सामान फिर्ता, दुई महिनाभित्र प्रतिवेदन

ई समूह सडक व्यापार गर्ने ठाउँ तोक्ने प्रस्तावबाट पछि हटेपछि सहमति, जफत सामान फिर्ता, दुई महिनाभित्र प्रतिवेदन

काठमाडौँ : सडक व्यापारका लागि स्थानै तोक्ने सर्तबाट ई समूह पछि हट्न सहमत भएपछि काठमाडौँ महानगरपालिकासँग सहमति भएको छ।

मङ्गलवार ई समूहले प्रस्ताव गरेको चार बुँदे प्रस्तावमा सडक व्यापार गर्न पाउने भन्दै उनीहरूले स्थानै तोकेर प्रस्ताव गरेका थिए। तर महानगरका मेयर बालेन शाहले चौथो बुँदामा रहेको स्थानसहितको प्रस्ताव संशोधन गरेपछि सहमति हुन सकेन।

बुधवार महानगरको प्रतिनिधि र ई को प्रतिनिधिबिच भएको वार्तामा कानुनले निषेध गरेको स्थान बाहेक अन्यत्र उपर्युक्त स्थल पहिचान गर्न महानगरले एक हप्ताभित्र पहल गर्न सहमति भएपछि ईले आफ्नो जारी आन्दोलन समाप्त गरे।

महानगरसँग भएको चार बुँदे सहमतिमा अनौपचारिक स्थलमा व्यापार गर्न स्थल, व्यक्ति र समय पहिचान गर्न समिति गठन गर्ने, महानगरको स्टोरमा भएका जफत गरिएका सामान सम्बन्धित धनीलाई फिर्ता गर्ने उल्लेख छ।

सम्बन्धित व्यक्ति, स्थान र समय निर्धारणका लागि महानगरले तोकेको तीन जना, ईको प्रतिनिधि दुई जना, भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास र ट्राफिक महाशाखाको एक-एक जना प्रतिनिधि रहेको समिति गठन गर्ने सहमतिमा उल्लेख छ।

सो समितिले अनौपचारिक व्यापार गर्ने स्थान, व्यक्तिको पहिचान र समय तोक्न विधि प्रक्रिया र कानुनी व्यवस्था समेतको अध्ययन गरेर दुई महिनाभित्रमा महानगरमा प्रतिवेदन पेस गर्ने उल्लेख छ।

महानगरले सडक व्यापारीहरुविरुद्ध चलाएको कारबाही र उनीहरूको सामान जफत गरी फिर्ता गर्नुको सट्टा लिलामी गरेको विरोधमा राष्ट्रिय सभा गृह अगाडि ई उभिएर विरोध प्रदर्शन गरेका थिए।

१० असोज, २०८०, २२:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।