कैलाश मानसरोवर यात्रा-३ : केरुङ शहरमा दुई रात अघोषित बन्धक

कैलाश मानसरोवर यात्रा-३ : केरुङ शहरमा दुई रात अघोषित बन्धक

टिमुरेमा बास मात्र हैन, खाना भने पनि होटलकै थियो। तर केरुङमा होटलमा बास मात्र। खाना नपाक्ने रहेछ। यात्रा लामै थियो। अब तिब्बती खाना नेपालीलाई कहाँ पच्छ र! त्यसमा पनि तीर्थयात्री।

कैलाश लैजाने जिम्मा लिएकाले खाना पकाउने टोली पनि सँगै लैजाने रहेछन्। पहिल्यै भनिएको थियो ‘जति माथि गयो त्यति खाना नरुच्न सक्छ। जतिसक्दो खाना खानुहोला। झोलपदार्थ जति खायो त्यति राम्रो।’

घुमिवरी होटल पुग्दा खानाको मेस लागिसकेको थियो। पहिला भुटेको फूलवाला मकै र सुप दिँदै शेर्पा दाईले भने, ‘सकेजति खानु है बरु भात कम खाए हुन्छ।’

सुप त पानीको मात्रा पुर्यानउन। तर मकै किन?

‘अक्सिजन बढाउँछ नि!’

लौ मकैले अक्सिजन बढाउँछ भन्ने पहिलोपटक थाहा पाएँ। अब बहसतिर किन लाग्नु। प्लेटभरी मकै लिए अनि कचौरामा सुप। दुई पटक सुप थपेर खानातिर लागेँ।

खाना पूरै शाकाहारी। न लसुन न प्याज। अति सादा। रुच्दैन कि क्या हो!

रुच्यो मज्जाले। 

कसैको स्वास्थ्य असजिलो भएको छ कि भन्दै ‘फस्टएड किट’ लिएर आइपुगे सिताराम राई। निकै हँसिला उनी। टाउको दुखेको छ भन्दै केहीले सिटामोल लिए। केहीले अक्सिजनको मात्रा कति भएछ भनेर चाल पाउन अक्सिमिटरतिर औँला तेर्स्याएँ।

‘ज्यानलाई आराम दिनुस् है’ भन्दै उनी निस्किए। भोलि केरुङबाट माथि लाग्ने कि केरुङमै बस्ने निर्णय भइसकेको थिएन। थप एक दिन बस्न पाए केरुङको रहनसहन अनि संस्कृति सबै हेर्न पाइने लोभ मनमा भए पनि बोलिएन।

‘भोलि अर्को टिम कति बजे आइपुग्छ त्यसको आधारमा तय गर्ने’ निर्णय सुनेपछि सबै आ-आफ्नो कोठातिर लागे। खाना खाएपछि यसो टहलिन बाहिर निस्किँदा आत्रेय भाइ पनि सँगै लागे। श्रीमती सावित्री घिमिरेसहित तीन जनाले केरुङ एक राउन्ड लगाइयो।

आत्रेय भाइको आमा उतै रसुवाको टिमुरेमा छुटेकाले उनी एक्लै थिए। ४५ मिनेटजतिको हिँडाइपछि होटल फर्किँदा उनी म एकछिनमा आउँछु भनेर छड्किए।

तल्लो केरुङ खण्ड कको दृष्य। अधिकांश ब्यापारिक चहलपहल यही क्षेत्रमा हुन्छ।भोलि के होला भन्दै ज्यानलाई आराम गराउनतिर लागियो।

आठ बजे निन्द्रा खुल्यो। अहो कति चिसो पानी! यताउता घुमाउँदा पनि तातोपानी आएन। चिसै पानीले मुख पुछे भनौँ। धुन त खलखल पानी हाल्नुपर्यो् नि। आँट आएन।

होटलमा कल्याङमल्याङ शुरू भइसकेको थियो। विहानको चिया र नास्ता तयार भएको सन्देश आयो। मेसमा भीड जमिसकेको थियो। छलफलको प्रसङ्ग त्यही आज पनि केरुङमै बास हुने हो कि साँगा जाने हो भन्ने नै थियो। आ-आफ्नै तर्क आउने नै भए।

तल रसुवागढीमा छुटेका टिम लिन बस र गाइडहरू बिहानै गइसकेका रहेछन्। बिहानको नास्ता लिएपछि दाइ बैकुण्ठ बुढाथोकी, एक जना सन्त अनि जोइपोइ केरुङको नयाँ बस्तीतिर लाग्यौँ।

पारी योजनाबद्ध रूपमा निर्माणको कामहरू भइरहेका थिए। त्यतै लाग्यौँ। जता पायो त्यतै नजानु है भन्ने सुझाव आए पनि आँ... के नै हुन्छ र घुम्न भन्दै चार जना निस्किएका थियौँ।

बस्ती निकै व्यवस्थित। तर सुनसान। बोर्ड सबै तिब्बती भाषाको। के लेखेको हो के। क्यामेरा छाड्ने कुरा भएन। पुरानो केरुङ भनेर यतै देखाएकाले परम्परागत बस्ती फेला पर्छ कि भन्ने आश जो थियो।

वारी केरुङको बस्ती र पारीको बीचमा पुल रहेछ। पुल तल निकै सङ्लो पानी। खाली ठाउँमा केही साना घर। रमाइलो लाग्यो। केहीबेर त्यही टहलियौँ। यताउता हेर्दा नै थाहा भइहाल्यो यो पुरानो केरुङ पक्कै हैन।

जति अगाडि बढ्यो उती सुनसान। मान्छे नै नबस्ने ठाउँमा किन यत्रा भवन बनाएको होला!

तल्लो केरुङ खण्ड ख। निर्माण भइरहेको यो क्षेत्रमा सरकारी कार्यालय रहेका छन्।हरेक भवन हेर्दै यो के होला भन्ने अनुमान गर्नुको अर्को विकल्प थिएन। ठूला भवन अनि चिल्ला सडक। फोटो खिच्ने बहाना भइहाल्यो। कहिले डिएसएलआरबाट त कहिले मोबाइलबाट फोटो खिच्यो हिँड्यो।

केही पर पुगेपछि भित्र चिनियाँ अक्षरमा केही लेखिएको अनि गेटमा अलि कडा सुरक्षा प्रबन्ध गरिएको भवन आयो। यसो चहलपहल हेर्दा कुनै सरकारी कार्यालयजस्तै लाग्यो। यता भए त यो के-को कार्यालय हो भनेर सोधिहालिन्थ्यो। त्यहाँ कसलाई सोध्नु! भाषा बुझे पो।

फोटो खिच्न पाइने हो कि होइन पनि थाहा छैन। गेट नजिक गएर क्यामेरा तेर्स्याउँछु। हातले त इशारा गर्लान् नि भनेर नजिकै गएँ। क्यामेरा तेर्यािएँ। कसैले केही भनेन। खिच्न पाइने रहेछ।

अगाडि बढ्दै जाँदा अर्को सुनसान भवन आयो। बोर्डको अक्षर नबुझे पनि त्यो अस्पताल हो भन्ने थाहा भइहाल्यो। चिन्ह राखिएको थियो नि त!

तल्लो केरुङको खण्ड ख मा रहेको अस्पताल।यसो गेटबाट भित्र हेरेको एक जना देखिएनन्। न गेटमा सुरक्षागार्ड छन् न भित्र चहल पहल। भर्खर बन्दै गरेको अस्पताल होला भनेर यसो बिल्डिङतिर हेरेको भित्रको चहलपहलले चलिसकेको अस्पताल रैछ भन्ने थाहा भयो।

सुनसान सडकमा कति हिँड्नु अनि कति फोटो खिच्नु! दिक्क लाग्यो। फर्कियौँ आफ्नै गतिमा भवनहरूको अनुमान गर्दै।

पुलतिर आइपुगेपछि नेपालीको अनुहार गरेका एक जना देखियो। त्यहाँ हुने अधिकांश नेपाली कि कैलाश पर्वत हिँडेका कि रसुवातिरका। रसुवाका नेपाली र तिब्बती अनुहार मिल्ने। फरकपन लवाइमा मात्रै। तिब्बती महिलाहरू बक्खु मै देखिएका थिए। तर, पुरुष भने सामान्य पहिरनमै थिए।

अब ती नेपाली हुन् कि तिब्बतीय भन्नेमा कन्फ्युज भयो। नेपाली भए त बोल्लान् नि भनेर नजिक नजिक गइयो। बैकुण्ठ दाईले ‘यो भवन के को होला?’ भनेर हामीसँग गफ गर्दा उनले ‘ट्राफिक कार्यालय’ भनेर जवाफ दिए। 

ल नेपाली नै रहेछन्।

नाम, ठाउँ सोध्दै कुराकानी शुरू भयो। उनी रसुवाबाट निर्माण सम्बन्धी मजदुरको रूपमा काम गर्न तीन महिना अगाडि केरुङ आएका रहेछन्। भटाभट भवनहरू बनिरहेकाले त्यहाँ काम गर्न टन्नै नेपालीहरू जाने रहेछन्।

‘अनि कस्तो सुनसान छ त यहाँ! मान्छे बस्दैनन्?’

उनले भने, ‘यहाँका त रातभरी जाग्छन्, दिनभरी सुत्छन्। यताको चैँ धेरै सरकारी अफिस हो। अफिस भित्रै हुन्छन्।’
ए... पुरानो केरुङ भनेर घुम्न गएको ठाउँ त नयाँ केरुङ नै रहेछ।

‘अनि पुरानो केरुङ कता हो त?’

माथिल्लो केरुङ र साँगा जाने मुल सडक।उनले औँला तेर्स्याउँदै भने- ‘उ त्याँ माथि हो। तर हामीलाई जान दिँदैन। यही नयाँ केरुङमा मात्र बस्ने हो। पुरानो केरुङ जान त पासपोर्ट र विशेष पास चाहिन्छ।’

ज्या।

अब कुराकानी उनले गर्ने काम अनि कमाईतिर मोडियो। काम सजिलै रहेछ। अधिकांश नेपालीहरू नै हुने भएकाले काम गर्न रमाइलै लाग्ने बताए उनले।

‘नेपालका युवा खाडी गइरहेका छन्। तपाई किन केरुङ आएको त?’

उनले महिनाको ३० हजार नि कमाई नहुने खाडी किन जानु भन्दै सुनाए, ‘यहाँ दिनको १ सय ५० युआन दिन्छ। खाना, बस्न ठेकेदारले नै दिन्छ। खाडीमा यत्रो कमाइ हुन्छ र!’

अहो..१५ सय युआन भनेपछि सरदर दिनको तीन हजार। महिनाको ९० हजार।

ल है म हिँडे भनेर उनी कामतिर लागे।

कमाइ त राम्रो रहेछ त यहाँ भन्दै हामी होटलतिर फर्कियौँ।

०००

एक्लोपन हटाउनेक्रममा आत्रेय भाइले केरुङका आधाउधी नेपालीलाई साथी बनाइसकेका रहेछन्। उमेर त्यस्तै ३२ का उनी। हाम्रो समूहका सबैभन्दा पाका ८२ वर्षसम्मका थिए। कममा २७ का।

पहिलो लटमा आउनेमा म तेस्रो कान्छो। एकैछिनमा आत्रेय भाइसँग दोस्ती जमिहाल्यो।

सुनसान तल्लो केरुङको खण्ड ख मा तस्बिर खिचाउँदै तीन तिर्थालु।खाना खानेबेलासम्म पनि रसुवागढीमा अड्किएका समूहका अन्य सदस्यहरू आइपुगेका थिएनन्। भनेपछि आज पनि चिनियाँ अध्यागमनले दु:ख दिएको पक्का भयो। कि भिसै नदिनु। भिसा दिएपछि त प्रवेश अनुमति दिनु नि!

पारा देखेर झनक्क हुने नै भयो। उनीहरूसँग जगेडा कपडा नि थिएन। हिजो जे लगाएको त्यही मात्र थियो। बाँकी कपडा भएको लगेज हिजै केरुङ आइपुगिसकेको।

आजको बास पनि केरुङ नै हुने पक्का भयो।

खाना खाएर बजार डुल्ने क्रममा त्यस्तै २० मिनेटको दुरीमा झरना अनि मन बहलाउने ठाउँ छ भन्ने सुनियो। तर, त्यता जाँदा शहरी टोल बाहिर जानुपर्ने। शहरी टोल बाहिर जान पनि विशेष अनुमति चाहिने रहेछ।

त्यो पनि पासपोर्ट अनि गाइड साथमा नभइ जान नदिने। अब माथिल्लो केरुङ जान पनि उही नियम रहेछ।

तिब्बतियन गाइड साथमा थिएनन्। तल रसुवागढी गएका थिए। खाना पकाउने नेपाली टिम मात्रै होटलमा थियो। उनीहरूसँग पासपोर्ट थिएन। पासपोर्ट मात्र भएर भयो र प्रिन्ट गरेर दिएको ग्रुप भिसाको सूची पनि चाहियो नि!

त्यत्रो कडाइ गरेर जाँच गरे पनि एफो पेपरमा नाम प्रिन्ट भएको ग्रुपभिसा बाहेक चीन प्रवेश गरेको कुनै प्रमाण थिएन। नेपाली अध्यागमनमा ‘यो नेपाल बाहिर गयो है’ भनेर छाप लाग्यो। तर चीनले यो चीनमा प्रवेश गर्यो है भनेर इन्ट्रीको छाप लगाएको थिएन। नेपालबाट बाहिरियो तर कहाँ?

पासपोर्ट अनि ग्रुप भिसाको सूची तिब्बती गाइडसँगै। अनि हिजो उनीहरूले ‘हराउला’ भन्दै पासपोर्ट लिनुको कारण बल्ल चाल पाइयो। पासपोर्ट साथमा हुँदा शहर बाहिर निस्कने सम्भावना त भयो। पहिल्यै पासपोर्ट लिइदिएपछि टन्टै साफ।

केरुङमा त ‘अघोषित बन्धक’ पो बनाएका रहेछन्।

तल्लो केरुङको बजार क्षेत्र जहाँ नयाँ निर्माणको काम जारी नै थियो।आत्रेय भाइले ‘जाने हो त दाइ यहाँका नेपालीले मिलाउँछन्’ भनिरहेका थिए। तर, त्यहाँको पारा देखेर झोक चल्यो।

‘त्यस्ता झरना भन्दा राम्रा झरना त हाम्रै देशमा छन्। कैलाश पर्वत नभएर पो त’ भनेर मुर्मुरिदै होटलतिर फर्कियौँ। अझै रसुवागढीको टोली आइसकेको थिएन। अर्को रात पनि केरुङमै बस्ने पक्कापक्की भयो।

टोरेन्ट-भीपीएनबाट खुलेको फेसबुक स्क्रोल गर्दा पनि मनमा उही कुरा खेलिरह्यो ‘एक टोलबाट अर्को टोलमा जान पनि अनुमति चाहिने कस्तो ठिस नियम! अझै एक दिन बन्धक बनाएर राख्ने भए।’

कैलाश-मानसरोवर यात्रा

असोज २, २०८० मंगलबार १९:५५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।