ओलीसँग मंगलबार बिहान भेट्ने कुरा थियो नेम्वाङको

ओलीसँग मंगलबार बिहान भेट्ने कुरा थियो नेम्वाङको
फाइल तस्बिर

काठमाडौं : संविधान सभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार राति निधन भयो।

बालुवाटारस्थित घरको बाथरुममा लडेको अवस्थामा भेटिएका उनलाई बिहान १ बजेर ५० मिनेटमा अस्पताल पुर्याइयो। अस्पताल पुग्दा नै उनको प्राण उडिसकेको थियो।

हृदयघातका कारण उनको निधन भयो। निधनको खबरलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका शीर्ष नेता महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे।

उनको पार्थिक शरीरलाई सोमबार बिहान त्यहाँबाट पार्टी कार्यालय च्यासल ल्याइयो र त्यहाँ श्रद्धान्जलीका लागि राखियो। नेम्वाङको निधनको शोक मनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गर्यो भने सोही दिन उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्यो।

नेम्वाङलाई अन्तिम श्रद्धान्जली दिन विभिन्न राजनीतिक दलका उच्चपदस्थ व्यक्ति, विभिन्न दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख तथा विभिन्न देशका राजदूतहरू पार्टी कार्यालय च्यासल पुगे।

यसैबीच नेम्वाङ केही दिनअघि मात्र धरानमा भएको एक कार्यक्रममा सहभागी भएर फर्किएका थिए। काठमाडौं फर्किएपछि उनको पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कुरा भएको थियो।

ओली र नेम्वाङबीच मंगलबार बिहान भेट्ने कुरा भएको थियो। तर, ओलीले मंगलबार बिहान प्राणसहितको नेम्वाङलाई भेट्न पाएनन्। पार्थिव शरीरलाई भेटेर बिदाइ गर्न विवश भए।

ओलीले आफूसँग नेम्वाङले मंगलबार बिहान भेट गर्ने भनेर कुराकानी भएको सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन्, ‘अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो। उहाँको बोली सधैं झैं सहज थियो। मंगलबार बिहान भेट्ने कुरा भएको थियो। तर आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ। भावपूर्ण श्रद्धासुमन!’

२६ भदौ, २०८०, १९:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।