बेसहारा संगीताको उपचारमा डाक्टर केसीको सहयोग

बेसहारा संगीताको उपचारमा डाक्टर केसीको सहयोग

सुर्खेत : लेकवेसी नगरपालिका-१ लेखफर्साकी २२ वर्षीया संगीता परियारको उपचारमा बाल रोग विशेषज्ञ डाक्टर एवं सामाजिक अभियन्ता नवराज केसीले सहयोग गरेका छन्।

सिटिस्क्यान, ईसीजी, एक्सरे लगायतका जाँच गरिसकेपछि परियारले दुई वर्षसम्म औषधि खानुपर्ने भएकोले नि:शुल्क औषधिको व्यवस्था मिलाएको डाक्टर केसीले जानकारी दिए।

‘उनलाई छारे रोगले च्यापेको रहेछ। मस्तिष्कमा समेत दाग रहेछ। यी सबै रिपोर्ट हेरेर औषधि चलाइएको छ,’ डाक्टर केसीले भने, ‘अहिले एक महिनालाई औषधि दिएका छौँ। दुई वर्षसम्म उनले औषधि खानुपर्छ। त्यसको व्यवस्थापन मैले गर्नेछु।’

तीन वर्षको उमेरमै छारे रोग लागेपछि आफन्त र समाजमा बस्न नसकेकी संगीता भदौ १५ गते वीरेन्द्रनगर आएकी थिइन् । वीरेन्द्रनगरस्थित आफ्नी दुईवटी फुपुको घरमा पनि आश्रय नपाएपछि उनी भौतारिएर बजार हिँडिरहेकी थिइन्।

सोही बेला उनी उकेराकर्मी र अधिवक्ता गीता कोइरालाको सम्पर्कमा आइन्। दुवै जनाको समन्वयमा उनलाई वीरेन्द्रनगर-७ स्थित स्थानीय माया गुरुङको घरमा राखिएको थियो।

मानव सेवा आश्रम लगायतका संस्थाहरूमा ठाउँ नभएको भन्दै उनलाई लिन नमानेपछि स्थानीय गुरुङको घरमा ११ दिनसम्म राखेर मनोपरार्म समेत दिइएको थियो। उपचारपछि उनी मंगलबार छिन्चुस्थित मामाघर फर्किएकी छन्।

आमाले अर्को विवाह गरिन् र बुवा मानसिक रोगी हुँदा उनी बेसहारा बन्न पुगेकी थिइन्। हजुरआमाले १५ वर्षको उमेरमै ४० वर्षीय पुरुषसँग विवाह गरिदिएकी थिइन्।

एक महिना त्यहाँ बसेकी उनलाई ती पुरुषले हिंसा गर्न थालेपछि संगीता पुर्वी सुर्खेको छिन्चु र सप्तरीको स्थानीय होटेलमा काम गर्थिन्। छारे रोगकै कारण समाज र नातेदारबाटै अपहेलित भएपछि उनी मानसिक समस्यामा समेत रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनी दुई सन्तानमध्ये जेठी छोरी हुन्। उनीभन्दा पछाडि १७ वर्षीय भाइ संगम परियार छन्। उनी अहिले भारतमा छन्। उनीहरु दुई भाइबहिनी सानै हुँदा उनकी आमाले छोडेकी थिइन्। घरायसी समस्याकै कारण संगीताले कक्षा चारभन्दा बढी पढ्न पाइनन्।

आफन्तहरूले संगीताको अहिलेसम्म नागरिकता समेत बनाइ दिएका छैनन्। गाउँका मान्छेहरूले २०५८ सालमा जन्मेको र संगीता नाम हो भन्ने आधारले उनी आफ्नो नाम र उमेर बताउँछिन्। तर, त्यो खुल्ने कागजात भने उनीसँग छैन।

२६ भदौ, २०८०, १८:५९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।