एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौं : संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ।

सामान्य रूघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा त्यहीं निधन भएको नेम्वाङका स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले बताए।

यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत पार्टी नेता अस्पताल पुगेका थिए।

वि. सं. २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवि बनाएका नेता हुन्।

स्नातक अध्ययनका क्रममा वि. सं. २०२८/२९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए।

वि. सं. २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले)मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

वि. सं. २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए।

नेम्वाङ वि. सं. २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, वि. सं. २०६४ व्यवस्थापिका संसद्को सभामुख, वि. सं. २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष र सभामुख रहेका थिए।

वि. सं. २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङले २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।

२६ भदौ, २०८०, ०७:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।