बीपीलाई कुट्ने मातृकाप्रसादको योजनाका ‘साक्षी’ पुरुषोत्तम शमशेर जबरा

बीपीलाई कुट्ने मातृकाप्रसादको योजनाका ‘साक्षी’ पुरुषोत्तम शमशेर जबरा

काठमाडौं : दिउँसो तिर। चर्काे घाम। जमलमा रहेको सेतो दरबारबाट बिना साइकल डरै डरले भरिएर टुँडिखेल पुगे इतिहासकार पुरुषोत्तम शमशेर जबरा। ‘अब के हुने हो?’ भन्ने उनलाई लागिरह्यो हिंडिरहँदा।  मातृकाप्रसाद कोइराला भर्खर प्रधानमन्त्री भएका थिए पहिलो पटक। राणा शासनपछि आम नागरिकको सन्तान प्रधानमन्त्री हुने अवसर उनैले पाएका थिए। 

नेपाली कांग्रेसको कार्यक्रम थियो टुँडिखेलमा। बोलिरहेका थिए कांग्रेस नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला। उनी बोल्दै थिए, मोटो बाँसको लाठीले टाउकैमा बजारे केही कांग्रेसीले। खैलाबैला मच्चियो। कुटाइ बीपीले मात्रै खाएनन् बीपी श्रीमती सुशीला कोइरालाले समेत खाइन्। 

सुवर्ण शमशेरलाई घेरेर गाडीमा हालेर लगिंदै गर्दा पुरुषोत्तम शमशेरले देखे। पुरुषोत्तम शमशेर पछाडि पछाडि सरेर आफू बसेको स्थान सेतो दरबारतिर लागे। ‘विश्वेश्वरलाई त मारे होलान् भन्ने लाग्यो मलाई। टाउकैमा बजारेका थिए मोटो बाँसले।

कार्यक्रम नै तितरबितर बनाए,’ पुरुषोत्तम शमशेरले आँखा भरी आँसु लिंदै भने, ‘म पहिले मातृका बाबुसँग नजिक छन् भनेर चिन्थे, त्यो कुटपिट कार्यक्रममा मेरो सहमति थिएन। मेरो सहभागिता नभएको सुवर्ण शमशेरले देख्नु भयो। त्यसपछि म घर लागें।’

बीपीलाई कुट्नु केही दिनअघि मातृकाप्रसाद कोइरालालाई भेटेका थिए पुरुषोत्तम शमशेरले। प्रधानमन्त्री भएपछि त्रिपुरेश्वरमा बस्थे कोइराला। अरू नै कामले मातृका खोज्दै पुगे पुरुषोत्तम शमशेर। कोइराला निवास जाँदा देखेनन्। उनी चढ्ने गाडि आँगनमै थियो। खोजे तर भेटेनन्।

उनी फर्कनै लागेका थिए ढोकेले मातृका भएको कोठा देखाइदिए। ढोका मात्रै के खोलेका थिए २५/३० जना मान्छे वरपर राखेर केही बोलिरहेका थिए मातृका। पुरुषोत्तम भित्र छिरेनन्, ढोका ढप्काइदिए। भित्रबाट मातृकाले ‘को हो?’ भनेर फेरि ढोका खोल्न अह्राए।

पुरुषोत्तम शमशेर देखेपछि भित्रै आउन आग्रह गरे। पुरुषोत्तम शमशेर गएर बसे पनि। भित्र त खतरा सल्लाह भइरहेको थियो। पुरुषोत्तमलाई उकुसमुकुस भयो। केही दिन पछि हुने कार्यक्रममा बीपीलाई कुट्न मातृकाले भनिरहेका थिए। बीपी बोल्न मञ्चमा उक्लेपछि कुट्ने सल्लाह भएको थियो। 

त्यतिबेला आफू केही बोल्नै नसकेको बताउँछन् पुरुषोत्तम। भन्छन्, ‘प्रधानमन्त्री जस्तो व्यक्तिलाई मैले केही भन्ने कुरा पनि आएन। उहाँहरूले बीपीलाई मर्ने गरी कुट्न पो सल्लाह गर्दै हुनुहुँदो रहेछ,’ पुरुषोत्तमले भने, ‘पातलो हुनुहुन्थ्यो विश्वश्वेर बाबु। मलाई अहिले पनि लाग्छ यस्तो गर्न हुँदैन भनेको भए विश्वेश्वर बाबु कुटिनुहुन्नथ्यो कि। तर मातृका रोकिने खाले व्यक्ति चाहिं थिएनन्।’

०००

रुद्र शमशेरको नाति जसले राणा शासन हटाउन बन्दुक उचाले

१९६२ सालमा साबिकको दरबार आगलागी भएपछि नयाँ दरबार बन्यो ‘चारबुर्जा दरबार’। त्यो पनि ठमेलमा। (हालको निर्वाचन कार्यालय रहेका भवन) वास्तुकलाविद् जोगलाल स्थापितले यो दरबारको ‘डिजाइन’ गरेका थिए। ठूला-ठूला कोठा। दरबारको चारै तिर बुर्जा निर्माण गरियो। साबिकको घरमा बस्थे तत्कालीन श्री ३ महाराज वीर शमशेर। उनको निधन भएपछि त्यो दरबारमा १९५९ सालमा सरे रुद्र शमशेर। 

प्रथम फिल्ड मार्सल समेत रहेका रुद्र शमशेरका छोरा ईश्वर शमशेरका छोरा हुन् पुरुषोत्तम शमशेर। उनको जन्म वि.सं.१९८२ चैत्रमा त्यही चारबुर्जा दरबारमा भयो।

राजर्षि ठाँट नै बेग्लै। पुरुषोत्तम शमशेर जबराहरू दरबारको आँगनमा जाँदा समेत राजर्षि शैलीमा जानुपर्थ्यो। छाता ओढाउने व्यक्ति र आठपहरिया सँगै हुन्थे। एक्लै दुक्लै त हिंड्नै नपाइने। 

आठ वर्षका थिए पुरुषोत्तम। त्यही चारबुर्जा दरबारको मूल कोठामा फलामको दलिन राख्ने काम हुँदै थियो। अर्काे सानो घरमा बसिरहेका थिए। घरमा पुरुषोत्तम शमशेरका फुपूहरू आएका थिए। पुरुषोत्तम शमशेरका बुबा ईश्वर शमशेर पनि त्यही कोठामा थिए।

एक्कासि घर हल्लियो। पुरुषोत्तम शमशेरकी हजुरआमाले भनिन् ‘लौ न भुईंचालो गयो।’ ईश्वर शमशेर ढोकामा गएर उभिए। आठपहरिया मध्ये एक जनाले भने ‘हजुर त्यसरी बस्न हुँदैन।’

‘ईश्वर शमशेरले सोधे, ‘कसरी बस्ने त?’ ती व्यक्तिले भने, ‘चौरमा जानुपर्छ।’ त्यसपछि कोठामा भएका सबैजना खुला चौरमा बसे। 

पुरुषोत्तमका हजुरबुबा रुद्र शमशेरलाई आठपहरियाले बोकेर राखेका थिए। रुद्र शमशेरलाई भुईंमा राख्न मानिरहेका थिएनन्। रुद्र शमशेरले, ‘भुईंमा छाडिदेओ न मलाई’ भनेपछि मात्रै राखिदिए। 

आठपहरिया बिना कहिल्यै बाहिर ननिस्केका पुरुषोत्तम शमशेर दंग परे। उनी चौरमै खेलिरहेका थिए। भर्खरै आफैं बसेर निस्केको घर त गर्ल्याम्म पो ढल्यो। पूरै धूलो उड्यो। ‘मेरै आँखाले देखें। म त एकैछिन त हेरेको हेर्यै भएँ।’ उनले भने। 

‘सबै जना चौर मै थिए। दुई जनालाई घरतिरबाट केही आठपहरियाले बोक्दै ल्याए। रुद्र शमशेरलाई भेट्न पालो पर्खेका दुई सुब्बालाई दलिन ले किचेछ एक जना सुब्बाको टाउकै फुटेर गिदी बाहिर निस्केछ। अर्काे सुब्बालाई पनि चोट लागेछ। दुई सुब्बालाई बोकेर ल्याएर रुद्र शमशेरको अघि राखे।’

रुद्र शमशेरले ‘मेरो अघि किन ल्याएका वीर अस्पताल लैजाओ न’ भनेपछि दुवैलाई वीर अस्पताल लगेको सम्झन्छन् पुरुषोत्तम।

१९९० मा भुकम्प जाँदा प्रधानमन्त्री थिए जुद्ध शमशेर। घाँटीमा समस्या देखियो पुरुषोत्तमको। भारतमा उपचारका लागि लैजानुपर्ने भयो। भारत जानुभन्दा अघि ईश्वर शमशेरले सिंहदरबार लिएर गए।

पहिलो पटक सिंहदरबार गएका थिए पुरुषोत्तम। ईश्वर शमशेरले पहिल्यै सिकाएर लगे। ‘मैले ज-जसलाई ढोग्छु उनैलाई ढोग्नु। मैले नढोगेकालाई नढोग्नु।’

सिंहदरबार पुगेपछि केही बेर पर्खाइमा बसे जुद्ध शमशेरको। जुद्ध शमशेरलाई उनका बुबाले ढोगे। उनले पनि उसैगरी ढोगे। दुई सिपाही वरपर आठपहरियाले घेरिएर बसेका थिए जुद्ध शमशेर। त्यसपछि उनीहरू लागे भारत तिर। 

जुद्ध शमशेरको रुद्र शमशेरसँग उत्ति राम्रो थिएन। भुकम्प गए लगत्तै पाल्पा लखेटिए। त्यो चारबुर्जा दरबार अधिकरण गरी जुद्ध शमशेरले आफ्ना छोरा बहादुर शमशेरलाई दिए। 

पाल्पा लखेटिएका रुद्र शमशेरको परिवार पाल्पामा नै बसे। विद्यालय शिक्षाको निम्ति भारत पठाउने सोच बनाएका थिए रुद्र शमशेरले नाति पुरुषोत्तम शमशेरलाई। जुद्ध शमशेरले चिठी लेखे ‘छोराछोरी पढाउन भारत नपठाउनु, शिक्षक राखेर पाल्पामा नै पढाउनु।’

केही समयसम्म पाल्पामा नै पढे पुरुषोत्तमले। पछि भने भारत गए। भारतको वर्गनियामा दुईवटा घर लिएका थिए पुरुषोत्तम शमशेर जबराको परिवारले। पाल्पा लखेटिएपछि पुरुषोत्तम शमशेरको परिवार नै राणा शासन हटाउने क्रान्तिमा लागि परे। 

पुरुषोत्तम शमशेर नेपाली कांग्रेससँग आबद्ध भए। ‘क्रान्तिमा लागेपछि मेरो त पढाइ छुट्यो। प्रधानमन्त्री ल्याउनुपर्छ भनेर आन्दोलनमा लागियो। हाम्रो घरमा अढाइ सय भूपु सैनिकको जत्था थियो,’ पुरुषोत्तमले जोसिदै भने, ‘भारतको नौतुवनाको जिम्मा डा. केआई सिंहको अनि कृष्णनगरको जिम्मा मेरो थियो। हामीले सजिलै कब्जा गर्याैं।’

क्रान्ति ताका बन्दुक नै चलाएको स्मरण गर्छन् पुरुषोत्तम शमशेर। ‘सरकारी सेनाको जवाफी फायरिङमा मैले पनि गोलि चलाएँ,’ पुरुषोत्तम शमशेरले सेनाअघि भाषण गरेको सम्झिए। उस्तै चर्काे आवाजले उकेराकर्मीलाई सुनाए, ‘मैले त त्यतिबेला ‘क्रान्ति-क्रान्ति-क्रान्ति भने नि।’

डा. केआई सिंहले एकनाले बन्दुक लिएर क्रान्ति गर्न लागेका उनी असफल भएको बताउँछन् पुरुषोत्तम शमशेर। ‘हामीलाई थाहा थियो सरकारको सेना कति बलियो छ भन्ने कुरा। त्यही अनरुप हामी लड्नुपर्ने थियो। केआई सिंहसँग मेरो खासै कुरा मिलेन। उनी एकनाले बन्दुक लिएर लडाई गर्न तम्सेका थिए। यो त असम्भव थियो,’ उनी विगतलाई सम्झन्छन्। 

बीपी र मातृकाले एक दिन भेट नहुँदा बोलाइहाल्थे

कृष्णनगर कब्जा गरेका थिए पाल्पाको टोलीले। क्रान्ति चलिरहेकै थियो। मातृकाप्रसाद कोइराला सरकारी कर्मचारी थिए। सुब्बामा कार्यरत थिए। रुद्र शमशेरसँगै हिँड्थे उनी। एक दिन भारतको कलकत्तामा उनीहरू गए। पेस्तोलमा तेल लगाएर सुकाएका थिए। रुद्र शमशेरले पेस्तोल मातृकाको निधार अघि तेर्स्याइरहेका थिए। त्यतिबेला नै आइपुगे ऋद्धि विक्रम। उनले भने, ‘यसरी पेस्तोलसँग जिस्कनु हुँदैन नि।’

त्यतिबेला केही आवाज आयो ढले मातृका। ‘रगत’ देखियो निधारमा। ऋद्धि विक्रमले रुद्र शमशेरलाई डाक्टर खोज्न पठाए। खासमा त्यो आवाज बन्दुकको थिएन। अनि निधारमा रगत आएको पनि थिएन। दुवै जना मरी-मरी हाँस्न थाले।

केही बेरपछि हस्याङफस्याङ गर्दै आइपुगे ऋद्धि विक्रम। ऋद्धि विक्रम आउँदा मातृका उसै गरी ढलिरहेका थिए। रुद्र शमशेरले निराश हुँदै भने, ‘मान्छेले देख्लान्, मातृकालाई कतै राख्देओ। नहुनु भइहाल्यो।’

ऋद्धि विक्रमले अँध्यारो मुख लगाए। एकै छिनमा उठेर हाँसे मातृका। मातृका कोइरालासँग पहिलेदेखि नै सम्बन्ध थियो पुरुषोत्तम शमशेरको।

कृष्णनगर कब्जा गरेपछि राजा त्रिभुवन भारतमा निर्वासनमा छँदा नै भेट्न पुगेका थिए पुरुषोत्तम शमशेर र उनका बुबा ईश्वर शमशेर। त्यतिबेला त्रिभुवनसँग हार्दिकताका साथ कुरा भएको सम्झन्छन् पुरुषोत्तम। 

मुक्ति सेनामा काम गरेका पुरुषोत्तमलाई बीपी र मातृका दुवैले सेनामा काम गर्न नभनेका होइनन् तर ‘जा–गिर म किन खान्थें र’ भनेर पुरुषोत्तमले खाएनन्। दुवै दाजुभाइले पुरुषोत्तमलाई माया गर्थे। दाजुभाइको मनमुटाव चरम स्थितिमा पुग्यो।

बीपीको ‘फलो’ गरेर सूचना दिन काम पो अह्राए मातृकाले। पुरुषोत्तम सम्झन्छन्, ‘दुई दाजुभाइलाई कसरी मिलाउने होला भन्ने तनाब नै हुन्थ्यो हामीलाई। केही गरी मिलाउन सकिएन।’

मातृका प्रधानमन्त्री भएपछि पनि उस्तै विवाद थियो नेपाली कांग्रेसभित्र। त्यही मेसोमा छिरेका थिए मातृकाको घर पुरुषोत्तम। जसै बीपी कुट्नुअघि नै उनले थाहा पाएका थिए त्यो सूचना। तर उनले सूचना दिन सकेनन्। उनलाई अहिले पनि यस घटनामा पछुतो छ। भन्छन्, ‘विश्वेश्वरलाई कुट्नबाट रोक्न सकिएन।’

महेन्द्र कपटी, बीपी विद्वान

सेतो दरबारमा बस्ने पुरुषोत्तम शमशेर महेन्द्रले ‘कू’ गरेपछि प्रत्यक्ष रुपमा कतै पनि जोडिएनन्। उनी कांग्रेस नेताहरूसँग पनि टाढा भए। होटल खोले, होटल टुरिष्ट र इम्पेरियर।

१२ वर्ष दुई होटल चलाएका उनी होटलका एउटा रमाइलो कुरा सम्झिएर हाँसे। भएछ के भने, एक जना भारतीय आएर होटलको प्राङ्गणमा पल्टिएछन्। पूरै फाटेको लुगा लगाएका। पुरुषोत्तमले उनलाई बरु केही काम गरेर अर्काे लुगा लगाउनु। यसरी नसुत्नु भनेर सम्झाएछन्।

ती व्यक्तिले निहुँ खोजेछन्। ‘के सोचेका छौ मलाई? किन काम गर्नु मैले?’ एकछिन पछि त भित्री खल्तीबाट पैसाको बिटो निकालेर देखाएछन्। त्यसपछि पुरुषोत्तम चुप्प लागेछन्। त्यतिबेला नै फाटेको लुगा लगाउने फेसन आइसकेको रहेछ। 

पुरुषोत्तमले १२ वर्ष चलाएपछि त्यो होटल बेचे तत्कालीन मुमा बडामहारानी रत्नलाई। सुरुदेखि नै उनले त्यो होटल आफूले चलाउनु पर्ने माग गरिरहेकी थिइन्। रत्नले कुनै सचिवको नाउँमा किनिन्। ‘अहिले त्यो त्यही सचिवले खायो होला नि।’ पुरुषोत्तमले भने। 

१७ सालमा राजा महेन्द्रले ‘कू’गरे यसबारे तपाईंको धारणा के छ? ‘महेन्द्र कपटी रहेछ। छोटो बुद्धि भएको। बीपी विद्वान थिए। जनताको लागि गर्नुपर्छ भन्ने।’ पुरुषोत्तम शमशेरले भने। 

‘जेलमा बीपीलाई भेट्न जानु भयो?’ उकेराको अर्काे प्रश्नमा पुरुषोत्तम शमशेरले भने, ‘गइनँ कारागार त। उहाँ बितेपछि शब यात्रामा गएँ,’ गह भरी आँसु पार्दै उनले थपे, ‘अब नाम नलिम।’ उनी केही बेर रोए। 

होटल चलाए, देश विदेश घुमे पुरुषोत्तम शमशेर। उमेरले ९८ वर्ष भइसके। धेरै कुरा उनी सम्झन सक्दैनन्। राणा शासन, पञ्चायत र गणतन्त्र देखेका उनले राजतन्त्र जानुमा राजाहरूमा दूरदर्शीता नभएको बताउँछन्। ‘राजाहरू जनताको भएनन्। उनीहरू अरू नै कुरामा भुल्न थाले। ढिलो चाँडो राजतन्त्र त जान्थ्यो नै।’

विस्मृति भएका पुरुषोत्तम शमशेरका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ भाग १ र भाग २, ‘राणाहरूको दरबार’ लगायतका एक दर्जन पुस्तकहरू प्रकाशित छन्। १५ वर्ष देखि हिंडडुल गर्न नसक्ने पुरुषोत्तम शमशेरले भने, ‘हिंड्न मन त लाग्छ नि ह्विलचेयरमा, बाटो नै छैन। फुटपाथ नभएको पनि देश हुँदो रहेछ।’

२४ भदौ, २०८०, ०८:३३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।