वडाध्यक्ष रिजालको पशुपति आर्यघाटमा अन्त्येष्टि

वडाध्यक्ष रिजालको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ।

आर्यघाट लैजानुअघि महानगरपालिकाले उनको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक सरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो। त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले स्व. रिजालको पार्थिव सरीरमा महानगरपालिकाको झण्डा ओढाउनुभएको थियो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्यहरू, नगर सभा सदस्यहरू, कर्मचारी, विभिन्न पार्टीका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरे।

त्यसपछि महानगर प्रहरी बलको सवारी साधनमा शव यात्रा गरिएको थियो। अन्तिम संस्कार गर्नुअघि पशुपति क्षेत्रमा नेपाली कांग्रेस पार्टीले अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो। त्यहाँ श्रद्धाञ्जलीका लागि पार्टी अध्यक्ष शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापासहित नेताहरू पुगेका थिए।

रिजालको निधनले महानगरपालिकालाई अपुरणीय क्षति भएको महानगरपालिकाले जनाएको छ।

प्रवक्ता नविन मानन्धरले जारी गरेको स गर्नुभएको शोक विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाले होनहार र स्पष्ट बोल्ने जनप्रतिनिधि गुमाएको छ।’

यस्तै प्रशासन विभागका प्रमुख दिपक अधिकारीको हस्ताक्षरमा भदौ २२ गते शुक्रबार शोक विदा सम्बन्धी सूचना जारी भएको छ। यस दिन विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरुलाई विदा दिइएको हो।

रिजालको मृत्युका विषयमा धापासीस्थित ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएको मृत्यु भएको बताएको थियो।

रिजाल यसअघिको कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदका लागि निर्वाचित भएका थिए। चुनावमा उनले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा प्रतिस्पर्धा गरेका थिए। स्पष्ट वक्ताका रूपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक थिए।

पिता मेघनाथ र माता राधादेवीको सन्तानका रूपमा उनको जन्म २०२७ साल कार्तिक १९ गते धादिङमा भएको थियो। उनी मातापितासँगै श्रीमति कविता, छोराहरू सन्देश र सार्थकका साथमा बस्दै आएका छन्।

२१ भदौ, २०८०, २१:५९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।