एमाले लुम्बिनी अधिवेशन : ओलीले ‘चिर्कटो’ थमाइदिए, पद्माले टेर्दै टेरिनन्

एमाले लुम्बिनी अधिवेशन : ओलीले ‘चिर्कटो’ थमाइदिए, पद्माले टेर्दै टेरिनन्

बुटवल : एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको नेतृत्व चयन मतदानबाट टुंगिएसँगै प्रदेशमा स्पष्ट दुई धार देखिएको छ। यसले एमालेभित्र फेरि ‘गुट’ जन्मिएको भन्न अब कुनै आइतबार पर्खिरहनुपर्दैन।

नेतृत्व चयनसँगै प्रदेशको राजनीतिक चक्र एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको वरपर घुमेको छ। बुधबार विहान सम्पन्न मतगणनामा पोखरेलनिकट प्यूठानका हरि रिजाल र पौडेलनिकट पाल्पाका राधाकृष्ण कँडेलबीच कडा प्रतिस्पर्धा भयो। दुई मतले कँडेलको पल्ला भारी भयो।

भदौ १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्दै सहमतिमा नेतृत्व टुंग्याउन निर्देशनै दिए। केन्द्रीय पदाधिकारीको लर्को लागेको प्रदेशले सहमतिमा नेतृत्व टुंग्याएर देशभर सन्देश दिनसमेत उनले आग्रह गरे।

तर, ओलीले भनेको जस्तो भएन। नेतृत्व सहमतिमा टुंगिएन। निर्वाचनै गर्नुपर्ने परिस्थिति बन्यो।

त्यहि साँझ लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालमार्फत प्यूठानका रिजाललाई ओलीले ‘ग्रीन सिग्नल’ दिए। पद्मालाई सहमति हुन नसके अन्तिम समयमा यहि घोषणा गर्न भन्दै एउटा ‘चिर्कटो’समेत थमाइदिए, जसमा थियो रिजालको नाम।

पार्टीभित्र ओलीको वचन अकाट्य जस्तै भए पनि लुम्बिनीमा त्यसो हुन सकेन। ओलीले दिएको आदेश प्रदेश इन्चार्ज अर्यालले टेरिनन्।

‘त्यो कागजमा रिजालको नाम देखेपछि पद्माले मैले यो नाम घोषणा गर्न सक्दिनँ भन्नुभयो। यसमा विष्णु पौडेल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा सहितका नेताहरूले साथ दिनुभयो। यहि अडानकै कारण लोकतान्त्रिक ढङ्गले नेतृत्व आएको हो’, एमाले स्रोतले भन्यो।

महासचिव शंकर पोखरेल भदौ १६ मा चीन उड्नुअघि उत्तराधिकारीका रूपमा उपमहासचिव प्रदीप ज्ञवालीलाई खटाए। ज्ञवाली पनि महासचिवको आदेशअनुसार रिजालको पक्षमा मोहल बनाउन लागे।

एमाले नेताहरू शंकर पोखरेलले रिजाललाई जिताउन हर सम्भव प्रयास गरेको बताउँछन्। कतिपयलाई आगामी निर्वाचनको टिकट देखाएर मत तान्न खोजेको चर्चा पनि एमाले वृत्तमा छ।

‘रिजाल अध्यक्ष भएपछि पालिका, वडा तहको टिकट वितरण गर्ने अधिकार हुने भएकाले कतिपयलाई पालिका र वडाको अध्यक्षमा टिकट दिने आश्वासन पनि दिएको पाइयो’, एमाले स्रोत भन्छ।

हरि रिजालसँग खटपट सम्बन्ध रहेकै कारण प्यूठानका संघीय सांसद सूर्य थापा केही तटस्थ जस्तै बने। माहोल बनाउन र भत्काउन उनी सक्रिय नभएको प्यूठानी नेताहरू बताउँछन्।

निर्वाचनको समयदेखि यी दुई मित्रता त्यस्तो धेरै नजिक छैन। तर, रिजाल निकटहरू भने थापा तटस्थ बस्नुले रिजालको माहोलमा प्रभाव पारेको बताउँछन्।

यो अधिवेशनले मुलतः अब ओलीको चाहना मात्र नियम हैन भन्ने पुष्टि पनि गरेको छ। ‘वान मेन डिसिजन मेकर’ जस्ता ओलीको बोलीलाई रोक्दै प्रतिस्पर्धामा जानु र उनले चाहेको व्यक्ति निर्वाचनबाट नचुनिनुले पनि अब ओली भित्रको ‘दम्भ’ कमजोर बनाउन दोस्रो तहका नेताहरू अघि बढेको एमाले नेताहरू बताउँछन्।

‘अब ओली नै सर्वेसर्वा हुन् भन्ने सन्देश यो अधिवेशनपछि गलत सावित भएको छ। लुम्बिनीले यसको सुरुवात गरेको छ। अब प्रदेशमा हुने अधिवेशनमा के हुन्छ त्यो हेर्न बाँकी छ। ओली प्रवृत्ति कार्यकर्तालाई मन परेको छैन भन्ने पनि सन्देश यसले दिएको छ’, एक नेताले भने।

ओलीको चाहनाविपरीत नतिजा
अध्यक्ष ओलीले १७ गतेको बन्द सत्रमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए। तर, पोखरेल र पौडेलबीचको ‘प्रतिष्ठाको लडाइँ’ बन्न पुग्यो लुम्बिनी अधिवेशन। दुवै निकटकाले छुट्टा–छुट्टै प्यानल बनाएरै निर्वाचनमा होमिए।

निर्वाचनबाट मतपरिणाम आउनु लोकतन्त्रमा सुखद् पक्ष हो। तर, यसले दुई नेतालाई दुई धारमा ‘गुट जन्माउने’ ट्याग नलाग्ला भन्न सकिँदैन।

पार्टीभित्र ओलीको बोलीमा टिकाटिप्पणी गर्न प्राय नेताहरू अघि सर्दैनन्। तर, लुम्बिनीको नेतृत्व छानिँदा त्यो नेतृत्व ओलीको चाहना र निर्देशनविपरीत आयो। यसले पार्टीमा फरक–फरक गुट बन्ने त होइन भन्ने संशय पैदा भएको छ।

तर राजनीतिक विश्लेषक भने पार्टीभित्र समूह निर्माण हुनु स्वभाविक ठान्छन्। राजनीतिक विश्लेषक मनिकर कार्की पार्टीहरूमा केही समूहको निर्माण हुनुलाई अस्भाविक लिन नहुने बताउँछन्।

‘पार्टीभित्रका गतिविधि जीवन्त राख्न विचार विमर्स हुनुपर्छ। वादविवाद हुनुपर्छ। केही समूह जन्मनु स्वभाविक हो। यसलाई पार्टीभित्रको अंगको रूपमा लिनुपर्छ’, उनले भने।

लोकतान्त्रिक ढंगबाट आएको नेतृत्वले समग्रमा सकारात्मक सन्देश दिएको उनको भनाइ छ।

‘दुई समूहबाट निर्वाचनमा उठे पनि यसलाई अन्य ढंगले विश्लेषण गर्नुभन्दा पनि विचार समूहको रूपमा व्याख्या गर्नुपर्छ,’ उनले थपे, ‘विचार, छलफल र विमर्सले पार्टीलाई जीवन्त बनाउँछ।’

सबै नेता कार्यकर्ताले लोकतान्त्रिक प्रक्रियालाई विश्वास गरेको अवस्थामा विवादको विषय गौण हुने उनी बताउँछन्।

अरुबेला अघिपछि, निर्वाचनमा घात
अधिवेशनमा नेताहरू स्पष्ट कित्तामा खुले। रुपन्देहीमा बसेर राजनीति गर्नेहरू र सधैँ उपाध्यक्ष विष्णु पौडेलसँग उठबस गर्नेहरूले यसपटक पौडेललाई साथ दिएनन्।

०७४ को निर्वाचनपछि बनेको लुम्बिनी प्रदेश सरकारका पहिलो मुख्यमन्त्री शंकर पोखरेलाई साथ दिएका प्रदेश सांसद भूमिश्वर ढकाल यसपटक खुलेरै रिजालको पक्षमा लागे।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नगर अध्यक्ष किशन ज्ञवाली, युवा नेता राजेन्द्र ढकालहरूले पनि विष्णु पौडेललाई साथ दिएनन्।

त्यसबाहेक केन्द्रीय सदस्य शिव सुवेदी, नेता मोहन चापागाईं, एमाले जिल्ला सचिव यज्ञ गैरे, प्रचार विभाग प्रमुख हितराज पन्थी पनि खुलेर रिजालको पक्षमा लागे।

गुट क्षम्य छैन
बुधबार बिहान अधिवेशन सम्पन्न भएपछि एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र गुट राजनीति क्षम्य नुहने बताइन्।

अधिवेशनमा दुई समूह बनाएर लागेका कँडेल र रिजाललाई स्थायी गुट बनाइए पार्टीले टुलुटुलु हेरेर नबस्ने भन्दै उनले मिलेर अघि बढ्न निर्देशन दिइन्।

‘अधिवेशनका समयमा हामीले जे टिम निर्माण गयौँ, यो अधिवेशनमा बनाइएको टिम स्थायी गुट नबनोस्। स्थायी गुट बन्यो भने क्षम्य हुँदैन, पार्टीले हेरेर बस्दैन’, उनले भनिन्।

एमाले लुम्बिनीका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेल

२० भदौ, २०८०, १८:०८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।