मानव बेचबिखन तथा ओसारपसारबारे चार वर्षमा सात मुद्दा दर्ता, प्रहरीसम्म किन पुग्दैनन् पीडित?

मानव बेचबिखन तथा ओसारपसारबारे चार वर्षमा सात मुद्दा दर्ता, प्रहरीसम्म किन पुग्दैनन् पीडित?

सुर्खेत : कर्णाली प्रदेश, आर्थिक सुचाङ्क र भौगोलिक विकटताले पिछडिएको। त्यसमाथि शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको सास्ती त छँदै छ। आपराधिक गतिविधिमा पनि उत्तिकै। 

पछिल्लो समय लागूऔषध दुर्व्यसनीका घटना बढेको भन्दै प्रदेश राजधानी सुर्खेत चर्चामा आएको छ। कर्णालीमा वर्षेनी शिक्षा, स्वास्थ्य र रोजगारीका नाममा कैयौं बालबालिका र महिलाहरू ओसारपसार र बेचबिखन हुने गरेका छन्।

तर, सुर्खेत प्रहरीमा विगत चार वर्षदेखि मानव बेचविखन र ओसारपसारका सात वटा मात्र मुद्दा दर्ता भएका छन्। यद्यपि घटना यति मात्रै छैनन् भन्ने प्रहरीलाई पनि थाहा छ। यो तथ्याङ्कले मानव बेचबिखनका मुद्दा प्रहरीसामु आउन नसकेको प्रष्ट देख्न सकिन्छ।

मानिसले आफूलाई भएको अन्याय र पीडा बाहिर ल्याउन नचाहँदा मुद्दा दर्ताको संख्यामा कमी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापा बताउँछन्।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७औं राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरीपछि सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा एसपी थापाले यस्ता घटनाहरू धेरै भइरहेको बुझिए पनि उजुरी नपरेको बताएका हुन्।

‘समाजमा बेचविखन र ओसारपसारका घटना त धेरै भइरहेका छन् भन्ने बुझिन्छ। तर, त्यस्ता घटना प्रहरीसम्म त्यति आएको पाइँदैन,’ उनले भने, ‘सायद जनचेतना र कानूनी सचेतनाको अभाव भएर होला।’

मानव बेचविखन तथा ओसारपसारको मुख्य कारण बेरोजगारी र गरिबी भएको थापाको भनाइ छ।

नेपालमा मानव बेचविखन तथा ओसारपसारको अवस्था दयनीय भएको र त्यसको प्रभाव कर्णालीमा रहेको भए पनि पीडितहरू नखुलिदिनाले पीडकले उन्मुक्ति पाउने खतरा बढेको उनी बताउँछन्।

सुर्खेतमा आर्थिक वर्ष २०७६/७७ मा एक, २०७७/०७८ मा एक, २०७८/०७९ मा दुई र २०७९/८० मा तीनवटा मुद्दाहरू आएका हुन्।

कार्यक्रममा मानवबेचविखन, ओसारपसार नियन्त्रण समिति सुर्खेतका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले यस्ता घटनामा राज्यले कडा कानूनको व्यवस्था गरे पनि पीडित नखुल्दा दोषीले उन्मूक्ति पाएको बताए।

‘कसैले राम्रो रोजगारी र शिक्षाको नाममा बालबालिका र महिलाहरूलाई बेचविखन तथा ओसारपसार गरिरहेका खबर यही समाजमा सुनिन्छ। तर, आफ्नो पीडा बाहिर ल्याएर कानूनी लडाईं लड्ने त औँलामा गनिने मात्रै हुन्छन्,’ सापकोटाले भने, ‘यसको मुख्य कारण गरिबी र अशिक्षा नै हो।’

मानव बेचबिखनका घटनाहरू बढिरहे पनि त्यसलाई बाहिर ल्याउन सचेतना नै आवश्यक रहेको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए।

‘पीडितहरूको सानो सोचाइ हुन्छ। आफूले जे भोगेँ, भोगिहालेँ। बाहिर ल्याएर के नै हुन्छ र भन्ने सोचाइ हावी भएको  समाजमा,’ प्रमुख सुनारले भने, ‘आफूमाथि भएको पीडा बाहिर ल्याए समाज र परिवारको डरले पनि धेरै घटना लुकाइएका छन्। त्यसैले पहिलो कुरा सचेतनाको आवश्यक छ। त्यो राज्यले गर्न जरुरी छ।’

त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव बेचविखनको जालो ठूलो हुने भएकोले त्यसलाई तोड्न सरकारी तथा गैरसरकारी निकायको महत्वपूर्ण भूमिका रहने बताए।

२० भदौ, २०८०, १६:५२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।