समाजवादी सरकारको अनुहार : अपराध गर्ने आमा सजाय भोग्ने कलिला सन्तान!

समाजवादी सरकारको अनुहार : अपराध गर्ने आमा सजाय भोग्ने कलिला सन्तान!

सुर्खेत : वरिपरि ढुंगाका अग्ला-अग्ला पर्खाल, त्यसमाथि काँडेतार। जाडोमा मुटु कमाउने चिसो र गर्मीमा निथ्रुक्क भिज्ने पसिना।

यस्तो चार पर्खाल भित्रको पक्की भवनको महिला बन्दी गृह सुर्खेतमा ३३ वर्षीय आमा शान्ति विकसँगै साढे चार वर्षीय निर्दोष प्रतीक्षा विकले पनि कैद सजाय काटिरहेकी छन्।

भेरीगंगा-१३ कि शान्ति बहुविवाह मुद्दामा कारागार चलान भएकी हुन्। उनलाई अदालतले बहुविवाहको कसुरमा तीन वर्ष कैद सजाय फैसला गरेको छ। घरमा बालिकाको हेरचाह गर्ने कोही नभएपछि शिशु कक्षा पढ्ने छोरीलाई आफूसँगै राख्न बाध्य भएको शान्तिले बताइन्। 

‘घरमा उसलाई हेर्ने कोही छैन। त्यही भएर पढाइ छुटाएर भए पनि यहाँ राख्न बाध्य भएँ,’ उनले भनिन्, ‘मैले अपराध गरे पनि यो निर्दोष बालिकाले के बिराएकी छ र? बिना अपराध उसले पनि सजाय भोगिरहेकी छ।’ छोरीको पढाइ छुटेकोमा चिन्ता लाग्ने गरेको शान्तिले सुनाइन्।

सुर्खेतकै अनु बुढाकी पाँच वर्षीय छोरी जिज्ञासा बुढा पनि कारागारमा आमासँगै छिन्। बुढा चार वर्षअघि कर्तव्य ज्यानमा कारागार चलान भएकी थिइन्। घरमा हेरचाह गर्ने कोही नभएपछि छोरीलाई आफूसँगै राख्न बाध्य भएको उनले बताइन्।

‘यसलाई हेरचाह गर्ने घरमा पनि कोही छैन। अहिले पाँच वर्षकी भइसकिन्। गाउँमा त एक/दुई पढ्ने बेला पनि भइसक्यो,’अनुले भनिन्, ‘कहिलेकाहीं आफूले गरेको गल्तीमा छोरीलाई पनि सजाए दिए जस्तो लाग्छ। बाहिर भए त पढ्ने लेख्ने गर्थिन् होला। समुदायको वातावरणमा हुर्किन्थिन्। यहाँ त के गर्ने हामीसँगै बसेर दिन कटाउँछिन्।’

त्यस्तै गुर्भाकोट नगरपालिका-६ की २८ वर्षीय रुपा विककी साढे दुई वर्षकी छोरी स्वस्तिका विक पनि विगत ९ महिनादेखि आमासँगै कारागारमा बस्न बाध्य छिन्। बहुविवाह मुद्दामा कारागार बसेकी उनको घरमा पनि हेरचाह गर्ने कोही व्यक्ति नहुँदा आफूसँगै राख्न बाध्य भएको बताउँछिन्। 

‘म कारागार आएको ९ महिना भयो। यसको हेरविचार गर्ने घरमा कोही छैन। भएका आफन्तले पनि केही वास्ता गरेनन्। त्यसैले मैले यहाँ आफूसँगै ल्याएकी हुँ,’ रुपाले भनिन्, ‘अहिले घरमा भए क, ख सिकाउने बेला हो। भोलि यसले बाहिर गएर कसरी समाजसँग घुलमिल होली भन्ने चिन्ता लाग्न थालेको छ। बच्चालाई बाहिरजस्तो कारागारमा कहाँ हुन्थ्यो र?’

सुर्खेत कारागारमा ६ महिने बालिका र ९ महिने बालक गरी पाँच जनाले आमासँगै आश्रय लिइरहेका छन्। विद्यालय जाने उमेर समूहका बालबालिका शिक्षाबाट वञ्चित भएको भन्दै उनीहरूलाई पढ्न लेख्न सहज वातावरण मिलाइदिन आमाहरूले अनुरोध गरेका छन्।

यता कारागार व्यवस्था कार्यालय सुर्खेतकी प्रशासक लक्ष्मी खरेलले बालबालिकाको शिक्षाको लागि सरकारी तहबाट केही व्यवस्था नभए पनि अनौपचारिक रुपमा भित्र नै सिकाइ गरिरहेको दावी गरिन्।

‘उनीहरूको पढाइ, लेखाइ बारे माथिबाट त्यस्तो निर्णय त केही भएको छैन। तर, हामीले भित्र नै पढे लेखेका दिदी बहिनीहरूबाट उनीहरूलाई सिकाइका लागि मौखिक रुपमा सहजिकरण गरेका छौं,’ खरेलले भनिन्, ‘सजिलो उपाय भनेको उहाँहरूको परिवारले जिम्मेवारी लिनुपर्ने हो। त्यसो नहुँदा बालबालिका भित्र बस्न बाध्य भएका छन्।’

सुर्खेत मात्रै होइन, कर्णालीका अन्य कारागारमा पनि बालबालिकाले आमासँगै आश्रय लिइरहेका छन्। सल्यानमा १५ महिनाकी बालिका, रुकुम पश्चिममा १८ महिनाका बालक, जुम्लामा एक वर्षीय बालिका र कालिकोटमा चार वर्षीय बालकले आमासँगै कारागारमा आश्रय लिइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए।

उनका अनुसार अहिले सुर्खेत, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालिकोट गरी पाँच जिल्लामा कारागारभित्र ९ जना बालबालिका छन्। हुम्ला र मुगुमा कारागार छैनन्। त्यहाँका कैदीबन्दीलाई जुम्ला, नेपालगञ्ज र सुर्खेत ल्याइन्छ। दैलेख, जाजरकोट र डोल्पा कारागारमा आमासँग बालबालिका नभएको प्रवक्ता भट्टराईले बताए।

इन्सेक कर्णाली प्रदेशको तथ्याङ्क अनुसार गत वर्षको पुससम्म कर्णालीमा १० जना बालबालिकाले आमासँगै कारागारमा आश्रय लिइरहेका थिए।

उमेर पुगेका बालबालिकालाई यसरी कारागारमा राख्नाले उनीहरूको अधिकारको सुनिश्चितता नहुने महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले जनाएका छन्। 

‘सानो उमेरका बालबालिका त आमासँगै बस्नुपर्ने वाध्यता छ। तर, चार/पाँच वर्षका बालबालिकालाई सबै सेवा सुविधाबाट वञ्चित गरेर कारागार राख्नु राम्रो होइन,’ बाल अधिकारकर्मी पवित्रा शाहीले भनिन्, ‘आमाले अपराध गरे पनि बच्चाको त के दोष? कारागारमा शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता कुराबाट वञ्चित हुन्छन्। जसले उनीहरूको सर्वाङ्गीण विकासमा नकरात्मक असर पर्छ।’ 

उनीहरूको अधिकारलाई सुनिश्चित गर्न परिवार र सरकारले सोच्नुपर्ने अधिकारकर्मी शाहीको भनाइ छ।

नेपालको संविधान २०७२ को धारा ३९ अनुसार बालबालिकाको हक र बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार उनीहरूको अधिकार सुनिश्चित गर्न आवश्यक रहेको अधिवक्ता गीता कोइरालाले बताइन्।

‘नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनमा व्यवस्था भए अनुसारका हकअधिकार सुनिश्चितता गर्न सरकार र परिवारको त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ। आमासँगै बस्न पाउने भनेर ऐनमा उल्लेख गरिएता पनि वातावरण र स्थान अनुसार उनीहरूको बृद्धि विकासमा प्रभाव पर्छ,’ कोइरालाले भनिन्, ‘त्यसैले कारागारमा बालबालिका राख्नु त्यति प्रभावकारी मानिँदैन।’
 
आमाहरू कारागारभित्रै सीप सिक्दै 

जिल्ला कारागार सुर्खेतमा रहेका महिला कैदीबन्दीहरू सीप सिकेर स्वरोजगार बन्नेतर्फ लागेका छन्। नेपाल नाजरेत सोसाइटीको सहयोग र नवज्योति केन्द्र सुर्खेतको आयोजनामा उनीहरूले तीन महिने ‘ब्युटिसियन’ तालिमको सुरुवात गरेका छन्।

कारागारभित्र सिकेको सीपलाई बाहिर गएपछि समुदायमा सदुपयोग गरेर जीविकोपार्जन गर्ने योजना रहेको शीतल बादीले बताइन्। उनी ६ महिने बालिकाकी आमा हुन्।

‘विभिन्न वाध्यता, परिस्थिति र परिबन्दका कारण हामी आपराधिक गतिविधिमा संलग्न भयौं। तर, समाजले हामीलाई सदैव आपराधिक नै सोच राख्छ,’ उनले भनिन्, ‘यहाँबाट ब्युटिपार्लरको सीप सिकेर समुदायमा गइ स्वरोजगार बन्ने योजना छ।’

बहुविवाहको मुद्दामा कारागारमा कैद सजाय भोगिरहेकी ९ महिने बालककी आमा गुर्भाकोट-५ कि मनिषा विक सीप सिकाइले मानसिक रुपमा समेत फाइदा पुगेको बताउँछिन्।

१७ भदौ, २०८०, ०८:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।