धनकुटा नगरपालिकाको ‘एक्सन’, १७ सहकारीको दर्ता खारेज

धनकुटा नगरपालिकाको ‘एक्सन’, १७ सहकारीको दर्ता खारेज

धनकुटा : धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ।

ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो।

धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ।

सो प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ।

नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक/एक वटा दुग्ध र विद्युत् सहकारी खारेजीमा परेका छन्। ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए।

१६ भदौ, २०८०, १४:२९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।