एमाले लुम्बिनी अधिवेशन : आफू निकटलाई नेतृत्वमा ल्याउन पोखरेल र पौडेल गुट बनाएरै लविङमा

एमाले लुम्बिनी अधिवेशन : आफू निकटलाई नेतृत्वमा ल्याउन पोखरेल र पौडेल गुट बनाएरै लविङमा

बुटवल :नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरू यतिबेला शक्ति केन्द्र धाउन थालेका छन्। यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ।

प्रदेशभर प्रतिनिधि छनोट भइसकेकाले नेतृत्वका आकांक्षीहरू शक्ति केन्द्रलाई प्रभावमा पार्दै नेतृत्व आफ्नो पक्षमा पार्न केन्द्रित छन्।

लुम्बिनीबाट पार्टी पदाधिकारीमा रहेका नेताहरू, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, (निलम्बित टोपबहादुर रायमाझी) सहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरे लगायतका नेताहरू आफू निकटका नेताहरू नेतृत्वमा आओस् भन्ने चाहन्छन्। 

त्यही अनुरूप आकांक्षीहरू आफ्नो ‘फेवरको गुट’ बनाएर लविङ गर्न लागि रहेका छन्।

प्रदेशको पहिलो अधिवेशनमा एमाले भित्र स्पष्ट गुट देखा पर्ने छनक पनि देखा परेको छ। ‘साइलेन्ट किलर’ जस्तै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच गुटको लडाई छ। 

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा आफ्नो शक्ति देखाएका शंकर पोखरेलले जसरी पनि आफ्नो गुटलाई नेतृत्वमा ल्याउन चाहेका छन्।

तत्कालीन नेकपा हुँदा महासचिव रहेका पौडेल (हाल उपाध्यक्ष) पोखरेलको यो रवैयादेखि खुसी भने छैनन्। स्थानीय तहको निर्वाचनमा कतिपय टिकट छिनोफानो भएको अवस्थामा समेत पोखरेल हावी हुँदा पौडेल पक्षधरले टिकट पाएनन्। त्यसैले पौडेलले पनि प्रदेश नेतृत्व आफ्नो पक्षले गरोस् भन्ने चाहेका छन्।

प्रदेश अध्यक्ष यस पटक एमालेले शक्तिशाली बनाएको छ। टिकट वितरणका सिफारिस समेत प्रदेश नेतृत्वले गर्ने अधिकार छ।

खास गरी पहिलो अधिवेशनको नेतृत्वको दौडमा अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हरि रिजाल छन्। उनीहरूलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ।

कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट नेताको रूपमा चिनिन्छन्। नेता कँडेलले पहिले पार्टी नेतृत्वले नै जिम्मेवारी दिएर पठाएको भन्दै अब आफू पुन: नेतृत्व लिन तयार भएको बताए। 

अध्यक्षका अर्का आकांक्षी हरि रिजालले भने पार्टीलाई व्यवस्थित, वैचारिक रुपमा सुधार ल्याउन नेतृत्वमा आउन चाहेको बताए।

एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थीले कँडेल र रिजालमध्ये एक जना प्रदेश अध्यक्षको नेतृत्वमा आउन सक्ने बताएका छन्। नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पहिलो प्रदेश अधिवेशन भएकाले यसबाट राम्रो सन्देश अन्य प्रदेशलाई पनि दिनुपर्ने भएकाले नेतृत्वमा सके सम्म सर्वसम्मतको प्रयास गरिने बताइन। 

‘यसअघि पार्टी अप्ठ्यारोमा हुँदा केही दबाएर समेत नेतृत्व तयार भएको हो। हामी अहिले प्रदेशको नेतृत्व सर्वसम्मतको प्रयासबाट गर्न अधिकतम पहल गर्छौ।’ उनले भनिन्।

पुर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने, मञ्चमा अरुलाई ‘नो ईन्ट्री’ 

प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने निश्चित भइसकेको छ।

एमालेले हालै मात्र घोषणा गरेको आफ्नै नियमको पालना बुटवलबाट गर्दैछ। मञ्चमा एक जना वक्ताबाहेक कोही पनि मञ्चमा नहुने र सबै प्रतिनिधि रोहमा हुनेछन्।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेशका १०९ वटा स्थानीय तहबाट प्रति १०० पार्टी सदस्यबाट एक जना प्रतिनिधि छनोट शनिबार नै भइसकेका छन्।

११ भदौ, २०८०, ११:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।