समाजशास्त्र विभागले ‘गैरकानुनी विज्ञापन’को आधारमा करार शिक्षक नियुक्त गर्‍यो

समाजशास्त्र विभागले ‘गैरकानुनी विज्ञापन’को आधारमा करार शिक्षक नियुक्त गर्‍यो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागले आफ्नै नियम मिचेर करारमा शिक्षक नियुक्त गरेको देखिएको छ। समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलले विश्वविद्यालयको विनियम मिचेर विज्ञापन गर्दै आफूखुसी करारमा शिक्षक चयन गरेका हुन्।

साउन १४ गते गोरखापत्रमा ‘करार शिक्षक आवश्यकता सम्बन्धी सूचना’ प्रकाशित भएको थियो। विज्ञापन अनुसार २०७८ फागुन २० को त्रिवि कार्यकारी परिषद्को निर्णयबाट कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरू मध्येबाट एक जनालाई शिक्षण सहायक सरहको पारिश्रमिक नबढ्ने गरी र आन्तरिक स्रोतबाट पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको उल्लेख छ। इच्छुकलाई ७ दिन भित्र दरखास्त दिन आह्वान गरिएको थियो।

विज्ञापन अनुसार डा. गुमान सिंह खत्री, राजु राई र विष्णु प्रसाद बसेलले आवेदन दिएका थिए।

विज्ञापनमा निकाल्दा नै विभागले विधि पुर्याएको देखिएन। सामान्यतया सरकारी निकायबाट विज्ञापन निस्कँदा दोस्रो पटक डबल दस्तुर लाग्ने गरी आवेदन दिने समय तोकिन्छ। तर यो विज्ञापनमा एक पटक मात्रै आवेदन दिन सकिने व्यवस्था गरियो।

जब कि त्रिभुवन विश्वविद्यालय शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (२०७७ माघ ४ गतेसम्मको संशोधन सहित)मा उल्लेख भए अनुसार परिच्छेद ३ मा विज्ञापन, आवेदन फारम छानबिन तथा स्वीकृतिको (२) मा उपविनियम (१) बमोजिम विज्ञापन अनुसार आवेदन दिने मितिले  म्याद प्रथम पटक प्रकाशित भएको ३५ दिन पछि दोब्बर दस्तुरको थप म्याद ७ दिन थप्ने उल्लेख छ।

करारमा भर्ना गरेको शिक्षकको विभाग आफैंले कार्यविधि बनाएर आवेदन खुलाउन सक्ने भए पनि सामान्यतया दोब्बर दस्तुरको व्यवस्था गरिन्छ नै।

उकेराले प्राप्त गरेको प्रमाणले समाजशास्त्र विभाग प्रमुख लुइँटेलले विभागीय निर्णय गरेको पनि देखिएन। उनले एकल निर्णय गरेर सूचना निकालेको, विभागीय छलफल र निर्णयद्वारा पदपूर्ति समिति गठन गर्नुपर्नेमा समिति गठन समेत नगरेको देखियो।

लुइँटेलले भने कानुन अनुसारै काम गरेको दाबी गर्छन्।

‘मैले सबै काम प्रक्रिया पुर्याएर नै गरेको छु। केही साथीहरूले उजुरी हाल्नु भएको रहेछ। के आधारमा हो थाहा भएन। अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्ला नि त,’ लुइँटेलले भने, ‘हामीले प्रक्रिया र विधि विधान अनुसार नै काम गरेका छौं।’

लुइँटेलले विधि पुर्याएको भनेता पनि उकेरालाई प्राप्त तथ्यले भने त्यो देखाएन। विज्ञापन प्रकाशन गर्नु अघि नै शिक्षक छनौटको कार्यविधि उपलब्ध गराउनु पर्नेमा प्रतिस्पर्धीहरुलाई उपलब्ध नगराएको उकेराले तथ्य फेला पारेको छ।

कार्यविधिमा अनुभव, शैक्षिक योग्यता, लेख, जर्नल तथा पुस्तकको श्रेणीगत विभाजनको आधार र सो विभाजनको आधारमा ती सामग्रीबाट प्राप्त गर्न सकिने नम्बर खुलाउनु पर्ने हुन्छ।

तर विज्ञापनको फारममा भने यी कुनै पनि विषयको नम्बर खुलाइएको थिएन। स्रोतका अनुसार लुइँटेलले  संस्थागत छलफल र निर्णय त गरेनन् नै आवश्यक कार्यविधि समेत बनाएनन्।

कार्यविधि किन नबनाउनु भएको भन्ने प्रश्नमा विभागीय प्रमुख लुइँटेलले कार्यविधि बनाएको बताएका थिए। तर तीनै प्रतिस्पर्धी मध्ये एकले दिएको जानकारी अनुसार आवेदन फारम माग गर्दा नै कार्यविधि उपलब्ध गराउनु पर्नेमा कार्यविधि नै उपलब्ध गराइएको थिएन।

‘आवेदन दिने त्यही पढाइरहेका शिक्षक नै थियौं। हामीले आवेदन दिनुभन्दा अघि हामीलाई दिनुपर्ने कार्यविधि दिइएन,’ नाम उल्लेख गर्न नचाहेका प्रतिस्पर्धीले भने, ‘कार्यविधि बनाउँदा लुइँटेल सरले चाहेको मान्छे राख्न नमिल्ने देखिएपछि नबनाएको थाहा पाएका थियौं। उहाँहरूले हामीलाई नदेखाउनु भएको हो भने त्रिविको विनियम विपरीत बनाउनु भएकाले नदेखाउनु भएको हो भन्ने बुझिन्छ नि होइन र ?’

नियम मिचेर एकै दिन दुई मूल्याङ्कन

आन्तरिक रूपमा कृति मूल्याङ्कन र अन्तर्वार्ताको मिति छुट्टै दिनमा गर्नु पर्ने हो तर विभागीय प्रमुख युवराज लुइँटेलले यसमा पनि बदमासी गरेको देखियो। उनले कृति मूल्याङ्कन र अन्तर्वार्ता एकै दिन राखेका थिए।

कृति मूल्याङ्कनको सन्दर्भमा त्रिवि सेवा आयोगको विनियम, २०७५ को परिच्छेद १४ को १ देखि ५ सम्मको कुनै पनि विनियमको पालना भएको देखिएन।

विनियममा दुई सदस्य रहेको समिति गठन गर्नुपर्ने, अन्तर्वार्ता हुनु अगाडि नै कृति मूल्याङ्कन गराई विशेषज्ञबाट प्राप्त अङ्क सिलबन्दी गर्नुपर्ने, कृतिबारे प्राप्त उजुरी लिनुपर्ने, छानिएका कृतिको मूल्याङ्कन गर्दा न्यूनतम ५० प्रतिशत भन्दा कम अङ्क प्रदान गर्न नपाइने नियम छ।

करार शिक्षक नियुक्त गर्दा विभाग आफैंले कार्यविधि बनाएता पनि विनियम भन्दा बाहिर जान मिल्दैन। एक त प्रतिस्पर्धीलाई कार्यविधि नै नदेखाउने र  काम गर्दा पनि विनियम बाहिर गएर काम गरेको देखिएको स्रोतको दाबी छ।

त्यस्तै मूल्याङ्कन समितिमा प्राध्यापक डाक्टर सुरेन्द्र मिश्र र प्राध्यापक डाक्टर मेनुका केसी रहेका थिए। डा. खत्री छनौट भएको नतिजा साउन २४ गते सेन्ट्रल डिपार्टमेन्ट अफ सोसोलोजी त्रिभुवन युनीर्भसीटीमा अपलोड गरिएको थियो। 

६ भदौ, २०८०, ०७:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।