जग्गा नामसारी गर्न दाजुले नै जीवित भाइको मृत्यु दर्ता गरिदिएपछि...

जग्गा नामसारी गर्न दाजुले नै जीवित भाइको मृत्यु दर्ता गरिदिएपछि...

बुटवल : रुपन्देहीको तिलोत्तमामा जग्गा आफ्नो नाममा नामसारी गर्न एक दाजुले जीवितै रहेको भाइको झुटो मृत्यु दर्ता गराएको घटना बाहिर आएको छ। 

घटना तिलोत्तमा नगरपालिका वडा नं. ४ सुर्यदोय टोलको हो। दाजु इन्द्रकुमार कँडेलले भाइ बेदुराम कँडेलको २०७८  भन्दै २६ गते मृत्यु भएको भन्दै २०७८ असोज १५ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए। 

बेदुराम कँडेल रोजगारीका लागि भारत गएको मौका छोपी उनले मृत्यु दर्ता गरेको बताइएको छ। भारतमा रहेका बेदुराम दुई बर्षपछि घर आउँदा दाजुले आफ्नो मृत्यु दर्ता गरेको थाहा भएपछि २ बर्षपछि यो घटना बाहिर आएको हो।

दाजु ईन्द्रकुमारले वडामा दिएको निवेदनमा भाइ बेदुराम अविवाहित भएको र बौद्धिक अपाङ्गता समेत रहेको उल्लेख गरेका छन्। 

पीडीत भाइ

जीवित रहँदासम्म आफूले भाइको लालनपालन गरेको र सोही क्रममा २०७८ भदौ १५ गते सैनामैनामा उनको मृत्यु भएको वडा कार्यालयमा दिएको निवेदनमा उल्लेख छ। 

निवेदनमा चार जना व्यक्तिले सनाखत गरिदिएका छन्। कँडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजय कुमार न्यौपाने र धनीसरा न्यौपानेले सही सनाखत गरिदिएपछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहबरमा वडा सचिव काशीराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराएका थिए।

वडा सचिव काशीराम ज्ञवालीले ईन्द्रकुमारले चार जना स्थानीयको सक्कल नागरिकतासहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको बताए।

जीवित व्यक्तिलाई झुटो विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको घटना दुई बर्षपछि बाहिरिएसँगै दाजु ईन्द्रकुमार कंडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले झुटो विवरण दिएर भाइको मृत्यु दर्ता गरिदिने ईन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको र सनाखत गर्नेहरुलाई पनि अनुसन्धानको दायरमा ल्याइने बताए।

जग्गा समेत नामसारी 

भाइको मृत्यु दर्ता प्रमाणपत्र बनाएर ईन्द्रकुमारले वडाबाट जग्गा नामसारीको सिफारिस समेत लगेका छन्। जग्गा नामसारीका लागि ईन्द्रकुमारले ५ जनाबाट सनाखत गरेर वडा कार्यालयबाट सिफारिस गराएका थिए।

वडा सचिव ज्ञवालीले सक्कल नागरिकता सहित सनाखत गर्नेहरु आएपछि जग्गा नामसारीको सिफारिस पनि गरिदिएको बताए। 

मृत्यु दर्ता बदर गर्न निवेदन 

दाजुले आफू जीवित रहँदै मृत्यु दर्ता प्रमाणपत्र बनाएपछि अहिले भाइ बेदुराम भने आफ्नो मृत्यु दर्ता बदर गर्न लागि परेका छन्। उनले यसका लागि निवेदन दिएका छन्।

वडा कार्यालयमा आफू जीवित रहेको ब्यहोरा सहितको निवेदन दिएपछि वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा उनको पत्र पठाएको छ। 

१ भदौ, २०८०, ०९:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।