१ अर्ब बढी लागतमा बनेको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र​ विजनेश विहीन, संचालन खर्च जुटाउन पनि धौ-धौ

१ अर्ब बढी लागतमा बनेको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र​ विजनेश विहीन, संचालन खर्च जुटाउन पनि धौ-धौ

बुटवल : १ अर्ब ११ करोडको लागतमा तयार भएको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले विजनेश विहीन भएको छ।

बुटवल-१२ रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको सम्मेलन केन्द्र उद्घाटन भएको १ वर्ष हुँदैछ। गत वर्ष ११ भदौमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए।

१ वर्ष पुग्नै लाग्दा पनि सम्मेलन केन्द्र संचालनका लागि हालसम्म पनि कार्यविधि बनेको छैन। त्यसैले सम्मेलन केन्द्रमा पर्याप्त कार्यक्रमहरू हुन सकिरहेका छैनन्।

मासिक लाखौं रूपैयाँ विद्युत र सरसफाइका लागि खर्च भइरहे पनि त्यसका खर्च समेत सम्मेलन केन्द्रले अहिलेसम्म उठाउन सकेको छैन। बेला बेलामा हुने सामान्य कार्यक्रमले केन्द्रको सञ्चालन खर्च समेत उठ्न सकेको छैन।

सम्मेलन केन्द्र केवल फोटो खिच्ने स्थल मात्र बन्न पुगेको छ।

एक वर्षको अवधिमा जम्मा १० पटक मात्र केन्द्रको ठूलो हल भाडामा गएको छ। सम्मेलन केन्द्रमा भइरहेका केही कार्यक्रमलाई गोदावरीको हल अनुसारको रेट (रकम) विभागबाट आएपछि मात्र केन्द्रमा कार्यक्रम गर्न दिइएको आयोजनाले जनाएको छ।

सम्मेलन केन्द्र सञ्चालनको कार्यविधि २०७९ जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत संघीय सहरी विकास मन्त्रालयमा स्वीकृतिका लागि बुझाइएको थियो। तर अहिलेसम्म यसले स्वीकृति पाउन सकेको छैन। 

हाल सम्मेलन केन्द्रको रेखदेखका लागि १५ जना कर्मचारी खटिएका छन्। कर्मचारीहरूको पारिश्रमिक, विद्युत, खानेपानीको महसुल लगायतमा मासिक कम्तीमा चार लाख रूपैयाँ खर्च छ। 

आयोजना प्रमुख धमेन्द्र पन्थी कार्यविधि नै स्वीकृत नभएको अवस्थामा हल भाडामा दिन अप्ठ्यारो भएको र सञ्चालन खर्च समेत सम्मेलन केन्द्रबाट उठाउन नसकिएको बताउँछन्। ‘हल भाडामा दिएर मात्र भएन। केही टुट फुट भए त्यसको मर्मत सम्भार कसले गर्ने ? कार्यविधि भए सजिलो हुन्थ्यो,’ उनले भने। 

उनका अनुसार कार्यविधि नभएको अवस्थामा पनि ठूलो हल भने १० पटक भाडामा गएको छ। साना हल भने अझै प्रयोगमा आएका छैनन्। उनले मुख्य सभाहल ४ घण्टाका लागि ९६ हजार, ८ घण्टाका लागि १ लाख २७ हजार र १२ घण्टाका लागि १ लाख ७६ हजार रूपैयाँमा भाडामा दिने गरिएको बताए।

पन्थीले अहिलेसम्म हल प्रयोग बापत कुल ११ लाख ५ हजार मात्र आम्दानी भएको बताए। आर्थिक वर्ष ०७९/०८० मा ८ लाख ५१ हजार र चालु आर्थिक वर्षमा २ लाख ५४ हजार रूपैयाँ आम्दानी भएको छ।

मासिक खर्च न्यूनतम् चार लाख राख्दा पनि यो १ वर्षमा करिब ४८ लाख रूपैयाँ खर्च भएको उनले बताए।

निजी क्षेत्र निरास 

सम्मेलन केन्द्र निर्माणपछि ठूला कार्यक्रम हुने र यस क्षेत्रमा आर्थिक क्रियाकलाप बढ्ने आकलन गरेको निजी क्षेत्र अहिले भने निरास छ। अर्बौं रूपैयाँ खर्चेर निर्माण भएको सम्मेलन केन्द्र सञ्चालनका लागि एक वर्षसम्म पनि कार्यविधि स्वीकृत नहुनु दुखद भएको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले बताए। 

उनले सम्मेलन केन्द्र निर्माण निजी क्षेत्रकै दवावमा भए पनि अहिले विजनेश विहीन हुनाले राज्यलाई नै बढी क्षति भएको बताए।

‘यो उद्घाटन हुनु अघि नै कार्यविधि तयार हुनु पर्दथ्यो। हतारमा यो उद्घाटन पनि गरियो। अहिले उद्घाटन भएको १ वर्ष हुन लाग्यो। त्यसैले सक्दो छिटो यो सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ। स्थानीय तह हस्तान्तरण लिन चाहँदैन भने निजी क्षेत्र तयार छ,’ उनले भने।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा लुम्बिनी अध्यक्ष टंक पोखरेलले सम्मेलन केन्द्र सक्दो सञ्चालन गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताए। ‘राजधानीसँग जोडिएर यसको आवश्यकता महसुस गरियो। एयरपोर्ट पनि बन्यो। तर राजधानी दाङ गयो, एयरपोर्टले पनि गति लिन सकेन। सम्मेलन केन्द्र सञ्चालनमा कसले के पोलिटिक्स खेलेको छ, केही बुझ्न सकिएको छैन,’ उनले भने।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरकारले कार्यविधि बनाएर दिए सम्मेलन केन्द्र सञ्चालन गर्न उपमहानगर तयार रहेको बताए। 

स्वीकृत हुन बाँकी रहेको कार्यविधिमा के छ? 

सभाहल सञ्चालन सम्बन्धी सरकारले बनाएको मापदण्ड अनुसार ५ सय सिट क्षमतासम्मको सभाहललाई गाउँपालिका वा नगरपालिकाले सञ्चालन गर्ने उल्लेख भएको छ।

त्यस्तै, उपमहानगरलाई ७ सय सिट क्षमतासम्मको र महानगरपालिकालाई १ हजार सिट क्षमताको सभाहल सञ्चालन गर्न दिन सक्ने उल्लेख छ। त्यो भन्दा माथिको विकास समिति मार्फत सञ्चालन गर्न सकिने मापदण्ड छ। 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हल एक हजार सिट क्षमताको छ। मापदण्ड अनुसार उपमहानगरले ७ सय सिट क्षमताको हल मात्र सञ्चालन गर्न पाउने भएपछि विकास समिति मार्फत सञ्चालन गर्ने भनिएको छ।

‘फेरि अहिले नयाँ समिति गठन भएर कार्यविधिको ड्राफ्ट तयार भएको छ भन्ने सुनेको छु। त्यसले नयाँ केही व्यवस्था गरेको पनि हुन सक्छ,’ सम्मेलन केन्द्रका आयोजना प्रमुख पन्थीले भने। 

यस्तो छ सम्मेलन केन्द्र 

सम्मेलन केन्द्रमा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल छ। त्यसैगरी ५०/५० र एक/एक सय क्षमताका दुइटा लेक्चर हल, ५ सय क्षमताका ६ वटा मिटिङ हल, भीआईपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।

सभा हलसँगै नर्थ र साउथ गरी दुई वटा मल्टिप्रपोज भवन बनेका छन्। यी १ सय क्षमताका छन्। त्यस बाहेक दोस्रो २ वटा सर्भिस व्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वार्टरका लागि भवन निर्माण भएको छ। सभाहलमा लिफ्टको समेत व्यवस्था छ। 

बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरि २०६५ सालमा सरकारले निर्णय गरेको थियो। 

बुटवल मण्डपको १६ विघामध्ये पश्चिम तर्फको ६.४ विघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ। 

लुम्बिनीको सभाहलमा पनि यही समस्या 

लुम्बिनीमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पनि कार्यविधि नहुँदा पर्याप्त कार्यक्रम हुन सकेको छैन। २०७९ साल जेठ २ गते २५६६ औं बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै यो ध्यान केन्द्रको उद्घाटन गरेका थिए। 

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले अझैसम्म कार्यविधि नभएको तर बनाउन छलफल चलेको बताए। यो ध्यान केन्द्र पौने एक अर्ब रूपैयाँमा निर्माण भएको हो।

पाँच हजार जना अटाउने उक्त सभा हल कोषले दैनिक एक लाखदेखि ५० हजारसम्म भाडा लिने गरेको छ। 

३० साउन, २०८०, ०८:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।