नक्कली भुटानी बनाउने भनेर ठगी गरेको भन्दै थपियो १८ जनाको जाहेरी, दोस्रो चरणको अनुसन्धान 'बहाना मात्र'

नक्कली भुटानी बनाउने भनेर ठगी गरेको भन्दै थपियो १८ जनाको जाहेरी, दोस्रो चरणको अनुसन्धान 'बहाना मात्र'

काठमाडौँ : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको भन्दै थप १८ जनाले प्रहरीमा जाहेरी दिएका छन्। पीडितहरूले सानु भण्डारी, केशव दुलाल समेतको मिलेमतोमा भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाहरूका १८ जना पीडितहरूबाट करिब १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको दाबी गर्दै ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी परेको हो।

कार्यालयले जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको जानकारी दिएको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानको आधारमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतकाहरु पुर्पक्षका लागि थुनामा छन्।

अनुसन्धानमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको श्रीमती र छोरासहितका व्यक्तिहरू समेत संलग्न देखिए पनि पहिलो चरणमा उनीहरूलाई प्रतिवादी बनाइएन। दोस्रो चरणको अनुसन्धान हुने प्रहरीले दाबी गरेको थियो। तर दोस्रो चरणको अनुसन्धान सुस्त देखिएको छ।

प्रहरीले दोस्रो चरणको अनुसन्धानकोक्रममा कुनै आरोपीलाई पक्राउ गरेको छैन। थप बयान पनि लिएको छैन।

२९ साउन, २०८०, १८:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।