दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)

दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)

रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय माग्दै बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ। 

मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई आज सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ। 

सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध आरती साहका आफन्तले गएको असारमा किटानी जाहेरी दिएका थिए। 

आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन्। आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन्। गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

आरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो।

 

तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्यासम्बन्धी दुरुत्साहन कसुरमा जबर्जस्ती जाहेरी दिन लगाएको थियो।

तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेका थिए। त्यसपछि प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

२ वर्षअघि विवाह भएकी आरतीको माइती पक्षले २५ लाख रुपैयाँ दाइजो दिएका थिए। तर आरतीका पति र उनका ससुराले दाइजो कम ल्याएको भन्दै आरतीमाथि दुर्व्यवहार गर्दै आएका थिए। पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्त्यमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ।

न्याय नपाएपछि उनीहरू काठमाडौँ आएका थिए। यस क्रममा प्रहरीले १८ जना पुरुष र २ जना महिलालाई नियन्त्रणमा लिएको छ। 

तस्वीर/भिडियो : प्रजु पन्त

२९ साउन, २०८०, १३:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।