आज दुवै सदनका बैठक बस्दै, एमालेले अवरोध नगरे टोपबहादुर सांसदबाट निलम्बन भएको जानकारी गराइने

आज दुवै सदनका बैठक बस्दै, एमालेले अवरोध नगरे टोपबहादुर सांसदबाट निलम्बन भएको जानकारी गराइने
फाइल तस्वीर

काठमाडौँ : बुधबार (आज) संघीय संसदका दुवै सदनको बैठक बस्दैछ।

दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

सुन तस्करी प्रकरणमा सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने शर्तमा हिजो केहीबेर संसद चल्न दिएको थियो। 

एमालेले सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्री नै संलग्न भएको भन्दै सदन अवरुद्ध गर्दै आएको थियो। तर हिजो गृहमन्त्री श्रेष्ठले दिएको जवाफ आफूहरूले राखेको मागभन्दा बाहिरको भएको भन्दै पुनः संसद अवरुद्ध गरेको थियो। 

तर एमालेले अवरोध गरेपछि हिजोको बैठक कार्यसूचीमा भने प्रवेश गर्न सकेन।

आज दुवै सदनमा यसअघि निर्धारण गरिएको कार्यसूची नै राखिएको छ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइनेछ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप गरिएको बारे बाधा अडकाउ फुकाउ आदेश  सदनसमक्ष पेश हुने संसद सचिवालयले जनाएको छ।

यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नेछन्। आजको बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची पनि छ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।  

यता राष्ट्रिय सभाको बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोबारे पत्र जानकारी गराउने कार्यसूची छ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरूका अध्ययन प्रतिवेदन २०८० सभासमक्ष पेश गर्ने पनि कार्यसूची छ। 

२४ साउन, २०८०, ०८:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।